नेपाली कांग्रेसले जेनजीको आन्दोलनमा मिसिएर विभिन्न आगजनी तथा तोडफोडमा संलग्न पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने भएको छ।
भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलन हिंसात्मक बन्दा अहिलेसम्म ७४ जनाको ज्यान गइसकेको छ भने सिंहदरबार, संसद् भवनसहित सरकारी कार्यालय र शीर्ष नेताको घरमा पनि तोडफोड र आगजनी भएको छ।
यस्ता कार्यमा संलग्न भएकालाई कारबाही गर्ने भन्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रदेश र जिल्लालाई सर्कुलर जारी गरी नाम पठाउन भनेका हुन्।
'जेनजी आन्दोलनका क्रममा काठमाडौं र बाहिर आगजनी र तोडफोडमा कतै कांग्रेस कार्यकर्ताहरू संलग्न छन् भन्ने बुझिन आएको खण्डमा भरपर्दो सूचना, सामाजिक सञ्जालमा पोस्ट गरिएको संकेत, तस्बिरसहितकोप्रमाण संकलन गर्ने र आवश्यक कारबाहीका लागि केन्द्रीय कार्यालयमा पठाउने' सर्कुलर पत्रमा भनिएको छ।
२३ गतेको आन्दोलन हिंसात्मक भएपछि २४ गते जेनजीसहित अन्य पनि आन्दोलनमा मिसिएर नेताका निवास र सरकारी संरचना ध्वस्त पारेका थिए। आगजनी र तोडफोडमा संलग्न पार्टीका नेताहरूको तस्बिर र भिडओ सार्वजनिक हुन थालेपछि महामन्त्रीद्वयले कारबाहीको तयारी थालेका हुन्।
Shares

प्रतिक्रिया