राजनीति


जो अपदस्थ भएका थिए त्यहाँबाट सुरक्षा चुनौती थपियो : गृहमन्त्री अर्याल

जो अपदस्थ भएका थिए त्यहाँबाट सुरक्षा चुनौती थपियो : गृहमन्त्री अर्याल

फाइल फोटो


नेपालखबर
असोज २९, २०८२ बुधबार १५:२९, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनपछि सरकारबाट बाहिरिएका दलहरुबाटै सुरक्षा चुनौती थपिएको बताएका छन्। बुधबार गृहमन्त्रालय बाहिर पत्रकारसँग कुरा गर्दै गृहमन्त्री अर्यालले देशमा शान्ति सुरक्षा कायम राख्न सरकारले काम गरिरहेको तर अपदस्थ भएकाहरुबाटै सुरक्षा चुनौती थप्ने गतिविधि भइरहेको बताएका हुन्। 

‘राष्ट्रिय सुरक्षामा चुनौती थप्ने खालका गतिविधिहरु कहिँ कतैबाट भएका छन्। जो अपदस्थ भएका थिए त्यहाँबाट भएका छन्। त्यसलाई हामी निगरानी गरेर सुरक्षा दिन्छौँ। निगरानी गर्नु पर्ने तत्वहरु को हुन् भन्ने थाहा पाएका छौँ हामीले’, गृहमन्त्री अर्यालले भने। 

केपी ओलीप्रति संकेत गर्दै अर्यालले बिद्रोहले जसलाई बिस्थापित गरेको थियो उनीहरुलाई सुशासन दिन नसकेको कारणले, कुसाशन गरेको कारणले यो परिस्थिति आएको थियो भन्ने बोध हुनुपर्ने बताए। 

‘यसमा हामी क्षमा माग्छौँ, स्टेपडाउन हुन्छौँ। पार्टीमा अरु पनि योग्य मान्छे छन् उनीहरुलाई नेतृत्व दिन्छौँ। हामी स्थितिलाई सामान्यीकरण गर्छौँ भनेर सोच्नु पर्ने थियो। तिनीहरु नै अहिले डुक्रिन थालेका छन्’, अर्यालले भने, ‘यो क्रान्तीपछि बनेको सरकार हो हेक्का रहोस्। सुशासनका लागि के के गर्नुपर्छ गर्छ। सुशासनका लागि विद्रोह भएपछि हामीले छाड्छौँ ? सुशासन गर्दै जाँदा कोही भ्रष्टाचारीहरु कानुनको दायरामा आउन पनि सक्छन्।’

चुनावको माहोल भएन, सुरक्षा भएन भनेका छन् दलहरुले भन्ने पत्रकारको प्रश्नमा अर्यालले मापदण्डविपरित लगेका सुरक्षाकर्मी फिर्ता गरेका कारण यस्तो भनेको आरोप लगाए। 

‘जसले सुरक्षाकर्मी दूरुपयोग गरिरहेका थिए हामीले फिर्ता लियौँ। अब बल्ल राज्य भएको महसुस गर्नुहुन्छ उहाँहरुले। सरकार भएको महसुस गर्नुहुन्छ। बर्दीधारीलाई लगेर घरमा भान्छे बनाउनु भएको थियो। त्यो भन्दा अरु काममा पनि लगाउनु भएको थियो। ड्राइभर अर्कै खोज्नु पर्थ्यो, ड्राइभरलाई दिने पैसा बचाउनलाई पीएसओ लगेर ड्राइभर बनाउनु भएको थियो’, अर्यालले भने, ‘शान्ति सुरक्षा भएन भन्नु भएको त्यो मानेमा भन्नु भएको रहेछ।’

यदि शान्ति सुरक्षा छैन, व्यक्तिगत रुपमा कसैलाई थ्रेट छ भने निवेदन हाल्न पनि उनले भनेका छन्। 

निवेदनपछि सुरक्षा चुनौती विश्लेषण गरेर मन्त्रालयले चाँडोभन्दा चाँडो निकास दिने बताए। 

आमरुपमा सुरक्षा गरिरहेको, जेनजी आन्दोलनकारीले भत्काएका प्रहरी पोष्टहरु पुनःस्थापना गरेको उनको भनाई छ। 

भागेका कैदीबन्दीहरू नियन्त्रणमा लिने, हतियारहरू पनि फिर्ता गर्ने र फिर्ता भएनन् भने अप्रेसन नै चलाउने गृहमन्त्री अर्यालले बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad