सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले दुवै अध्यादेश फिर्ता लिन निर्णय गरेको एक मन्त्रीले बताए।
‘मन्त्रिपरिषदको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ’, नेपालखबरसँग ती मन्त्रीले भने।
सकारले सोमबार ल्याएका दुवै अध्यादेशको पार्टीभित्र र बाहिर चर्को विरोध र दबाबपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो।
बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन आफू सकारात्मक रहेको बताएका थिए।
बिहीबार नै नेकपाका ६ सचिवालय सदस्यको बैठक बसेर अध्यादेश फिर्ता नलिए स्थायी कमिटीमा लैजाने चेतावनी दिएका थिए। बिहीबार साँझ प्रधानमन्त्री ओलीले यसै विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए।
कारोना संक्रमणको कारण देशव्यापी लकडाउनको अवस्थामा रहेको दलहरुलाई विभाजनलाई खुकुलो बनाउने गरी प्रधानमन्त्री ओलीले सोमबार दुई अध्यादेश ल्याएका थिए।
त्यसविरुद्ध विपक्षी दल मात्रै नभएर पार्टीभित्र समेत चर्को आलोचना भएको थियो। सोमबार नै बसेको सचिवालयका बैठकमा बहुमत सदस्यहरुले प्रधानमन्त्री ओलीमाथि अध्यादेशको औचित्य बारेमा प्रष्ट पार्न आग्रह गरेको थिए।
सचिवालय सदस्यहरुले स्थायी समितिको बैठक बोलाएर अध्यादेशको विषयमा छलफल हुनुपर्ने माग गरेपछि प्रधानमन्त्री दबाब परेका थिए। त्यसपछि उनले अध्यादेश नेकपातर्फ नभई संघीय समाजवादीतर्फ रहेको बताएका थिए।

प्रतिक्रिया