राजनीति


नेतृत्वमाथिको प्रहार रोकिनुपर्छ, समीक्षा गरेर अघि बढ्छौँः प्रदीप ज्ञवाली

नेतृत्वमाथिको प्रहार रोकिनुपर्छ, समीक्षा गरेर अघि बढ्छौँः प्रदीप ज्ञवाली

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १७:२०, नुवाकोट

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले विगतका कमजोरी सच्याउँदै पार्टीलाई नयाँ ढंगले अघि बढाउने बताएका छन्।

नुवाकोटमा शुक्रबार एमाले जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संविधानलाई नेपाली जनताको सात दशक लामो संघर्षको दस्तावेज र राष्ट्रिय एकताको सूत्राधार भएको बताए। संविधान बनाउँदा आन्तरिक तथा बाह्य दबाब रहे पनि सार्वभौम जनताका प्रतिनिधिमार्फत जारी गर्न सफल भएको स्मरण गर्दै उनले भूकम्प र नाकाबन्दी जस्ता चुनौतीपछि पनि नेपाली जनताले संविधानलाई आत्मसात गरेको उल्लेख गरे।

‘यो संविधान धेरै प्रगतिशील छ। जारी हुँदा तत्कालीन शक्ति सन्तुलनको दस्तावेज पनि हो। यसलाई समयानुकूल परिमार्जन र संशोधन गर्न सकिन्छ,’ ज्ञवालीले भने, ‘तर अहिले संविधान नै संकटमा परेको छ। संविधानले नचिनेको सरकारले चुनाव गर्ने भनेको छ, संविधान जोगाउन चुनाव अपरिहार्य हुन्छ।’

ज्ञवालीले भदौ २३ र २४ गतेका घटनामा सुरक्षा निकायको भूमिका गम्भीर रूपमा समीक्षा र छानबिन गर्नुपर्ने बताए।

‘सैनिक मुख्यालय नजिकै सर्वोच्च अदालत, सिंहदरबार र राष्ट्रपति कार्यालय जस्ता महत्वपूर्ण निकाय सुरक्षित राख्न नसक्ने सुरक्षा संयन्त्रले स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सक्छ भन्नेमा संशय पैदा भएको छ,’ उनको भनाइ थियो।

पार्टी नेतृत्व र कार्यकर्ताबीचको सम्बन्धबारे पनि उनले आत्मालोचनात्मक टिप्पणी गरे।

‘हाम्रा कमजोरी हटाएर अघि बढ्छौँ। कतिपय अपेक्षा पूरा गर्न नसकिएका वा गल्ती भएका हुन सक्छन्। तर अब केन्द्रीय कमिटी लगायतका फोरममा छलफल गरेर नयाँ ढंगले अघि बढ्छौँ,’ उनले स्पष्ट पारे।

भर्खरै पार्टी अध्यक्ष केपी शर्मा ओली सुरक्षाको घेराबाट बाहिरिएको बताउँदै उनले नेतृत्वमाथि विभिन्न कोणबाट प्रहार गर्ने नियोजित प्रयास भइरहेको दाबी गरे। कार्यकर्तालाई यस्ता बहकाउमा नपर्न आग्रह गर्दै उनले भने, ‘हामी गम्भीर समीक्षा गरेर अघि बढ्छौँ, अहिले नेतृत्वमाथि प्रहार गर्ने भाष्य निर्माण रोकिनुपर्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad