विदेशी समकक्षीसँगको भेटवार्तामा नेपालका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरू अत्यधिक आत्मविश्वासका साथ प्रस्तुत हुनु राम्रो कुरा हो। भेटवार्ताहरूमा शीर्ष नेताबाट प्रस्तुत हुने यस्तो ‘आत्मविश्वास’ को राष्ट्रको इज्जत वृद्धिमा पनि निकै ठूलो भूमिका रहन्छ।
तर, ‘आत्मविश्वास’ का नाममा बिनातयारी प्रस्तुत हुँदा र जानकारी नभएको विषयमा आफ्ना कुरा राख्दा गलत कुरा बोलियो भने त्यसको असर सम्बन्धित नेताको व्यक्तित्वमा मात्र होइन, राष्ट्रको इज्जतमा पनि पर्छ।
चिनियाँ महानगर तियान्जिनमा सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन (१५–१६ भदौ) मा सहभागी हुने क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तामा अत्यन्तै ‘अनावश्यक आत्मविश्वास’ कारण प्रधानमन्त्री केपी ओली पनि नराम्रोसँग चुकेका छन्।
प्रधानमन्त्री चुकेको त्यो विषय थियो– रुसको तर्फबाट कुनै पनि राष्ट्राध्यक्ष वा शीर्ष नेताहरूले नेपाल भ्रमण गरेका छैनन् भन्ने सन्दर्भ। राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री ओली नेपाल–रुस (तत्कालीन सोभियत संघ) बीच भएको उच्चस्तरीय भेटवार्ताको सन्दर्भ उल्लेख गर्ने चुकेका थिए।
इरानी राष्ट्रपतिपछि ओलीको पालो
‘एससीओ’ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तियान्जिन प्रस्थान गर्दा रुसी पक्षले राष्ट्रपति पुटिनसँग प्रधानमन्त्री ओलीको भेटवार्ताको समय उपलब्ध भएको जानकारी त गराएको थियो। तर समय भने यकिन थिएन।
त्यहीकारण भ्रमण कार्यक्रम समेटेर तयार पारिएको पुस्तिकामा दुई शीर्ष नेताबीचको भेटवार्ता सोमबार (१६ भदौ) साँझ ६ः४५ देखि ७ः१५ सम्म हुने उल्लेख गरिएको थियो। तर, सँगसँगै टीबीसी (टु बि कन्फर्म्ड) पनि भनिएको थियो। अर्थात् समय यकिन हुन बाँकी नै थियो।
भेटघाटस्थलका रूपमा सम्मेलन भएकै ‘तियान्जिन मेजियाङ कन्भेन्सन सेन्टर’ उल्लेख थियो। कन्भेन्सन सेन्टरको ‘साइडलाइन’ मा पुटिन–ओलीबीच भेटवार्ता हुने नेपाली पक्षको अनुमान थियो।
तर, प्रधानमन्त्रीको सचिवालयले सोमबार (१६ भदौ) साँझ १८ः३९ मा ‘व्हाट्सएप’ मार्फत् सञ्चारकर्मीहरूलाई जानकारी गरायो, ‘शिखर सम्मेलन लम्बिएका कारण रुसी महासंघका राष्ट्रपतिसँगको भेट दुई घण्टा पर सरेको छ।’
स्रोतका भनाइमा काठमाडौँबाट उड्दा पुटिन–ओली भेटवार्ताका लागि जुन समय तय गरिएको थियो, त्यो समय अर्थात् सोमबार (१६ भदौ) ६ः४५–७ः१५ (साँझ) मा पुटिन आफ्ना इरानी समकक्षी मसुद पेजेस्कियानसँग भेटवार्तामा थिए।
हालसालै मात्र इजरायली आक्रमण भोगेको इरान र अमेरिकासँग वर्षाैंदेखि सुमधुर सम्बन्ध नरहेको रुसका राष्ट्रपतिबीचको भेटवार्ता लम्बिने देखियो। त्यसपछि रुसी पक्षले पुटिन–ओली भेटवार्ताको समय संशोधन गर्न नेपाली पक्षलाई अनुरोध गर्यो।
