राजनीति


जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न प्रधानमन्त्री कार्कीको निर्देशन

जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न प्रधानमन्त्री कार्कीको निर्देशन

नेपालखबर
असोज १७, २०८२ शुक्रबार १८:५१, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले वर्षा र बाढीबाट जोखिममा पर्नसक्ने स्थानका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। 

जोखिम क्षेत्रको पहिचान गरी गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति एवं गम्भीर खालका बिरामीलाई सुरक्षित स्थानमा सार्न विशेष तयारी गर्न प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी हुन्। साथै, यस्तो ठाउँका बासिन्दालाई सुरक्षित स्थानमा जान पनि उनले आग्रह गरेकी छन्।

प्रधानमन्त्री कार्कीको स्वकीय सचिवालयद्वारा शुक्रबार जारी सूचनामा ‘मनसूनी वर्षाले मधेश प्रदेशका महाभारत र चुरे भई बग्ने ससाना नदीनालाहरूमा पनि आकस्मिक खहरे, भेल, बाढी आउन सक्ने सम्भावना देखिएको’ उल्लेख छ।

जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमान अनुसार यही असोज १७ गतेदेखि २० कतिपय स्थानमा भारी वर्षा र कतिपय स्थानमा अति भारी वर्षा हुन सक्ने तथा नदीहरूमा उल्लेख्य रूपमा पानीको सतह बढ्न गई खतरा तहको आसपासमा पुग्ने सम्भावना देखिएको छ। 

‘मनसूनी वर्षाको यो अवस्थालाई मध्यनजर गरी ती स्थानमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन, डुबान हुन सक्ने क्षेत्रका बासिन्दाले अग्लो तथा सुरक्षित स्थानमा सर्नुपर्ने हुँदा त्यसको पूर्व तयारी गर्नुहुन, गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति एवं गम्भीर खालका बिरामीलाई सुरक्षित स्थानमा सार्न विशेष तयारी गर्नुहुन र आधिकारिक निकायले जारी गरेको सूचना बमोजिमका स्थानमा यात्रा नगर्नु हुन अनुरोध छ’ प्रधानमन्त्रीको स्वकीय सचिवालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ। 

साथै, विपद पूर्व तयारी प्रतिकार्य र उद्धारमा संलग्न हुने निकायहरूले समेत उच्च सतर्कताका साथ विपद पूर्वतयारी, प्रतिकार्य, खोज उद्धार, राहत तथा पुनर्स्थापना कार्य प्रभावकारी रूपले सम्पादन गरी विपदबाट सिर्जना हुन सक्ने जोखिम न्यूनीकरणमा योगदान पुऱ्याउन आग्रह गरिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad