राजनीति


अराजकताको आगो सल्काएर ‘बादशाह ओली’को अवसान

अराजकताको आगो सल्काएर ‘बादशाह ओली’को अवसान

सीताराम बराल
भदौ २४, २०८२ मंगलबार १५:३०, काठमाडौँ

शक्ति र उन्मादले मैमत्त बादशाह एक दिन अपमानपूर्वक घोडाबाट झर्नैपर्छ। नेपालको राजनीतिक इतिहासमा पटक–पटक पुष्टि भइसकेको यो तथ्य मंगलबार पनि पुष्टि भएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीको हकमा पनि लागू भएको छ। 

२० जनाको ज्यान लिएर, सयौँ युवापुस्ताका नागरिकलाई अंगभंग गराएर, आफ्नै लगायत सबैजसो शीर्ष नेता र मन्त्रीहरूको घर जल्ने परिस्थिति सिर्जना गरेपछि ओलीले मंगलबार दिउँसो राजीनामा दिएका छन्। 

लोकतान्त्रिक–गणतान्त्रिक इतिहासमा ओलीले सबैभन्दा बढी क्रूर र दम्भी प्रधानमन्त्रीको रुपमा नाम दर्ज गराएका छन्। १६ महिनाअघि जुन छलकपटबाट ओली प्रधानमन्त्री बनेका थिए, उनको राजनीतिक अवसान पनि जस्तालाई तस्तै गरी भएको छ। 

जेन जी पुस्ताका २० होनहार नागरिकहरूको सोमबार भएको आमहत्यापछि नै आमजनताले उनीबाट राजीनामाको अपेक्षा गरेका थिए। तर, हठ र दम्भको सगरमाथा ओलीले राजीनामा दिएनन्, जसका कारण मंगलबार बिहान थप एक नागरिकको मृत्यु हुन पुग्यो।

त्यति ठूलो नरसंहार हुँदा पनि ओलीमा जिम्मेवारीबोध थिएन। राजधानीमा कर्फ्यु लगाएर दमनको भरमा सत्ता टिकाउने ध्येयमा लागे। नागरिक आवाज र पीडा सुन्ने–बुझ्ने भन्दा नरसंहारलाई जायज ठहर्‍याउने कुकर्ममा लागे। 

सोमबार साँझको मन्त्रिपरिषद बैठकमा उनको प्रस्तुतिले त्यही देखाउँथ्यो, राजीनामा दिएर समस्या समाधानको निकास दिनुको साटो उनी परिस्थिति अरु भड्काउने मुडमा थिए। गृहमन्त्री रमेश लेखकलाई राजीनामा नदिन दिएको सुझाव र आफ्नै राजीनामा अघिसम्म लेखकको राजीनामा स्वीकृत नगर्नुले उनी परिस्थितिलाई अरु जटिल बनाउन चाहन्छन् भन्ने प्रस्ट पार्छ। 

ओली कति क्रूर राजनीतिक पात्र हुन्, २०७७ र ०७८ मा दुईदुई पटक गरेको संसद् विघटनले नै देखाउँछ। खासमा त्यो ओलीबाट भएको अक्षम्य राजनीतिक अपराध थियो, राजा ज्ञानेन्द्रले २०५९ असोज र २०८१ माघमा गरेजस्तै। 

माफी दिनै नहुने अपराधमा समेत उनले उन्मुक्ति पाए। पुष्पकमल दाहाल (प्रचण्ड) र शेरबहादुर देउवाबाट पुरस्कृत समेत भए। प्रचण्डले त्यसको परिणाम गत असारमै भोगेका हुन्, देउवाले अहिले भोगेका छन्।

संविधान कुल्चेर ओलीले गरेको विघटनमा उन्मुक्ति नदिइएको भए आज ठूला राजनीतिक दल, तिनका नेता र समग्र देशले हिजो र आजको क्षति बेहोर्नु पर्ने थिएन। लोकतन्त्र र गणतन्त्रमाथि यति धेरै प्रश्न पनि उठ्ने थिएन। 

यस्तो गम्भीर स्थितिमा समेत ओली सत्ता लम्ब्याउने कसरतमै थिए। मंगलबार साँझ आयोजना गरिएको कथित सर्वदलीय बैठक सत्ता लम्ब्याउने उनको अन्तिम कसरत थियो।

‘प्रधानमन्त्रीको अध्यक्षतामा सर्वदलीय बैठक’ हुँदा सबै दलले उनलाई नै अझै प्रधानमन्त्री मानेका छन् भन्ने सन्देश जान्थ्यो नै। 

जनता जागेपछि जस्तोसुकै बादशाह पनि घोडाबाट ओर्लनै पर्छ, ओली पनि ओर्लन बाध्य भएका छन्, तर देशमा अराजकताको आगो सल्काएर मात्र। क्रूर शासकले गर्ने हर्कत नै यस्तै हो, जो ओलीले गरेका छन्। 

यस्ता ‘क्रूर बादशाह’हरू नेपालको राजनीतिक इतिहासमा अरु पनि जन्मे, जनताको शक्तिले तिनीहरूलाई घोडाबाट झर्न बाध्य परे। ती सबै क्रूर बादशाहहरूलाई ओलीले उछिनेका छन्। 

दुईदुई पटकको संसद् विघटन, सोमबार र मंगलबार भएको जनधनको क्षतिको अपराधमा उनी सजायका भागेदार छन्। ओलीजस्ता क्रूर बादशाहहरू जन्मन नदिने एउटै उपाय अपराध अनुसारको सजाय हो। 

नेपालको राजनीति फेरि पनि यस मामिलामा चुक्यो भने यस्ता राजनीतिक खलपात्रहरूको उदय फेरि पनि भइरहनेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad