नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्तरिम सरकार भएकाले सरकारले समयमै चुनाव गराउनुपर्ने बताएका छन्। सोमबार च्यासलमा जलेको पार्टी कार्यालय अनवलोकन गर्दै उनले दलहरु पनि अभिमत प्राप्त गर्न जनतामा जान तयार हुनुपर्ने बताए।
‘यो सरकार अन्तरिम सरकार भएका नाताले उसको कर्तव्य समयमा निर्वाचन गराउने कुरा हो, शान्ति सुरक्षाको वातावरण तयार गरेर समयमा निर्वाचन गराउने क्रममा सरकारको ध्यान जाने छ,’ पोखरेलले भने, ‘नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर जनताका बीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नु पर्दछ भन्ने हामी ठान्दछौं। किनकि जनमत प्राप्त गर्ने माध्यम भनेको सधैंभरि सडक जनमत प्राप्तिको माध्यम हुन सक्दैन।’
त्यस्तै उनले आफूहरुले युवाहरुको आकांक्षा समयमै पूरा गर्न नसकेको हुन सक्ने तर विकास र समृद्धिको आकांक्षामाथि प्रश्न गर्न नमिल्ने जिकिर गरे। ‘हामीले युवाहरूको आकांक्षालाई समयमै सम्बोधन गर्न सकेनौं,’ पोखरेलले भने, ‘परिस्थितिलाई समयमै आकलन गर्न सकेनौं। हाम्रा पनि केही कमजोरी हरू होलान्। तर त्यसका नाममा हाम्रो देशभक्तिमाथि प्रश्न गर्ने कुरा, हाम्रो प्रशासनमाथि प्रश्न गर्ने कुरा, विकास र समृद्धिको आकांक्षामाथि प्रश्न गर्ने कुरा उचित र न्यायपूर्ण कुरा होइन।’
युवाहरूको आकांक्षालाई पूरा गर्ने बाटोमा एमाले गइरहेको भए पनि उनीहरुले बुझ्न नसकेको उनको भनाइ छ। ‘हामी २०, २१ र २२ गतेका दिन पार्टीको दोस्रो विधान महाधिवेशनमा छलफल गरेर युवाहरूमा हुर्कंदै गरेको असन्तुष्टि र उनीहरूको आकांक्षालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा लामो छलफल गरेर निर्णायक शक्ति निर्माणको २१ बुँदे कार्ययोजना हामीले तयार गरेका थियौं,’ पोखरेलले भने, ‘युवाहरूले धैर्यता गर्नुभएको भए नेकपा एमाले नै उहाँहरूका चाहना र आकांक्षाहरू पूरा गर्ने पार्टीका रूपमा अगाडि आउँदै थियो। हामीले त्यस प्रकारका संकल्पहरू, योजनाहरू तयार गरेका थियौं।’
Shares

प्रतिक्रिया