राजनीति


घर जलेपछि आमासँगै रोएका गगनले सम्झाए- ‘जो युवा मारिएका छन्, उनीहरूको परिवारमा के भइरहेको होला?’

घर जलेपछि आमासँगै रोएका गगनले सम्झाए- ‘जो युवा मारिएका छन्, उनीहरूको परिवारमा के भइरहेको होला?’

नेपालखबर
भदौ २६, २०८२ बिहिबार १३:२३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घर जेलेकामा रोएको आफ्नो परिवारलाई ज्यानै गुमाएकाका परिवार देखाएर सम्झाएको बताएका छन्। 

जेन-जी आन्दोलनको दोस्रो दिन यही भदौ २४ गते काठमाडौँको रातोपुलस्थित सांसद थापाको घर प्रदर्शनकारीले तोडफोड र आगजनी गरेर ध्वस्त पारेका छन्। 

त्यस दिन आफूलाई केही साथीहरूले भगाएर सुरक्षित स्थानमा पुर्‍याएको थापाले बताएका छन्।

दु:ख गरी बनाएको घर भताभ‌ुंग भएकामा आमा रोएपछि आफू पनि एकछिन रोएको उनले सुनाएका छन्। तर पछि मारिएका युवाको परिवारलाई झन् कति पीडा परिरहेको होला भनेर आफ्नी आमा र छोरीलाई सम्झाएको तथा आफूले पनि चित्त बुझाएको गगनले उल्लेख गरेका छन्। 

‘एकछिन घरमा बस्दाबस्दै एउटा ठूलो हुल मेरो घरतिर आयो। नारा लायो। ढुंगा हान्यो। त्यो आक्रोश म बुझ्थेँ। तर मलाई मेरो घरमा आगो लगाइएला भन्ने थिएन। एकैछिनपछि ठूलो हुल आयो। मैले माथिबाट हेरेँ, सीसीटीभीबाट पनि हेरेँ। १०/१५ जना मास्क लगाएको छ। त्योभन्दा पछाडि ठूलो हुल छ। त्यो ठूलो हुलमा मैले राम्रोसँग चिन्ने, केही नयाँ पार्टीका मानिसहरू पनि छन्, केही पुरानो पार्टीका मानिसहरू पनि छन्। आगो लगा आगो लगा भनेका छन्, गाडीमा लगायो। सबै डाङडुङ तोडफोड भयो’, बिहीबार भिडिओ सन्देश जारी गरी थापाले भनेका छन्, ‘एकैछिन पछाडि घरमै आगो लाग्न सुरु भयो। तर केही साथीहरू निस्कनु भो, जसले बाटो बनाएर पछाडिको बाटोबाट मेरो बुवाआमा हिँड्न नसक्ने कान्छो बुवा, मेरो सानसानो छोरीहरू, मेरो वाइफ, हामीहरूलाई सुरक्षित ढंगले बाहिर निकाल्नुभो। म सबैप्रति धेरै आभारी छु। सबै तहसनहस भयो। तर केही छैन। मैले यसलाई दुर्भाग्यपूर्ण घटनाका रूपमा लिनुपर्छ। साँझ सुरक्षित ठाउँमा गइसकेपछि पनि जब आमाले मलाई रुँदै भन्नुभयो, त्यसपछि चाहिँ नरमाइलो लाग्यो। म पनि एकछिन रोएँ। किनकि त्यो मेरो घर थिएन। मेरा बाआमाले २०४० सालतिरबाट अलिअलि गरेर बनाएको, पहिला सानो घर एक तला, एउटा कोठा थप्दै थप्दै बनाएको, त्यही घर थियो, जुन घरमा हाम्रो बाल्यकाल बित्यो। मेरो छोरीहरू त्यहीँ जन्मिए। जहाँ हामीले एउटा ससानो एउटा कोठा थप्दै थप्दै बनाएको मेरो बुवाआमाको एउटा सिर्जना थियो। त्यो ध्वस्त भयो। मलाई अर्काे पनि नरमाइलो लाग्यो। मेरो कारणले गर्दा मेरो परिवारको सदस्यहरू जे भोग्नुपर्‍यो, त्यस्तो किन भोग्नुपर्‍यो भन्ने लाग्यो। तर फेरि मैले छोरी र आमालाई सम्झाएँ- हामीहरू त सुरक्षित छौँ नि। जो युथहरू मारिएका छन्, उनीहरूको परिवारमा के भइरहेको होला? त्यसैले यसलाई यसरी सम्झिनुपर्छ। तर मैले अर्काे के कुरामा पनि चित्त बुझाएँ भने अहिले पनि बुझाएको छु। म कन्भिन्स छु। जो रियल जेनजीको मुभमेन्टमा आउनुभएका साथीहरू तपाईंहरू कसैको पनि त्यो चाहना होइन।’ 

यसमा अरू नै स्वार्थीहरूको घुसपैठ भएको आशंका थापाले गरेका छन्। 

सुन्नुहोस् भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad