नेकपा एमालेका सचिव योगेश भट्टराईले लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउन तोकिएकै समयमा निर्वाचन गराउन पार्टी दृढ रहेको बताएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेको दाबी पनि गरे।
जेन–जी आन्दोलनको क्रममा देशभर भएको क्षतिको विवरण संकलनको कार्य भइरहेको उनको भनाइ थियो।
संविधान दिवसलाई आन्दोलनको क्रममा ज्यान गुमाएकाहरूको स्मरणका रूपमा देशभर मनाउने जानकारी पनि उनले दिए।
मुलुक राजनीतिक संकटको अवस्थामा रहेकोले यस अवस्थामा राजनीतक दलहरूबीच सहानुभूति र सहकार्यको आवश्यकता पनि उनले औँल्याए।
‘जुन ढंगले संरचनाहरू क्षति भएका छन्। देशभरको क्षतिको विवरण हामी लिँदैछौँ,’ उनले भने, ‘त्यही क्रममा हाम्रो पार्टी कार्यालयमा पनि क्षति भएको छ। संरचना, कागजात र गाडीहरू पनि जलेका छन्। अरू दलका कार्यालयको अवस्था पनि त्यस्तै छ। हिजो हामीले कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेका थियौँ। आज कांग्रेसका उपसभापति लगायत नेताहरू आएर हाम्रो कार्यालय अनुगमन गर्नुभएको छ। यो बेलामा पार्टीहरूबीच सहानुभूति र सहकार्य गर्ने र कसरी अगाडि बढ्ने बेला पनि हो। देशभरि जहाँ पनि संरचनाहरू जलेका छन्, त्यसका लागि दुःख र सहानुभूति व्यक्त गर्दर्छौं। अब अलि नयाँ ढंगले जाने संकल्प पनि हामीले गरेका छौं। पर्सि परेको संविधान दिवसलाई नेकपा एमालेले संविधानको स्मरण र मृतकप्रति सहानुभूतिको रूपमा देशभर मनाउनेछौं। साथै लोकतान्त्रिक प्रक्रियालाई फेरि लयमा फर्काउने र शान्तिपूर्ण ढंगले निर्वाचन गराउने संकल्प गर्ने दिन पनि हो। असोज ३ गते त्यहीअनुसार अघि बढ्छौं।’
Shares

प्रतिक्रिया