प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले बाध्य भएर अध्यादेश फिर्ता लिएपनि यो प्रकरणसँग जोडिएको अपराधिक गतिबिधिमा संलग्नलाई कानुनी कारवाही हुनुपर्ने माग गरेको छ।
‘अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलिमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन,’
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको हो। ‘नेपाली कांग्रेस यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहिको संलग्नता रहेपनि ईमानदार कानूनी कारवाहीका लागि अपील गर्दछ।’
कांग्रेसले चौतर्फी विरोधपछि सरकार दुबै अध्यादेश फिर्ता लिन बाध्य भएको बताए।
सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको हो।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले दुवै अध्यादेश फिर्ता लिन निर्णय गरेको हो।
गत सोमबार दुई अध्यादेश ल्याएपछि सरकारको सत्तारुढ पार्टीभित्रै र बाहिरबाट समेत चर्को विरोध भएपछि सरकारले ती दुई अध्यादेश फिर्ता लिएको हो।
Shares

प्रतिक्रिया