सभामुख देवराज घिमिरेले संसद् भवनसहितको सार्वजनिक तोडफोड र आगजनी भएकोप्रति दु:ख व्यक्त गरेका छन्। आज बिहीबार संसद् भवनको अवलोकन गर्दै विघटित प्रतिनिधिसभाका सभामुख घिमिरेले दु:ख व्यक्त गरेका हुन्।
'जेनजी आन्दोलनका क्रममा दु:खद् घटना भयो। संसद्सहित संरचना ध्वस्त भए,' उनले भने, 'अब क्षति र हानीबाट उठेर अघि बढ्नुपर्नेछ।'
त्यस्तै उनले संसद् विघटनका विषयमा विकल्प खोजेको भए हुने बताए। 'राजनीतिक निकासका लागि सबै तयार हुनपर्छ,' उनले थपे, 'संसद् विघटन नगरी विकल्पहरूबारे खोजेको भए राम्रो हुन्थ्यो।'
भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा अहिलेसम्म ७४ जनाले ज्यान गुमाइसकेका छन्। उक्त आन्दोलनकै कारण केपी ओली नेतृत्वको शक्तिशाली भनिएको सरकार ढलेर अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ।
यो सरकारले फागुन २१ मा प्रतिनिधिसभाको चुनाव गराउने जिम्मेवारी पाएको छ।


Shares

प्रतिक्रिया