नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिरमा नियमित महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। जारी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा बोल्दै उनले पार्टीको महाधिवेशन मंसिरमा गर्ने बताएका हुन्।
उनी र अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितले विशेष महाधिवेशन माग गर्दै ४० प्रतिशत हस्ताक्षर संकलन गरिरहेको दाबी गरिरहेका थिए। तर, अब विशेष होइन नियमित महाधिवेशन गर्ने उनले प्रस्ताव राखेको पूर्वमहामन्त्री शशांक कोइरालाले जानकारी दिए। ‘नियमित महाधिवेशनमै जानुपर्छ भनेर महामन्त्रीज्यूले भन्नुभयो,’ कोइरालाले भने।
महामन्त्री थापाले लिखित नभई मौखिक प्रस्ताव राखेका हुन्। उनले मौजुदा कार्यसमितिको म्याद थप्न नहुने अडान पनि प्रस्तुत गरेका छन्। कार्यसमितिको म्याद नथपी नियमित महाधिवेशन मंसिरमै गर्न सकिने उनको भनाइ थियो।
२०७८ मंसिरमा कांग्रेसको १४ औँ महाधिवेशन भएको थियो। प्रत्येक ४ वर्षमा कांग्रेसको नियमित महाधिवेशन हुने प्रावधान छ।
कांग्रेसको महाधिवेशनका लागि क्रियाशील सदस्यता अझै टुंगो लागेको छैन। केन्द्रीय समितिको बैठकपछि एकहप्ताभित्र क्रियाशील सदस्यताको टुंगो लगाउन सकिने महामन्त्री थापाको भनाइ छ।
बैठक जारी छ। अहिलेसम्म उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्रीहरू बद्री पाण्डे, महेन्द्र यादव, उमाकान्त चौधरी र जीवन परियार तथा कोषाध्यक्ष उमेश श्रेष्ठले धारणा राखिसकेका छन्।
पार्टी सभापति शेरबहादुर देउवा सहभागी नभएपछि उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बसिरहेको छ।
Shares

प्रतिक्रिया