राजनीति


जेनजी विद्रोहको पहिलो कारण कांग्रेस-एमाले गठजोड, दोस्रो भूराजनीति : वर्षमान

जेनजी विद्रोहको पहिलो कारण कांग्रेस-एमाले गठजोड, दोस्रो भूराजनीति : वर्षमान

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०८२ आइतबार १२:१, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि जेनजी आन्दोलनको पृष्ठभूमि तयार भएको बताएका छन्। 

दुई ठूला दल सम्मिलित केपी ओली नेतृत्वको सरकारले बिचौलिया र स्वार्थ समूहको सेवालाई बढी प्राथमिकतामा राखेका कारण जन्मिएको असन्तोष जेनजी विद्रोहमार्फत विस्फोट भएको उनको भनाइ छ। 

मुलुकको धरोहरका रुपमा रहेका राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतसहित देशभरका सरकारी कार्यालय आन्दोलनका क्रममा खरानी पारिएको भन्दै त्यसको नैतिक जिम्मेवारी कुुशासनका मतियारहरुले लिनुपर्ने तर्क गरे।

‘भ्रष्टाचार, अनियमितता, कशासन र बिचौलिया वर्गको स्वार्थमा नलागेर मुलुक र जनताको स्वार्थमा केन्द्रित हुन प्रमुख प्रतिपक्षका हैसियतमा  हामीले संसदभित्र र बाहिरबाट एक वर्षसम्म पटकपटक सरकारको ध्यानाकर्षण गरायौं, दबाब दियौं’, पार्टी सम्वद्ध जनप्रगतिशील मञ्च जापानका पदाधिकारीसँगको भर्चुअल अन्तरक्रियाका क्रममा पुनले भने, ‘तर, सत्तामा बसेका कांग्रेस र एमालेले सुनेनन्। दुई तिहाईको शक्ति पुरै स्वार्थ समूहको सेवामा समर्पित भयो।’

‘हामीले निकट विगतका बंगलादेश, श्रीलंका जस्ता मुलुकमा जस्तो खराब अवस्था आउन सक्नेबारे भनेकै हौँ। हाम्रो जिम्मेवारीपूर्ण खबरदारीलाई अन्देखा गरियो र अर्कै अर्थमा प्रचार गर्ने काम पनि भयो। त्यही पृष्ठभूमिमा बढेको असन्तोष जेनजी आन्दोलनको रुपमा प्रकट भयो,’ पुनले थपे।

जेनजी आन्दोलनको मौका छोपेर प्रतिगामी र प्रतिक्रियावादी शक्तिले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेताहरुका निवास तथा पार्टी कार्यालयमा आगजनी र लुटपाट गरेको र उनीहरुले नै माओवादी र अरु दल उस्तै भन्ने स्थापित गराउने कोसिस गरिरहेको भन्दै आपत्ति जनाए। 

पुनले अमेरिका, रुस, चीन र भारतजस्ता शक्ति राष्ट्रबीच विद्यमान शक्ति संघर्षको बाछिटा पनि नेपालका परेको उल्लेख गरे। अत्यन्तै तरल अवस्थामा रहेको देशको विद्यमान अवस्थामा हुन सक्ने भूराजनीतिक चलखेललाई निरुत्साहित गर्न तथा राष्ट्रिय स्वाधीनता तलमाथि हुन नदिन मुलुकका सबै पक्षबीच सहकार्य र एकतामा पुनले जोड दिए। 

फरक प्रसंगमा पुनले जेनजी आन्दोलनले पार्टीहरुका विद्यमान नेतृत्व, संरचना तथा राज्यका निकायहरुमा आमुल रुपान्तरण जरुरी रहेको रहेको जबर्जस्त सन्देश दिएको औंल्याए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad