सत्ता साझेदार नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहबाट सरकारमा मन्त्री रहेकाहरूलाई राजीनामा दिन निर्देशन दिएका छन्।
हाल चीन भ्रणमा रहेका नेता कोइरालाले आफूहरूलाई राजीनामा दिन निर्देशन दिएको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिए।
त्यसअनुसार आफू राजीनामा दिन तयार रहेको तर आज काठमाडौँमा कर्फ्यु लागका हुनाले मन्त्रालय जाने अवस्था नरहेको उनले बताए।
‘मैले अरू साथीहरूसँग सल्लाह गरिरहेको छु, मैलेचाहिँ मन बनाछु। बाहिर निस्कनचाहिँ पाइँदैन। के गर्ने भन्ने? जिम्मेवारीबाट पन्छिन खोजेको चाहिँ होइन। तर यल्लाई कसरी व्यवस्थापन गर्ने’, उनले नेपालखबरसँग भने, ‘हामीले राजीनामा दिएर हुन्छ भने पनि बरु बाटो खुला गरौँ भन्ने हो।’
सोमबार जेन-जीले गरेको विरोध प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जना युवा मारिएपछि सरकारको चर्को आलोचना भइरहेको छ।
कांग्रेसबाटै गृहमन्त्री बनेका रमेश लेखकले त घटनाकै दिन सोमबार साँझ पदबाट राजीनामा दिइसकेका छन्।
शेखर समूहबाट सरकारमा अधिकारी कृषिमन्त्री, बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री छन्।
त्यसो त सत्तारुढ दलकै नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीकै राजीनामा मागिरहेका छन्। तर यसप्रति अहिलेसम्म ओलीले कुनै चासो देखाएका छैनन्।
यसैबीच जेनजीले आफ्नो आन्दोलन जारी राखेको छ। आज पनि युवाले बानेश्वरमा बिहानैदेखि विरोध प्रदर्शन सुरु गरिसकेका छन्। जहाँ सोमबार प्रहरीको गोलीबाट विद्यार्थीसहित १७ युवा मारिएका थिए।
उपत्यकाबाहिर पनि सोही आन्दोलनमा २ जना मारिएको प्रहरीले नै पुष्टि गरिसकेको छ।
Shares

प्रतिक्रिया