बझाङकी कैली बोहराका आँखा रुँदारुँदा थाकिसकेका छन्।
घरी तल, घरी माथि गर्छिन्। सुस्केरा छाड्दै कान्छा छोरा सन्दीपको अनुहार हेर्छिन्। बारम्बार आसन फेर्छिन्, कसैगरी बस्दा पनि शीतल हुँदैन। अब त बोल्न सक्ने तागत पनि बाँकी छैन।
सोमबार भएको जेनजी प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोलीले २३ वर्षीय छोरा सुवासको मृत्यु भएपछि कैली आफूलाई सम्हाल्न सक्ने अवस्थामा नै छैनन्।
सुवासलाई वकिल बनाउने सपना अधुरै रह्यो।
उनी बस छोराको अनुहार अन्तिम पटक हेर्न पाउने आशामा मुस्किलले ज्यान थिग्य्राएर बसिरहेकी छन्।
उनको छोरा सुवासको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमाटर्मका लागि राखिएको छ। कैली अस्पतालनजिकै होटलमा बसेकी छिन्। बेलाबेलामा छोराको शव हेर्न दिन्छन् कि भन्दै अस्पताल पुग्छिन्।
अस्पतालले शव हेर्न नदिएपछि फर्किन्छिन्।
भारतमा मजदुरी गरेर हुर्काएको छोरा
श्रीमानले घर छोडेर हिँडेपछि दुई छोराको जिम्मेवारी कैलीमा काँधमा आएको थियो।
जेठो छोरा सुवास धनगढीमा कक्षा १२ उत्र्तीण गरेपछि एलएलबी पढ्न चाहन्थे। सानो छोराले कक्षा ७ पास गरेका थिए।
त्यसैले सुवास भाइलाई लिएर काठमाडौँ आएका थिए। कीर्तिपुरमा डेरामा बसेर उनी भाइलाई पढाउन थाले।
कैली भने छोराहरूको पढाइ खर्च जोहो गर्न भारत गएकी थिइन्। उनी बेंगलोरमा मजदुरी गर्थिन्।

सुवासलाई जसरी पनि वकिल बनाउने उनको चाहना थियो। तर, कैलीको सपनालाई प्रहरीले सुवासको छातीमा निर्ममतापूर्वक गोली हानेर तुहाइदिएको छ।
उनको सपना मात्र भत्किएको छैन, २३ वर्षीय जवान छोरा मारिँदा उनले बुढेसकालको सहारा पनि गुमाइन्।
कैली छोराको शव बुझ्न आज बिहान मात्र काठमाडौँ आइपुगेकी छिन्। छोराको मृत्युपछि काठमाडौँ आउने क्रममा सक्कली नागरिकता साथमा नहुँदा विमानस्थलले रोकेको थियो।
भारतस्थित नेपाली राजदूतावास र नेपाल एयरलाइन्सको सहयोगमा बिहीबार बिहान उनी विमान चढ्न पाइन्। काठमाडौँ ओर्लिनेबित्तिकै छोराको शव राखेको त्रिवि शिक्षण अस्पताल पुगिन्। तर, अस्पतालले छोराको शव हेर्न दिएको छैन।

साथी भेट्न जान्छु भन्दै निस्किएका थिए सुवास
सोमबार कीर्तिपुरस्थित डेरामा सुवासले भाइ सन्दीपलाई बिहानको खाना खुवाए। भाइलाई ‘म साथी भेट्न जान्छु, ढिलो भयो भने खाजा आफैँ पकाएर खानू’ भनेर निस्किए।
साथीहरूसँग भेट भएपछि सुवास सोझै माइतीघर हुँदै बानेश्वर पुगेका थिए– जेनजी प्रदर्शनमा सहभागी हुन। त्यहीँ उनलाई गोली लाग्यो।
प्रहरीले हानेको गोलीले उनको घाँटीको रुद्रघण्टी छेडेको थियो। अस्पताल नपुर्याउँदै उनको प्राण गइसकेको थियो।
बाबु घर छाडेर सम्पर्कविहीन भएको र आमाले भारतमा बसेर मजदुरी गर्दा पनि पुग्दो खर्च नजुट्ने देखेपछि वकिल बन्ने सपना उनले त्यागेका थिए।
आफ्नो सपना पूरा नहुने भएपछि भाइको भविष्य सुन्दर बनाउने अठोट उनले लिए। त्यसपछि सुवास वैदेशिक रोजगारीमा जान चाहन्थे। जसका लागि जापनी भाषा पढ्न थाले। भाषा परीक्षा उत्र्तीण गरे। भिसा पनि पाए।
उनका ८० वर्षका हजुरबुबाले हरिबहादुरले उनका लागि गाउँमा ६ लाख रुपियाँ ऋण पनि खोजिदिएका थिए।
तर, जापान जान ८ लाख रकम अपुग भयो। त्यो रकम आमाले रकम जुटाउन सकिनन्।
‘गएको चैत २१ गते उसको जापान जाने दिन थियो। आठ लाख पैसा जुटाउन नसकेपछि यतै रोकियो,’ सुवासका आफन्त जनक बोहोराले भने, ‘खर्च पाएको भए आज यो दिन देख्नु पर्ने थिएन।’
अध्ययन र भिसा प्रक्रिया गर्दा तीनचार लाख रुपैयाँ खर्च भइसकेको थियो। सुवास तनावमा थिए।
‘आमालाई धेरै दुःख भयो। म जापान जाने निश्चित भएपछि आमालाई काठमाडौँ ल्याउँछु भन्थ्यो। अहिले आफू नै रहेन। परिवारको बिजोग हुने भयो,’ जनकले भने।
Shares

प्रतिक्रिया