त्यसक्रममा भेटवार्ताको समय मात्र संशोधन भएन, भेटवार्तास्थल पनि परिवर्तन गरियो। त्यसअघि ‘कन्भेन्सन सेन्टर’ मा हुने तय भएको भेटवार्ता अब तियान्जिनमा पुटिन बसेकै ‘द रिट्ज–कार्लटन होटल’ मा नेपाल र रुसका शीर्ष नेताहरूको भेटवार्ता हुने भयो।

मर्यादाक्रममा सरकार प्रमुख (प्रधानमन्त्री) भन्दा राष्ट्राध्यक्ष (राजा वा राष्ट्रपति) माथि हुन्छन् नै। भेटवार्ताको प्रस्ताव नेपालले नै राखेको र उपरोक्त अन्तर्राष्ट्रिय ‘प्रोटोकल’ समेत मध्यनजर गर्दै प्रधानमन्त्री ओली पुटिनसँग भेटवार्ताका लागि ‘द रिट्ज–कार्लटन होटल’ जान सहजै राजी भए।
त्यसबीचमा रुसी पक्ष प्रतिनिधिमण्डलस्तरमै भेटवार्ता गरौँ भन्ने नेपालको प्रस्तावमा सहमत पनि भइसकेको थियो।
‘प्रधानमन्त्री ओलीसँग भेटवार्ताअघि रुसी राष्ट्रपति पुटिन इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग भेटवार्तामा हुनुहुन्थ्यो,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘पेजेस्कियानसँगको भेटवार्ता सकिएपछि प्रधानमन्त्री ओलीको राष्ट्रपति पुटिनसँग भेटवार्ता भएको हो।’
‘प्रधानमन्त्री ओलीको मंगलबार (१७ भदौ) बिहान रेलबाट बेइजिङ जाने कार्यक्रम थियो, तर पुटिनको भने अघिल्लै (१६ भदौ) राति १२ बजे बेइजिङ जाने कार्यक्रम तय रहेछ, यो कुरा हामीले भेटवार्ताको नयाँ समय मिलाउने क्रममा जानकारी पायौँ,’ भ्रमण दलमा सहभागी अर्का अधिकारीले भने, ‘ओलीसँग पुटिनको भेटवार्ता करिब आधा घण्टा भयो, भेटवार्ता सकिएलगत्तै पुटिन मध्यरातमा बेइजिङ प्रस्थान गर्नुभयो।’
प्रधानमन्त्रीको सचिवालयले पठाएको भेटवार्ताको भिडिओमा पनि प्रधानमन्त्री ओलीले आफूलाई मध्यरातमा समय उपलब्ध गराएकोमा राष्ट्रपति पुटिनप्रति धन्यवाद ज्ञापन गरेको सुन्न सकिन्छ।
ओलीको स्वागतमा लिफ्टकै ढोकामा पुटिन
‘एससीओ’ शिखर सम्मेलनका लागि तियान्जिन निम्त्याइएका सबै राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूका लागि चीनले छुट्टाछुट्टै होटल उपलब्ध गराएको थियो। प्रधानमन्त्री ओली सहित नेपाली प्रतिनिधिमण्डल बसेको ‘होटल होलिडे इन’मा पनि नेपाली बाहेक अन्य कुनै पनि देशका पाहुना थिएनन्।

सुरक्षा र पाहुनाको सम्मानलाई मध्यनजर गर्दै नेपाली प्रतिनिधिमण्डलका लागि छुट्टै होटल व्यवस्था गरेको चिनियाँ पक्षले रुसी राष्ट्रपति पुटिनका लागि नगर्ने कुरै भएन।
‘चिनियाँ पक्षले त सुरक्षा प्रबन्ध गर्ने नै भयो, रुसले पनि अनौपचारिक तबरमा सुरक्षाको प्रबन्ध गरेको रहेछ,’ ती अधिकारीका भनाइ छ, ‘भेटवार्ता तय गर्ने क्रममा हामीले थाहा पायौँ– राष्ट्रपति पुटिनसहितको रुसी प्रतिनिधि, कर्मचारी र सादा पोसाकका सुरक्षाकर्मी गरी एक हजार जना १७ वटा जहाजमा तियान्जिन पुगेका रहेछन्।’
ओली–पुटिन भेटवार्ता अघि–पछि नेपाली प्रतिनिधिमण्डललाई रुसी सुरक्षा बन्दोबस्तको प्रत्यक्ष अनुभव अझ बढी त्यतिबेला भयो, जब राष्ट्रपति पुटिनसँग सामुहिक तस्बिर खिच्न अघि बढ्ने क्रममा रुसी सुरक्षाकर्मीहरू वरिपरिका कुनाबाट आइपुगे।
पश्चिमी राष्ट्रहरूले अलगावमा पार्न खोजेको रुसका लागि तियान्जिनमा एससीओ शिखर सम्मेलन आफ्नो सम्बन्ध र सम्पर्कलाई अझ विस्तार गर्ने माध्यम र अवसर दुवै थियो। सन् १९५६ मै कूटनीतिक सम्बन्ध स्थापना गरेको मुलुक भएकाले रुसी (तत्कालीन सोभियत संघ) राष्ट्रपतिसँगको भेट नेपालका लागि महत्वको हुने भइहाल्यो।

त्यो भेटवार्तालाई पुटिनले कति महत्व दिएका थिए भन्ने कुरा औपचारिक भेटवार्ताअघिको एउटा घटनाले पनि बताउँथ्यो।
‘जुन हलमा पुटिन–ओलीबीच भेटवार्ता भयो, त्यहाँसम्म पुग्न लिफ्ट चढेर जानुपथ्र्याे, प्रधानमन्त्री ओली लिफ्ट चढेर पुटिन रहेको तलासम्म जानुभयो,’ अर्का एक अधिकारीले भने, ‘प्रधानमन्त्री ओली जब लिफ्टबाट निस्कनुभयो, लिफट्को ढोकाअगाडि नै उहाँलाई रिसिभ गर्न राष्ट्रपति पुटिन बस्नु भएको रहेछ। लिफ्टबाट निस्केपछि पुटिनले ओलीलाई बैठकहलसम्म लिएर जानुभयो।’
प्रधानमन्त्रीको सचिवालयले उपलब्ध गराएको करिब ७ मिनेट लामो भिडिओ फुटेजमा ओलीले मध्यरातमा समय उपलब्ध गराएकोमा पुटिनलाई धन्यवाद त दिएका छन् नै, नेपालको विकास निर्माणमा रुसको योगदान, नेपाली विद्यार्थीलाई रुसले प्रदान गरेको छात्रवृत्तिको महत्व, एमाले नेताका रूपमा सन् १९९९–२००० ताका आफूले गरेको रुस भ्रमण र त्यसक्रममा देखेको रुसको उन्नति–प्रगति आदिको चर्चा गरेका छन्।
भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन्।
खासमा यसअघि ओली प्रधानमन्त्री हुँदा पनि नेपालले रुसी राष्ट्रपतिको नेपाल भ्रमणको अपेक्षाका साथ निमन्त्रणा पठाएको थियो। त्यो निमन्त्रणा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीमार्फत् पठाएकी थिइन्।
ओलीलाई थाहा नभएको सोभियत राष्ट्रपतिको नेपाल भ्रमण
‘निश्चय नै हामी (नेपाल–रुस) पुराना मित्र हौँ, सन् १९५६ मा दुई मुलुक (नेपाल र तत्कालीन सोभियत संघ) बीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो, त्यसयता हाम्रो द्विपक्षीय सम्बन्ध निकै राम्रो छ,’ भेटवार्ताको सुरुवात गर्दै प्रधानमन्त्री ओली राष्ट्रपति पुटिनसँग भन्छन्, ‘तर पनि कारण के हो, मलाई जानकारी छैन– हामी दुई मुलुकको त्यति बलियो सम्बन्ध पछि अलिक कमजोर हुन पुग्यो।’
त्यसक्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति पुटिनसँग दुई मुलुकबीच सन् १९५६ मा कुटनीतिक सम्बन्ध स्थापना भएयता कुनै रुसी शीर्ष नेताले नेपालको भ्रमण नगरेको गुनासो गर्छन्।
प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको भिडिओमा ओलीले भनेको कुरा प्रस्टसँग सुनिन्छ, ‘तर, जहाँसम्म मलाई जानकारी छ, त्यसयता (कूटनीतिक सम्बन्ध स्थापना भएपछि) रुसी ‘स्टेट लिडर’ वा शीर्ष नेताले नेपाल भ्रमण गरेका छैनन्।’
कूटनीतिक सम्बन्ध स्थापना भएयता कुनै पनि रुसी शीर्षनेताले नेपालको भ्रमण गरेका छैनन् भन्ने प्रधानमन्त्री ओलीको यो गुनासो तथ्यमा आधारित भने छैन।
बरु उनी तयारीबिना भेटवार्ताका लागि ‘द रिट्ज–कार्लटन होटल’ पुगेका रहेछन् भन्ने तत्कालीन सोभियत संघका राष्ट्रपतिले राजा महेन्द्र र प्रधानमन्त्री बीपी कोइरालाको पालामा भ्रमण गरेको तथ्यले बताउँछ।
गृष्मबहादुर देवकोटाले नेपालको राजनीतिक दर्पण (भाग २) मा उल्लेख गरेअनुसार, राजा महेन्द्रको निमन्त्रणामा तत्कालीन रुसी राष्ट्रपति क्लिमेन्ट भोरोशिलोभले २०–२३ माघ २०१६ मा नेपालको राजकीय भ्रमण गरेका थिए। राष्ट्रपति भोरोशिलोभका साथ प्रथम उपप्रधानमन्त्री एफआर कोजलोभ लगायतका उच्च अधिकारीहरू पनि नेपाल भ्रमणमा आएका थिए।
२० माघ (२०१६) मा बिहान ११ बजे काठमाडौँ ओर्लेका राष्ट्रपति भोरोशिलोभको स्वागतका लागि राजा महेन्द्र आफैँ गौचर हवाई अड्डा (त्रिभुवन विमानस्थल) पुगेका थिए।
काठमाडौँ आइपुगेकै दिन तत्कालीन होटल रोयलमा राष्ट्रपति भोरोशिलोभको सम्मानमा नेपाल–रुस मैत्री संघले स्वागत समारोह आयोजना गरेको थियो। यो कार्यक्रमपछि राष्ट्रपति भोरोशिलोभ घरेलु इलम तालिम केन्द्रको निरीक्षणमा गएका थिए।
साँझपख सिंहदरबारस्थित स्टेट हलमा उनको स्वागतमा राजा महेन्द्रले रात्रिभोज आयोजना गरे। रात्रिभोजपछि उनी राष्ट्रिय नाचघरमा आयोजित सांस्कृतिक कार्यक्रम अवलोकनका लागि सहभागी भए।

२१ माघका दिन दिउँसो काठमाडौँ नगरपालिकाले टुँडिखेलमा राष्ट्रपतिको सम्मानमा सभा आयोजना गरेको थियो भने बिहान ललितपुर नगरपालिकाले। यी दुवै कार्यक्रममा उनले सम्बोधन गरे। बिहानपख भने उनी छाउनीस्थित राष्ट्रिय संग्रहालयको अवलोकन गरेका थिए।
त्यसैदिन (२१ माघ) दिउँसो प्रधानमन्त्री बीपी कोइरालाले राष्ट्रपति भोरोशिलोभको सम्मानमा दिवाभोज आयोजना गरे। राजा महेन्द्रले त उनी नेपाल आएकै दिन उनको सम्मानमा रात्रिभोज आयोजना गरे थिए, २१ माघको साँझ सिंहदरबारस्थित खेल मैदानमा पनि राजाले जलपान कार्यक्रम आयोजना गरे।
राष्ट्रपति भोरोशिलोभका लागि २२ माघ साँझ शीतल निवासस्थित सरकारी अतिथिगृहमा फेरि अर्काे रात्रिभोज आयोजना गरियो, जुन उनको सम्मानमा राजधानीमा आयोजना गरिएको अन्तिम कार्यक्रम थियो।
चारदिने नेपाल भ्रमणको यो व्यस्त कार्यतालिकाको समापनपछि २३ माघमा बिहानै उनी काठमाडौँबाट बिदा भए। बिदाइका लागि पनि राजा महेन्द्र विमानस्थल पुगेका थिए।
परराष्ट्र मन्त्रालयको वेबसाइटमा राखिएको ‘नेपाल–रुस सम्बन्ध’ सम्बन्धी विवरणमा पनि राष्ट्रपति भोरोशिलोभको नेपाल भ्रमण उल्लेख छ। त्यसमा भोरोशिलोभको परिचय ‘चेयरमेन अफ द प्रेसिडियम अफ द सुप्रिम सोभियत अफ द सोभियत युनियन’ का रूपमा गराइएको छ।
खासमा यो तत्कालीन सोभियत संघका राष्ट्रपतिलाई जनाइने औपचारिक पद थियो। यद्यपि, यो पद ‘सेरेमोनियल’ थियो।
अति आत्मविश्वास सिर्जित हेलचेक्र्याइँ
रुसी पक्षले राष्ट्रपति पुटिन रहेकै होटलमा भएकाले भेटवार्ताको प्रबन्ध गरेको थियो। पुटिन ओलीसँगको भेटवार्तामा दोभासे सहित प्रस्तुत भए। पुटिनले अनुवादकको सहयोग लिन चाहेकाले उनी बस्ने कुर्सीकै छेउमा दोभासेका लागि छुट्टै कुर्सीको व्यवस्था थियो।
वार्ताभर पुटिन रुसी भाषामा बोले, अनुवादकले त्यसलाई अंग्रेजीमा अनुवाद गरेर ओलीलाई सुनाए। ओलीले अंग्रेजीमा बोलेका कुरा पनि तिनै अनुवादकले रुसी भाषामा अनुवाद गरेर पुटिनलाई सुनाए।
पुटिनले अंग्रेजी बोल्दैनन् र बुझ्दैनन् भन्ने होइन। एससीओ शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति पुटिन र भारतीय राष्ट्रपति नरेन्द्र मोदीबीच बेला–बेला सामूहिक भेट हुँदा कुराकानीका लागि अंग्रेजी भाषाकै प्रयोग भएको हो।
तर पनि द्विपक्षीय कुराकानीमा रुसी भाषाको प्रयोग गर्नु पुटिनले उचित सम्झे। अंग्रेजीमा उनको राम्रै पकड छ भन्ने ओलीसँगको वार्ताको भिडिओ हेर्दा पनि देखिन्छ। जस्तो कि, एक पटक ओलीको भनाइ सकिनासाथ त्यसको अनुवाद नहुँदै पुटिनले आफ्नो तर्फबाट जवाफ दिएका छन्।
पुटिन अंग्रेजीमा कमजोर थिए भने ओलीले बोलिसक्नासाथ त्यसको अनुवाद नहुँदै जवाफ दिने थिएनन्।
तर, ओली भने अनुवादकको सहयोग बिना पुटिनसँगको वार्तामा सहभागी हुन चाहे। त्यहीकारण पुटिनजस्तो ओली बस्ने कुर्सी पछिल्तिर अर्काे कुर्सी राख्न रुसी पक्षले आवश्यक ठानेन।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका भनाइमा ओलीमा ‘म राम्रो अंग्रेजी बोल्छु’ भन्ने यति बढी आत्मविश्वास छ कि यस्ता वार्तामा आफ्नो तर्फबाट अनुवादक राखेर कुराकानी गर्न उनी खासै रुचाउँदैनन्।
सोभियत संघकालमा राष्ट्रपतिकै तहबाट नेपाल भ्रमण भए पनि ओलीले ‘कूटनीतिक सम्बन्ध स्थापना भएपछि स्टेट लिडर वा शीर्ष तहबाट नेपालमा भ्रमण भएको आफूलाई जानकारी नभएको’ बताउनु त्यसैको परिणाम थियो।
जानकारी अनुसार पुटिन–ओली वार्ता प्रतिनिधिमण्डल स्तरमा हुने मोटामोटी सहमति थियो। त्यसका लागि परराष्ट्र मन्त्रालयका अधिकारीहरूले टकिङ नोट (कुराकानीमा उल्लेख हुने विषयवस्तुसहितको बुँदा) पनि तयार पारिसकेका थिए।
प्रतिनिधिमण्डलस्तरमा वार्ता हुँदा आमने–सामने हुने दुवै मुख्य नेताले आफ्नो अगाडि टेबुलमा राखिएको ‘टकिङ नोट’ को सहारा लिएर वार्ता गर्ने प्रचलन हुन्छ। चिनियाँ राष्ट्रपतिसँगको प्रतिनिधिमण्डलस्तरीय वार्तामा ओलीले त्यसै गरेका हुन्।
तर, इरानी राष्ट्रपतिसँगको कुराकानी लम्बियो, जसले गर्दा पुटिन समयको चापमा परे। त्यही कारण पूर्वसहमति बमोजिम प्रतिनिधिमण्डलस्तरमा हुने भनिएको वार्ता दुई शीर्ष नेताबीच ‘एक्लाएक्लै’ हुने भयो। नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरूले भने त्यही हलको अर्काे छेउमा रहेर पुटिन–ओलीबीचको वार्ता हेरे।
तर, अंग्रेजी औसतस्तरको रहे पनि अधिक आत्मविश्वासमा कारण ओलीले अनुवादकको सहयोग लिन चाहेनन्, जसका कारण नेपाल–रुस सम्बन्धको एक महत्वपूर्ण विषयमै ओली चुक्न पुगे।
अनुवादकको सहायता लिँदा यसरी चुक्ने सम्भावना कम हुन्छ। प्रधानमन्त्री वा राष्ट्राध्यक्षको भनाइमा गलत तथ्य परेका छन् भने अनुवादकले सच्याएर अर्काे पक्षलाई सुनाइदिन सक्छन्। यताबाट हाम्रा प्रधानमन्त्रीले नेपालीमा बोलेका कुरा समकक्षी प्रधानमन्त्री वा राष्ट्रपतिले बुझ्ने कुरा पनि हुँदैन।

ओलीको भ्रमण दलमा पनि परराष्ट्र मन्त्रालयका एक से एक उच्च अधिकारी संलग्न थिए, जसले सहजै अनुवादकको काम गर्न सक्थे। भ्रमण दलमा परराष्ट्रसचिव अमृत राई, चीन मामिला हेर्ने परराष्ट्र मन्त्रालयका उत्तर–पूर्वी महाशाखा प्रमुख भृगु ढुङ्गाना, बेइजिङस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल लगायतका सहसचिवस्तरका अधिकारी समावेश थिए।
ओलीको अधिक आत्मविश्वासका कारण उनको गुनासोमिश्रित गलत तथ्य रुसी पक्षले अंग्रेजीमा जस्ताको तस्तै सुन्यो।
रुसी राष्ट्रपति पुटिन भने पक्कै पनि ओलीजस्तो बेपर्वाह बनेर वार्तामा बसेका थिएनन्। पक्कै पनि उनलाई नेपाल–रुस (तत्कालीन सोभियत संघ) बीच विगतमा भएका उच्चस्तरीय भ्रमणबारे जानकारी गराइएको थियो। पुटिनले भेटवार्ताको छोटो समयमा व्यवस्थित रूपले भन्नुपर्ने सबै कुरा भनेका छन्। उनका सहयोगीले गरिदिएको अनुवाद सुन्दा पुटिनले भन्नुपर्ने कुरा छुटाएका छैनन्, गलत तथ्य पनि सुनाएका छैनन्।
ओलीले पनि नेपाली बोलेर अंग्रेजी अनुवाद परराष्ट्र मन्त्रालयका कुनै अधिकारीलाई गर्न लगाएको भए ‘नेपाली प्रधानमन्त्रीलाई तत्कालीन सोभियत संघका राष्ट्रपतिको भ्रमणबारे नै जानकारी रहेनछ’ भन्ने कुरा राष्ट्रपति पुटिनलाई थाहा हुने थिएन।
ओलीसँगको कुराकानीमा राष्ट्रपतिको ‘बडी ल्याङ्ग्वेज’ हेर्दा राष्ट्रपति पुटिन नेपाल भ्रमण गर्न इच्छुक छन्’ भन्ने अनुमान गर्न सकिन्छ। रुसी राष्ट्रपतिको नेपाल भ्रमण हुनसक्यो भने त्यसलाई प्रधानमन्त्री ओलीको कूटनीतिक सफलता नै मान्नुपर्छ।
तर, साँच्चै नेपाल भ्रमणमा आउने नै भए भने उनले रुसी (तत्कालीन सोभियत संघ) पक्षबाट भएका नेपाल भ्रमणको सूची एकपटक पक्कै हेर्नेछन्, राष्ट्रपतिले भोरोशिलोभले गरेको नेपाल भ्रमणको विवरण पढ्नेछन्। त्यसक्रममा तियान्जिनमा ओलीको ‘रुसका कुनै पनि शीर्ष नेताले अहिलेसम्म नेपाल भ्रमण गरेका छैनन्’ भन्ने गुनासो सम्झे भने पुटिनले के ठान्लान्!
Shares

प्रतिक्रिया