नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले जेन-जी आन्दोलनका क्रममा ज्यान नै जाने खतरा आएपछि राजीनामा घोषणा गर्न बाध्य भएको तर अहिले संगठनमा फर्किएको बताएका छन्।
अब भने कसैले मारे पनि एमाले नछाड्ने उनले उल्लेख गरेका छन्।
‘त्यसबेला जबर्जस्ती सामाजिक सञ्जालमार्फत राजीनामा दिन बाध्य बनाइयो। सायद त्यस्तो पोस्ट नगरिएको भए म आज जिउँदो हुने थिइनँ’, कडरियाले बिहीबार फेसबुकमार्फत भनेका छन्, 'तर प्रस्ट पार्न चाहन्छु- मैले कुनै पनि संगठनबाट आधिकारिक रूपमा राजीनामा दिएको छैन।’
उनले अगाडि लेखेका छन्, ‘हो, मलाइ मार्न आएका हुन्, यो सत्य हो, मलाई हातपात पनि भयो र मार्न खोजियो। एकजना चिनेको भाइले बचाएकै हो, ऊप्रति जीवनभर कृतज्ञ रहनेछु। आज हामी सबैले एकअर्कालाई दोषारोपण होइन, एकताभावका साथ संयमित हुन जरुरी छ। यस्तो बेलामा संविधान रक्षाको निमित्त सबै एक हुन जरुरी छ। यतिबेला अब कसैले मारेछन् भने पनि एमाले छोड्दिनँ, यो नै सत्य हो। यो सबै परिस्थितिले पुष्टि हुन्छ कि देशलाई माया गर्ने एमाले नै हो।’
आफूबाट गल्ती भएको स्वीकार गर्दै यसबाट एमालेजनमा चोट पुगेकामा कडरियाले माफी पनि मागेका छन्।
‘देश संविधानअनुसार नै चल्नुपर्छ। देशका वरिष्ठ नेताहरू यो परिस्थितिको सामना गर्न नसक्दा मबाट कमजोरी भएकै हो’, उनले लेखेका छन्, ‘यसबाट एमालेजनमा पुर्याएको चोटप्रति क्षमाप्रार्थी छु। सबै परिस्थितिको निम्ति आत्मआलोचित छु। मानिसले भुलहरूबाट नै सच्चिने हो। अहिलेलाइ म ठिक छु। देश बचाउन सक्यौँ भने हाम्रो जित हुनेछ।’

Shares

प्रतिक्रिया