राजनीति


दल खोलेर चुनावमा जाने तयारीमा जेन–जी (भिडिओ)

‘जेनजी आन्दोलनमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको भूमिका के हो?’

अनिल यादव
असोज ५ , काठमाडौँ

आगामी ६ महिनापछि अन्तरिम सरकारले गर्ने निर्वाचनमा जेनजी युवाहरू संगठित भएर आउने भएका छन्। नयाँ दल खोल्ने विषयमा पनि आन्तरिक छलफल जारी रहेको जेनजी आन्दोलनकी अगुवा रक्षा बमले नेपालखबर ‘तत्कालै’मा खुलाएकी छन्। 

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्वमा जेनजीहरूको निर्णायक भूमिका रहेको र त्यसलाई संस्थागत गरेर लैजान जरुरी रहेको उनले बताइन्।

‘जेनजी आन्दोलन युवाहरूको लामो समयदेखिको आक्रोशको परिणाम हो,’ रक्षाले भनिन्, ‘वर्षौंदेखि हामीलाई जुन व्यक्तिहरूले शासन गरिररहेका थिए, उनीहरूले कहिले पूरा नहुने सपना र आश्वासनहरू बाँडिरहेका थिए। हरेक क्षेत्रमा राजनीतीकरण, युवाहरूको विदेश पलायन र भ्रष्टाचारले जनतामा गहिरो असन्तुष्टि पैदा भयो। हामीले हाम्रो पुस्ताको प्रश्न चिन्यौँ। कर तिर्ने हामी, विलासी जीवन बाँच्ने नेताहरू, नेताका छोराछोरीहरू भन्ने न्यारेटिभ सेट भयो र हामीले आन्दोलन थालेका हौँ।’

सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि तत्काल आन्दोलन चर्किने स्थिति पैदा भएको उनी बताउँछिन्।

‘सामाजिक सञ्जाल प्रतिबन्धले पनि आन्दोलनलाई ट्रिगर गर्‍यो,’ उनले भनिन्, ‘हामीले सामाजिक सञ्जालमार्फत भ्रष्टाचारलाई एक्सपोज गर्दा, जनता र नेताबीचको असमानता देखाउँदा सरकारले त्यसमै प्रतिबन्ध लगाइदियो। हामीले बोल्ने डिजिटल सिभिक स्पेसमै प्रतिबन्ध लगाएपछि जेनजीहरूको भ्रष्टाचाार रोक्नुपर्ने भन्ने आवाज नै बन्द गरिएको महसुस भयो। त्यसपछि आन्दोलनले यो अवस्था लिएको हो,’ उनले भनिन्।

पहिलो दिन शान्तिपूर्ण आन्दोलन गर्ने भन्दाभन्दै राज्यले अमानवीय हिसाबले दमन गरेको उनको भनाइ छ। उनी प्रदर्शनको अग्रभागमै थिइन्। प्रहरी प्रशासनको तयारीको अभावले स्थिति नियन्त्रणबाहिर गएको उनको दाबी छ। 

‘माइतीघरबाट एभरेस्ट होटलमा पुग्दै गर्दा प्रदर्शनकारीलाई रोक्न सक्ने संख्यामा प्रहरीहरू खटिएका थिएनन्। आन्दोलनकारीहरूले सामान्य ब्यारिकेडहरू सजिलै तोड्न सकेपछि प्रहरीले अश्रुग्यास र त्यसको केही मिनेटमै गोली चलायो,’ उनले आन्दोलनको पहिलो दिनको दृश्य सम्झिँदै भनिन्, ‘साथीहरू घाइते भएको देखेपछि भीड झनै उग्र बन्दै गयो। साथीहरूको टाउको र छातीमा ताकीताकी गोली हानियो। त्यो दिन राज्यले हामीप्रति जुन दमन गर्‍यो, त्यो असह्य नै थियो।’

आन्दोलनको दोस्रो दिन सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीको घटनामा जेनजी आन्दोलनकारीहरूको संलग्नता नरहेको बमको भनाइ छ। 

‘तोडफोड र आगजानी खास जेनजी आन्दोलनको मर्म या चाहना थिएन,’ उनले भनिन्, ‘जेनजीको स्पिरिट यो हुँदै होइन। हामी आगो लाउने, जलाउने, हिंसा गर्ने पक्षमा थिएनौँ। सिंहदरबार र संसद् भवन लगायत सार्वजनिक संस्थामा भएको आगजनीमा जेनजी युवाहरू संलग्न थिएनन्। हामीले त सिंहदरबार जलाउने सुनेपछि जोगाउने प्रयास गरेका थियौँ। कसरी हुन्छ, रोक्नुपर्छ भनिरहेका थियौँ।’

जेनजी आन्दोलनको कुनै एक नेता नरहेको र यो सामूहिक चेतनाबाट आएको अभियान भएको बमको तर्क छ। 

‘यो टेक्नोलोजीको युगमा भएको आन्दोलन जसरी स्वतःस्फूर्त रूपमा आयो, सामाजिक सञ्जालबाटै हामीले आह्वान गरेको, सामाजिक सञ्जालबाटै मान्छेहरू आएका हुन्,’ उनले भनिन्, ‘यो नेताविहीन अभियान हो। यसको कुनै अनुहार हुँदैन। यसमा सबैजना जेनजी लिडर हो।’

सुदन गुरुङ लगायत जति पनि आफूलाई जेनजीका नेता दाबी गरिरहेका छन्, उनीहरूलाई आन्दोलनको नेता मान्न नमिल्ने उनको तर्क छ।  

जेनजी आन्दोलनले दुई दिनमै देशमा उथलपुथल ल्यायो। कांग्रेस–एमाले गठबन्धनको सरकार ढाल्यो। त्यसपछि जेनजी प्रतिनिधिहरूले जंगी अड्डामा प्रधानसेनापतिसँग वार्ता गरेका थिए। सो वार्तामा प्रधानसेनापतिले जेनजीहरूले आगजनी नगरेको कुरा स्पष्ट राखेका थिए। 

जेनजी आन्दोलनको भावनाअनुरूप नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेको छ। तर, हालसम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन। बमले हतारमा गल्ती गर्नुभन्दा राम्रो व्यक्तिहरूलाई क्याबिनेटमा पठाउने भनेर ढिला भइरहेको बताइन्। 

‘जेनजी आन्दोलनमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको भूमिका के हो?’

यो जिज्ञासामा बमले सामाजिक सञ्जालमार्फत बालेनले समर्थन जनाएको तर प्रत्यक्ष भेटघाट भने नभएको बताइन्।  

अन्तरिम सरकारको मुख्य कार्यभार ६ महिनाभित्र निर्वाचन गराउनु रहेको र चुनाव हुनैपर्नेमा जेनजीहरू सहमत रहेको बमको भनाइ छ। 

‘चुनाव त जसरी पनि हुनुपर्छ,’ उनले भनिन्। 

तर, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग जेनजी आन्दोलनको मुख्य बटमलाइन नरहेको र यो अन्तरिम सरकारबाट यो सम्भव नरहेको समेत उनले स्पष्ट पारिन्। 

जेनजी युवाहरू अहिले पनि आन्दोलनको आघातमा रहेको र त्यसबाट बाहिर आउन समय लाग्ने उनको भनाइ छ। 

‘हामी अहिले पनि ट्रमामै छौँ,’ उनले भनिन्, ‘यद्यपि, जेनजीहरू डराएका छैनन् र आत्मविश्वासका साथ अगाडि बढ्नेछन्। हामी जेनजी युवाहरू संगठित हुनुपर्छ, आउने चुनावमा नयाँ दल सहित हामी पनि जानुपर्छ भन्ने छ।’

अहिले आन्तरिक छलफल भइरहेको र जेनजीहरू संगठित भएर चुनावमा आउने सम्भावना रहेको उनको भनाइ थियो। 

बाँकी के–के भनिन्, हेर्नुहोस् रक्षा बमसँग गरिएको कुराकानी नेपालखबर ‘तत्कालै’:

फोटो/भिडिओ : विशाल कार्की 
 

असोज ५, २०८२ आइतबार २१:१५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad