कोशी


वडा अध्यक्षको पीडाः जनताका सेवकलाई ‘अपराधी’ करार गर्न खोजियो

रिसिइबिका कारण घर जलाइयो
वडा अध्यक्षको पीडाः जनताका सेवकलाई ‘अपराधी’ करार गर्न खोजियो

नेपालखबर
असोज ५, २०८२ आइतबार २०:२६, विराटनगर

जेनजी आन्दोलनको क्रममा विराटनगरका विभिन्न वडाहरूमा भएको आगजनी र तोडफोडपछि स्थानीय सेवा प्रवाह ठप्प भएको छ।

कोसी प्रदेश संवाद समूहले आइतबार आयोजना गरेको संवादको क्रममा  सहभागी वडाध्यक्षहरूले तत्काल सेवा दिन नसक्ने, तिहारपछि मात्र वडाहरू आंशिक रूपमा सञ्चालनमा आउन सक्ने बताएका छन्।

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेक कुनै पनि सिफारिस नगर्न परिपत्र पठाएकोले यसले झन् अन्यौलता थपेको वडाध्यक्षहरूको भनाइ छ। उनीहरूका अनुसार, जनप्रतिनिधिलाई अपराधी करार गर्ने प्रवृत्तिले वडामा बसेर काम गर्ने खालको मनोबल घटाएको छ भने सुरक्षा प्रत्याभूति नहुँदासम्म कार्यालय सञ्चालन गर्न सक्ने अवस्था छैन।

विराटनगर १० का अध्यक्ष अर्जुन गिरीले आफ्नो कार्यालयमा रहेका दुई वटा भवन नै जलेर ध्वस्त भएको बताए। 

उनले भने, ‘स्वास्थ्य र प्रशासनिक काम हुने भवनमा आगजनी भयो, अत्यावश्यक वस्तुसमेत जलाइयो, शौचालयदेखि धारासम्म तोडफोड गरियो।’ 

वडा अध्यक्ष मधुबाबु तिवारीले छापसहितका सबै कागजात जलेको र अहिलेसम्म विदेश जानेबाहेक कुनै सिफारिस दिन नसकेको बताए। वडा अध्यक्ष राम पोखरेलले छात्रवृत्ति र स्वास्थ्यसम्बन्धी सिफारिस भने दिइएकोले अरू सेवा सुचारु गर्न सकिने भए पनि अन्य वडा चलेको कारण अरू वडाबाट सेवा नहुँदा चाप एक अर्कामा पर्न थालेको बताए।

कुमार पोखरेलले कार्यालयमा भएका सामान जलाउने र बाँकी रहेका उपकरण चोरी भएपछि सेवा प्रवाह अवरुद्ध भएको बताए।   

अर्का वडाअध्यक्ष वासुबहादुर बस्नेतले वडाको बजेटबाट सरसफाइ र मर्मत सम्भारको काम सुरु गर्नु भन्ने महानगरपालिकाबाट जानकारी आएकोले त्यसको लागि काम सुरु भएको बताए।

उनले भने, ‘अब सेवा सुचारु गर्न भन्दा पहिला सबै सरोकारवालासँग छलफल गरेर मात्र सेवा पूर्ण सञ्चालन गर्न सकिन्छ।’

विराटनगर महानगरपालिका वडा नं १२ का अध्यक्ष हिरालाल कामतले आफ्नो कार्यालयमा केवल दुई वटा टेबल मात्र बाँकी रहेको अरू सबै जलेको सुनाए। 

‘२४ गतेको दिन भागेर पारी पुग्नुपर्‍यो,’ उनले भने, ‘प्रहरीलाई जोगाइदिन पटक पटक आग्रह गर्दा पनि प्रहरी आएन, प्रहरीले नै भाग्न भन्यो, प्रहरी निरीह बन्यो।’

जनप्रतिनिधिहरूले आफूलाई अपराधीकरण गरिएको भन्दै असन्तोष प्रकट गरेका छन्।

जितन थापाले भने, ‘हामी जनताको सेवक हौँ, हामीलाई अपराधी हो भन्ने गरी गलत स्थापित गराउन खोजियो।’ 

उनले वातावरण नभएसम्म सेवा दिन नसक्ने बताउँदै राज्यले  सुरक्षाको प्रत्याभूति दिनु पर्ने बताए।

वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले आफ्नो वडा सबैभन्दा बढी ध्वस्त भएको बताए। कार्यकक्ष कुनै पनि बाँकी नरहेको बताउँदै ढोका, खानेपानी पाइप, शौचालय, सबै ध्वस्त रहेकोले  दसैँ पछि सामान्य सिफारिससम्म दिन सकिने बताए।  

उनले भने, ‘आन्दोलन एउटाले गरे, आगजनी अर्कैले गर्‍यो, सुरक्षा निकाय सजिलो परेको बेला मात्रै सक्रिय हुने गरेको महसुस भयो।’ 

रिसिइबिका कारण वडा नम्बर १ का अध्यक्षको घर जलाइएको, अरू वडा अध्यक्षको घरहरू छिमेकी र गाउँका मान्छेले बचाएको समेत गुनासो गरेका छन्।

वडा अध्यक्षहरू श्याम घिमिरे, सन्तोष न्यौपाने, सूर्यलाल यादव लगायतले  तोडफोडको बेला प्रहरीलाई जानकारी गराउँदा उल्टै सुरक्षित स्थानमा जान सुझाव मात्र दिएको स्मरण गरे।

वडाध्यक्षहरूले आन्दोलनको नाममा आपराधिक गतिविधि भएको, व्यक्तिगत रिसिबी साँध्ने शैलीमा कार्यालय जलाइएको र तोडफोड गरिएको आरोप लगाएका छन्। उनीहरूले सरकारले स्थानीय तहलाई डर धम्की मुक्त र सुरक्षित वातावरण नदिएसम्म सेवा प्रवाह सहज हुन नसक्ने बताएका छन्। 

संवादमा सहभागी सबै वडाध्यक्षहरूले विशेष नगर सभा बोलाएर मात्र नयाँ वडामा काम गर्ने वातावरण बनाउन सकिने, सबै दल, टोल विकास संस्था र सरोकारवालासँग छलफल गरेर मात्र सेवा पुनः सुरु गर्न सकिने धारणा राखेका छन्।   

प्रहरी निरीह हुँदा र सुरक्षा दिने निकाय भाग्दा वडाहरू जलेका हुन्, जहाँ वडावासीले सक्रिय भूमिका खेले त्यहाँ कार्यालय सुरक्षित रहेको पनि उनीहरूको भनाई छ। 

हाल आंशिक रूपमा स्वास्थ्य र छात्रवृत्ति सम्बन्धी काम मात्रै भइरहेको छ। नागरिकता, नापी, बसाइँ सराइ, नाता प्रमाणीकरण, राजस्व सङ्कलनलगायतका काम ठप्प छन्। 

वडाध्यक्षहरू भन्छन्, ‘सुरक्षाको प्रत्याभूति बिना सेवा दिन सकिँदैन, तिहारपछि मात्र पूर्ण सञ्चालन सम्भव छ।’

विराटनगरका वडा १ देखि १३ सम्मका सबै वडा र १९ नम्बर वडा जलेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad