राजनीति


गगनले पार्टी पुनर्गठनको प्रस्ताव गर्दा खनिए जेठा नेताहरू

गगनले पार्टी पुनर्गठनको प्रस्ताव गर्दा खनिए जेठा नेताहरू

सन्तोष अधिकारी
असोज ५, २०८२ आइतबार १४:१४, काठमाडौँ

असोज ३ गते नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो निष्कर्ष भन्दै दुई विकल्प सुनाए। एक, नियमित महाधिवेशन र अर्को विशेष महाधिवेशन। 

भदौ २३ र २४ गते काठमाडौँसहित देशभर भएको जेनजीको आन्दोलनपछि उत्पन्न परिस्थितिको अध्ययन गरेर थापाले दुई विकल्प अघि सारेका हुन्।

उनले नेता र पार्टीले अहिले गर्नुपर्ने ५ वटा दायित्वको सूची पनि सार्वजनिक गरेका छन्। दायित्वको ५ नम्बरमा पार्टीमा आमूल परिवर्तनका लागि पुनर्गठन गर्नुपर्ने र विधिसम्मत हुनुपर्ने उल्लेख गरेका छन्। 

गगनको पछिल्लो अभिव्यक्ति हेर्दा उनी तत्कालै नेतृत्व परिवर्तन गरी पार्टीलाई पुनगर्ठन गर्नुपर्ने पक्षमा देखिएका छन्। 

तर, गगनको यो चाहना र प्रयासलाई पार्टीबाटै निर्णय गरेरै 'ब्रेक' लगाइसकिएको छ। जेनजी आन्दोलनको क्रममा ध्वस्त पार्टी कार्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तत्काल कसैलाई कार्यवाहक नदिने निर्णय गरेको छ। उक्त बैठकमा गगन पनि सहभागी थिए। 

कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला अस्पतालमा उपचाररत छन्। भदौ २४ गते जेनजीको आक्रमणबाट घर जल्दै गर्दा देउवा दम्पतीमाथि पनि आक्रमण भएको थियो।

त्यसयता नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहस अलि चर्किएको छ।

गगनले दिएको विकल्पअनुसार अहिले नै नेतृत्व फेर्न सभापतिनिकट समूहका नेताहरू तयार देखिएनन्।

‘नेतृत्व परिवर्तनको समय यो होइन। सभापतिजी स्वास्थ्यलाभ गरेर फर्किएपछि कुरा गर्ने विषय भए,’ उपसभापति पूर्णबहादुर खड्काले भने, ‘अहिलेलाई कांग्रेसको आधिकारिक लाइन भनेको कार्यसम्पादन समितिको बैठकले जे निर्णय गर्‍यो, त्यो नै हो।’

कार्यसम्पादन समितिले अहिले कार्यवाहक कसैलाई नतोक्ने, विशेष महाधिवेशन नगर्ने र यसबारे छलफल सभापति स्वास्थ्यलाभ गरेर फर्किएपछि गर्ने निर्णय गरेको छ। 

पार्टीका प्रवक्तासमेत रहेका सभापतिनिकट नेता डा प्रकाशरण महतले त निर्धारित समयमा पार्टी महाधिवेशन गराउने जिम्मेवारी पदाधिकारीलाई पनि दिएको भन्दै सभापतिमाथि दोष थुपार्ने काम गलत भएको सुनाए। कांग्रेसको १५औं महाधिवेशन नियमित समयमा हुने हो भने आगामी मंसिरमा हुनुपर्छ। तर, सदस्यता नवीकरण र वितरणको काम असरल्ल हुँदा मंसिरमा हुने सम्भावना छैन। 

‘निर्धारित समयमा निर्वाचन गर्ने जिम्मेवारी उहाँहरू (पदाधिकारी)लाई दिएको थियो। पार्टी नेतृत्वले पूरा स्वतन्त्रता दिएको थियो। त्यो कुरा उहाँहरू (गगनसहित)ले भुल्नुभएन। हामीले त चाहेका छौँ, समयमै अधिवेशन सम्पन्न होस् र त्यसमार्फत नयाँ नेतृत्वको निर्वाचन होस् तर तयारी गर्ने काम उहाँहरूको थियो,’ महतले भने, ‘कुरा गर्न सजिलो हुन्छ। काम गाह्रो हुन्छ। कुरा धेरै भएको छ, काम कम भएको छ। त्यसकारण सम्पूर्ण दोष एउटा व्यक्ति वा पार्टी सभापतितर्फ पन्छाएर हामी कोही पनि जिम्मेवारीबाट मुक्त हुँदैनौँ। जसको जति जिम्मेवारी छ, सबैले त्यो जिम्मेवारी किन पूरा गर्न सकिएन त्यो जिम्मेवारी लिनुपर्छ।’

परिस्थिति परिवर्तन भएसँगै उपचारसमेत पूरा हुन्जेल कुर्न नसक्ने गरी बहस गर्नु उचित नभएको महतको भनाइ छ। 

आइतबार निजी निवास महाराजगन्जमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै देउवाको उपचारसमेत पूरा नहुँदै तत्कालै नेतृत्व छोड्नुपर्छ भन्ने कुरा उचित नरहेको टिप्पणी गरे। 

आक्रान्त अवस्थामा संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ थियो। आलो घाउ ठिक नहुँदै चलाइएको बहसप्रति गम्भीर बन्नुपर्ने उनले बताए। ‘अहिले आफ्नो कमजोरी हटाउने, पार्टी एक बनाउने बेला हो। घाउमा नुन छर्ने प्रवृत्ति गलत भइरहेको छ,’ उनले भने, ‘अभिभावकमाथि सांघातिक प्रहार भएको बेलामा उपचार पूरा हुन दिँदा आकाश खस्छ?’ 

यस्तै कांग्रेसको १४औं महाधिवेशनमा सभापति देउवालाई सहयोग गरेका पूर्वपदाधिकारीहरू आज पनि छलफलमा जुटेका छन्।  

प्रकाशमान सिंहको निवास चाक्सीबारीमा डा शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशशरण महतसहित ५ नेता सहभागी थिए। 

‘अहिले विषम परिस्थिति छ। पार्टीलाई एक बनाउनु नै मुख्य कुरा हो भन्ने विषयमा छलफल भयो,’ महतले भने, ‘पार्टी संरचनालाई नै कमजोर हुने, नेतालाई दोष थोपर्ने काम कसैले गर्नुहुँदैन भन्ने छलफलको निष्कर्ष रह्यो। पार्टी सभापति स्वास्थ्यलाभ गरेर फर्किएपछि केन्द्रीय समितिबाट आवश्यक निर्णय गर्न सकिन्छ नि।’

थापाले पार्टी पुनर्गठन आजको आवश्यकता भएको भन्दै यसका लागि अभियान सुरु गर्न पनि प्रस्ताव गरेका छन्। ‘जेनजी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी सदस्यता, संगठन संरचना, नेतृत्व चयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ,’ उनले भने, ‘हामीले अहिले जे र जसरी गरिरहेका छौँ, त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण आरम्भ हुँदैन।’

पार्टी आमूल सुधारका लागि पदीय जिम्मेवारी छोड्न तयार हुनुपर्ने र त्यसका लागि स्वयं पनि तयार रहेको थापाको भनाइ थियो। 

‘पार्टीमा आमूल सुधारका लागि हामीले आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्छ, नयाँ जोखिम उठाउनका निम्ति तयार रहनुपर्छ,’ उनले भनेका थिए, ‘यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु। यसमा छलफल सुरू गरौँ। स्वीकार गरौँ, गल्ती भएको छ। अनि आत्मसमीक्षा, आत्ममूल्यांकन र आत्मसंकल्प गरौँ।’
 
उनले गएको बिहीबार भिडिओ सन्देशमार्फत जेनजीको आन्दोलनमा युवाहरूको हत्या भएकोमा दु:ख व्यक्त गर्दै त्यसमा आफू संलग्न नभए पनि माफी माग्छु भनेका छन्। 

पुरानो नेतृत्वको विस्थापनको कुरा पार्टीभित्र आफूले उठाउँदै आएको भनेर पनि उनले स्मरण गराएका छन्।

‘त्यो अपराध थियो। यो भनिरहँदै गर्दा मलाई चिच्याउन मन लाग्छ। किनकि जुन दिन सोसल मिडिया बन्द गर्ने निर्णय गरियो, म त्यो दिन दौडेर मेरो सभापतिकहाँ गएको थिएँ। र, त्यो बिहान भनेको थिएँ, युथहरू हामीसँग एकदमै नराम्ररी रिसाएको छ, जेन्युन कारण छ। यति धेरै आगो बलेको छ,’ उनको भनाइ थियो, ‘आगोमा घिउ थप्ने काम नगर्नुस्, गर्दै नगर्नुस्। बैठकमा बोलेँ भएन, बाहिर आएर लेखेँ, प्रेसमा दिएँ। हामी सबै मिलेर दबाब सिर्जना गर्‍यौँ, भएन। सायद त्यो मात्रै रोक्न सकेको भए यस्तो ठूलो घटना घट्दैन थियो होला। अहिले सोच्दै गर्दा जसरी पनि रोक्न सक्नुपर्थ्यो भन्ने लाग्छ। त्यो नगर, नगर भनियो, आखिर भयो।’

उनले यसका पछाडि सभापति शेरबहादुर देउवा, केपी ओली मुख्य जिम्मेवार भएको पनि संकेत गरेका छन्। 

तर, पार्टीका अरू जेठा नेताहरूले थापाका यी सबै कुरा सानेपादेखि चाक्सीबारीमा भेला भएर खारेज गरिदिए, उनैमाथि खनिएर।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad