नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजसम्बन्धी अवधारणा अघि सारेका छन्।
उनको ९८ पृष्ठ लामो राजनीतिक प्रस्तावका अन्तिम ८ पृष्ठ यसैमा केन्द्रित छन्। उनले समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारा पनि यसै अवधारणाअन्तर्गत राखेका छन्।
विद्या भण्डारी पक्षधर नेताहरूले यसअघि मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) विस्थापित गर्न ओलीले यो नेपाली विशेषताको समाजवाद अघि सारेको ठानेका छन्। त्यसैले उनीहरूले ओली जबजमा क्षति पुर्याउन लागिरहेको आरोप लगाउँदै आएका छन्।
के छ त ओलीले अघि सारेको नेपाली विशेषताको समाजवादमा?
हेर्नुहोस् राजनीतिक प्रस्तावमा उल्लिखित नेपाली विशेषताको समाजवाद सम्बन्धी अंश:
हरेक मुलुकको विशिष्ट इतिहास, संस्कृति, सामाजिक-आर्थिक विकासको स्तर र विशेषताका कारण क्रान्तिको बाटो पनि मौलिक हुन्छ र समाजवाद निर्माणको ढाँचा पनि विशिष्ट प्रकृतिको। हरेक समष्टि व्यष्टिमा अभिव्यक्त हुन्छ र हरेक व्यष्टिमा समष्टि अन्तरनिहित हुन्छ भन्ने द्वन्द्वात्मक भौतिकवादको मान्यता क्रान्ति र समाजवाद निर्माणको प्रक्रियामा पनि लागू हुन्छ।
नेपालको संविधानमै राज्यको चरित्र समाजवाद उन्मुख र अर्थतन्त्रको दिशा समाजवाद उन्मुख भन्ने घोषणा भएसँगै समाजवाद अब कुनै सुदूर कल्पनाको विषय रहेन। यो हामीले पछ्याउनु पर्ने र योजनाबद्ध ढङ्गले निर्माण गर्दै जानु पर्ने राष्ट्रिय अभिभाराको विषय बनेको छ।
नेपाली विशेषता
कोही भने राज्य नियन्त्रित समाजवाद र सर्वहारा अधिनायकत्वको नाममा असफल सिद्ध भइसकेको ढाँचाको धङधङीमा देखिन्छन्। हाम्रो समाजवाद सोभियत सङ्घ र त्यसलाई अन्धानुकरण गरेर आम रूपमा पूर्व समाजवादी देशहरूमा लागू गरिएको 'सोभियत मोडेल' को समाजवाद होइन। 'प्रजातान्त्रिक समाजवाद' का पक्षधरहरूसँग असमान सम्पत्ति सम्बन्धको विकल्प के हो, श्रमजीवी वर्गको साँचो मुक्तिको बाटो के हो र नवउदारवादको तीव्र प्रहारका बिचमा समाजवादको रक्षाको बाटो के हो भन्ने कुनै पनि प्रश्नको जवाफ छैन। यतिबेला त्यो नउवदारवादी पुँजीवादको एउटा अङ्गको रूपमा निम् र अकर्मण्य बनेको छ।
हाम्रो समाजवाद त्यस प्रकारको समाजवाद पनि होइन। हामी यस विषयमा स्पष्ट छौँ।
हाम्रो सन्दर्भमा समाजवादी प्रणाली मूलत: लोककल्याणकारी चरित्रको, खुला, प्रतिष्पर्धी एवं आर्थिक- सामाजिक न्याय र समानतालाई आत्मसात गरेको अर्थ राजनीतिक प्रणाली हो भनेर हामीले विगतमा स्पष्ट पारिसकेका छौं। सशस्त्र क्रान्तिका माध्यमबाट स्थापित भएका र कम्युनिष्ट पार्टीको नेतृत्वको संवैधानिक प्रबन्ध भएका मुलुकहरूका समाजवाद निर्माणका अनुभवसँग हाम्रा सन्दर्भ मेल खाँदैनन्। हामीले नेपाली विशेषता सहितको समाजवाद निर्माणको मौलिक ढाँचा अन्वेषण र विकास गर्नुपर्छ भनेर पनि जोड दिएका छौं।
समाजवाद यस्तो राज्य प्रणालीको नाम हो, जहाँ मानिस मानिसबीचका विभेदहरू अन्त्य हुन्छन्। असमानताहरू रहन सक्छन्, तर विभेद हुने छैनन्। कोही वैभवको शिखरमा रमाइरहने र कोही आधारभूत जैविक र मानवीय आवश्यकताबाट पनि वञ्चित हुने स्थितिको अन्त्य भएको हुनेछ। सम्पत्तिको अत्यधिक केन्द्रीकरणलाई नियमन गर्दै उत्पादनका साधनहरूमाथि जनताको पहुँचलाई सुनिश्चित गरिएको हुनेछ।
प्रत्येकलाई कामको प्रत्याभूति र परिश्रमको उचित प्रतिफल निश्चित गरिएको हुनेछ। राज्य जनताप्रति जिम्मेवार हुनेछ। कुनै कानुनका कारण वाध्यात्मक जिम्मेवारी होइन, ऊ जनताप्रति नैसर्गिक रूपमै जिम्मेवार हुनेछ। जनता र राज्यप्रतिको कत्र्तव्यबोधबाट निर्दिष्ट हुनेछ। प्रतिस्पर्धा गर्न नसक्ने, श्रम गर्न र आफ्नो जीविकोपार्जन गर्न नसक्नेहरूको दायित्व राज्यले कुनै न कुनै हिसाबले लिनेछ। सामाजिक न्याय र सुरक्षा राज्यको अनिवार्य दायित्व हुनेछ। राज्यले गरिबीको अन्त्य र हरेक नागरिकलाई मानवोचित र मर्यादापूर्ण जीवनको प्रत्याभूति दिलाउन योजनाबद्ध रूपमा काम गर्नेछ। सार्वजनिक क्षेत्रको प्रभावकारी भूमिका हुनेछ, तर निजी क्षेत्र र सहकारी तथा सामूहिक अर्थतन्त्रले पनि राष्ट्रको समृद्धिमा समन्वयात्मक ढङ्गले काम गर्नेछन्।
नेपाली विशेषतासहितको समाजवादले प्रतिस्पर्धात्मक, जनमुखी र पारदर्शी आर्थिक नीति अवलम्बन गर्नेछ। नयाँ प्रगतिशील उत्पादन सम्बन्धको विकासमा सहयोग, उत्पादक शक्तिको विकास, श्रमजीवी वर्गलाई आर्थिक न्याय र सुखद् जीवनयापनको सुनिश्चितता, आर्थिक उत्पादनको प्रचुरता, समन्यायिक वितरण, सहकारिताको सही प्रयोग, पर्यावरणको रक्षा, श्रमलाई प्रोत्साहन तथा उन्नयन, नवप्रवर्तन र नवअन्वेषणलाई निरन्तर प्रेरित गरिनेछ। विश्व मानव समुदायले विकास गरेका नवीनतम प्रविधिलाई आवश्यकता अनुरूप ग्रहण गर्दै तीव्र आर्थिक विकास सुनिश्चित गरिनेछ।
नेपाली समाजको विशेषताको रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्यका साथ अगाडि बढाइनेछ। एकरूपतामा एकता होइन, विविधतामा एकतालाई प्रबर्द्धन गरिनेछ।
विश्व कम्युनिष्ट आन्दोलन र समाजवादी प्रणालीहरूका अनुभवहरूलाई ध्यानमा राख्दै कम्युनिष्ट पार्टीलाई निरन्तर जनताको बिचमा स्थापित गर्ने, जनताको सुखदु:खको साथी र सच्चा प्रतिनिधिका रूपमा यसको चरित्रलाई अक्षुण्ण राख्ने, राज्यको नेतृत्व गरिरहँदा उत्पन्न हुन सक्ने भ्रष्टाचार र नोकरशाहीको जोखिमबाट बचाउन निरन्तर शुद्धीकरण गरिनेछ।
नेपाली इतिहासका गौरवपूर्ण पक्षहरू, संस्कृतिका जीवन्त आयामहरू र नेपालीपनलाई प्रबर्द्धन गर्ने काम गरिनेछ। समाजवादलाई कुनै आकस्मिक, पराई या शून्यबाट सिर्जित व्यवस्था होइन, नेपाली इतिहासको हजारौँ वर्षको विकासको स्वाभाविक परिणतिका रूपमा, त्यसको निरन्तरता र उत्तराधिकारीका रूपमा विकास गरिनेछ।
राष्ट्रिय हितको रक्षा, राष्ट्रिय स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकास समाजवादका अनिवार्य कार्यभार हुनेछन्।
परिपूर्ण लोकतन्त्र
नेपाली विशेषताको समाजवादको एउटा महत्वपूर्ण पक्ष हो यसले लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताहरूलाई आत्मसात गर्नेछ। संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार, शक्ति पृथकीकरण र आवधिक निर्वाचन जस्ता विषयहरू राज्यसञ्चालनका अभिन्न विषय हुनेछन्। दलहरू बिचको प्रतिस्पर्धा सुनिश्चित गरिनेछ। जनताको अभिमतबाट मात्रै शासन सञ्चालन गर्ने, निर्वाचित सत्ता नहुने कुराको प्रत्याभूति गरिनेछ।
समाजवादी लोकतन्त्रलाई पुँजीवादी लोकतन्त्रभन्दा हरेक आयाममा अझ उन्नत, सुसंस्कृत र सार्थक बनाउने प्रयासहुने छ। नागरिकहरूको अभिव्यक्ति, आलोचना वा विरोध, सिर्जना र व्यक्तिगत स्वतन्त्रतालाई प्रत्याभूत गरिनेछ। राज्य सञ्चालनमा आम जनसमुदायको संस्थागत सहभागिता एवं निर्णायक भूमिकालाई सुनिश्चित गरिनेछ।
हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौं। यस्तो लोकतन्त्रका पक्षमा होइन, जहाँ अधिकारका नाममा पाँच वर्षमा एक पटक भोट हाल्ने र बोल्ने, लेख्ने, सभा सङ्गठन गर्न पाउने औपचारिकतामा सीमित हुनु परोस्। आधारभूत आवश्यकता पूरा भएन भने जनताका लागि यस्तो लोकतन्त्र कागलाई बेल पाके जस्तो बन्न पुग्छ। हामी यस्तो लोकतन्त्रको पक्षमा छौं, जहाँ आम नागरिकलाई अधिकार बराबर हुनेछ। अवसरमा पहुँच समान हुनेछ। सुरक्षा र सम्मानमा बराबरी हक हुनेछ।
राज्य साँचो अर्थमा जनताको हुनेछ। राज्यका उपलब्धिमा जनताको हक हुनेछ।
समृद्ध नेपाल, सुखी नेपाली
मानव जातिको अन्तिम उद्देश्य सुख प्राप्त गर्नु हो र समृद्धि हासिल गर्नु त्यसको अनिवार्य पूर्व शर्त हो। राष्ट्र समृद्ध हुनु र जनता सुखी हुनु नै समाजवादको लक्ष्य हासिल हुनु हो।
नेपाली मौलिकता सहितको यस समाजवादलाई हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा र गन्तव्यका रूपमा पनि व्याख्या गर्न सक्छौँ।
समृद्धिलाई बृहत् नेपाली शब्दकोशले 'समृद्ध हुनुको भाव वा अवस्था, सम्पन्नता। उन्नति, अभ्युदय, बढि बढाउ' भनेर अर्थ्याएको छ। त्यसै गरी समृद्ध शब्दलाई 'धनधान्य आदिले सम्पन्न, पुगीसरी आएको, उन्नतिशील, उन्नत' भनेर परिभाषित गरिएको छ। विश्वव्यापी परिभाषामा पनि समृद्धिलाई सफलता, प्रगति हासिल गरिरहेको अवस्था या आर्थिक खुशहालीको अर्थमा व्याख्या गरिएको छ।
त्यसैगरी सुखलाई नेपाली बृहत् शब्दकोशले 'शारीरिक र मानसिक आनन्दको अनुभव, सबै चाँजोपाँजो मिलेर हुने प्रिय या अनुकूल अनुभूति, आनन्द, हर्ष। ... मनोकामना पूरा हुँदा मनमा हुने खुसियाली, प्रिय वस्तुको प्राप्तिबाट हुने आनन्दको अनुभव सुविधा, सुविस्ता समृद्धि, उन्नति। कल्याण, मङ्गल। निरोगी अवस्था, आरोग्य।' आदिका रूपमा व्याख्या गरेको छ। 'ह्याप्पिनेस' लाई अङ्ग्रेज कोशकारहरूले खुशहाली या तृप्तिको अवस्था, आनन्द या सन्तुष्टिको अवस्थाका रूपमा अर्थ्याएका छन्।
हामीले विश्वव्यापी रूपमा स्वीकृत परिभाषाको दायराभित्रै समृद्धि र सुखको कुरा गरिरहेका छौं।
समृद्धि भनिरहँदा हामीले कूल गार्हस्थ्य उत्पादनको वृद्धिलाई आधार बनाएर त्यसको औसतलाई मापन गरिरहेका छैनौँ। यदि समृद्धिले प्रत्येक नागरिकलाई सम्बोधन गर्न सकेन, उनीहरूका आधारभूत जैविक र मानवीय आवश्यकताहरूको परिपूर्ति गर्न सकेन भने आँकडामा देखिने औसत प्रतिव्यक्ति आय या कूल ग्राहस्थ उत्पादन वृद्धिको खास अर्थ हुँदैन। त्यसैले हामी आम नागरिकले सापेक्षित सन्तुष्टि पाउन सक्ने समृद्धिको बहस गरिरहेका छौं।
पन्ध्रौं पञ्चवर्षीय योजना निर्माण गरिरहँदा हामीले २५ वर्षे दीर्घकालीन सोच पनि तर्जुमा गरेका छौं। विसंको एक्काइसौँ शताब्दीको अन्त्यसम्ममा नेपाललाई समुन्नत राष्ट्र निर्माण गर्नका लागि त्यस योजना र दीर्घकालीन सोचमा समृद्धिका चारवटा आयामहरू पहिचान गरिएको छ। ती सर्वसुलभ आधुनिक पूर्वाधार एवं सघन अन्तर-आबद्धता, मानव पुँजी निर्माण एवं सम्भावनाको पूर्ण उपभोग, उच्च र दिगो उत्पादन तथा उत्पादकत्व एवं उच्च र समतामूलक राष्ट्रिय आय।
त्यसै गरी निर्क्योल गरिएका सुखका ६ वटा आयामहरू हुन्- परिष्कृत तथा मर्यादित जीवन, सुरक्षित, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ्य र सन्तुलित पर्यावरण, सुशासन, सबल लोकतन्त्र र राष्ट्रिय एकता, सुरक्षा र सम्मान। यी आयामहरूमा थपघट गर्न सकिन्छ, तर आधारभूत रूपमा समृद्धि र सुखका लागि यी विषयहरू धेरै महत्वपूर्ण छन्।
सामान्यतः समृद्धिलाई मापन गर्न सकिन्छ। जस्तो कि जनताको जीवनमा के परिवर्तन आयो? औसत आयु, साक्षरता या मातृ शिशु मृत्युदरमा के सुधार देखियो? सबै नागरिकले आवास सुविधा पाए? खाद्य सुरक्षाको पूर्ण प्रत्याभूति भयो? बालबालिकाहरू स्कुल गइरहेका छन्?
नागरिकले स्वास्थ्य सुविधा उपभोग गर्न पाएका छन्? आदि। सुख चाहिँ मनोगत विषय हो, यो अनुभूतिजन्य विषय हो। तर यो कतिपय धार्मिक अगुवाहरूले भने जस्तो लौकिक सम्मोहनबाट मुक्त भएर पारलौकिक चिन्तनले प्राप्त हुने अनुभूति या सन्तुष्टिको विषय होइन। समृद्धिले सुखको आधार तयार गर्छन्। यदि नागरिकलाई खाने, बस्ने, ओत लाग्ने जस्ता आधारभूत जैविक विषयको चिन्ता छैन भने, उनका लागि पर्याप्त पोषण र अनुकूल वातावरण उपलब्ध छ भने, नानीहरूलाई कसरी पढाउने होला, विमारी पर्दा कसरी उपचार गर्ने होला या ऋण कसरी तिर्ने होला भन्ने सामाजिक चिन्ताहरूबाट मुक्त छन् भने उनले सुखको अनुभूति गर्नेछन्। समाजमा पाइने समान मर्यादा, सुरक्षाको ढुक्क प्रत्याभूति र अधिकारको समानताले सुखलाई प्रत्याभूत गर्छन्। त्यसैले सुख मनोगत विषय भए पनि यो भौतिक परिस्थिति (समृद्धि) सँग अविभाज्य ढङ्गले जोडिएको छ।
सबै जीवजस्तै मानिसको पनि पहिलो सहजवृत्ति सुरक्षाको खोजी हो। जैविक आवश्यकताको पूर्ति हो। तर मानिस चेतनशील प्राणी हो। त्यसैले ऊ त्यत्तिमै सीमित रहन सक्दैन। त्यसैले उसले सम्मान खोज्छ, अधिकार खोज्छ। जैविक र मानवीय न्यायोचित आवश्यकताहरूको सहज परिपूर्ति नै सुख हो।
समाजवादी प्रणाली निर्माण गर्ने या यसका आधार तयार गर्ने क्रममा कैयौं विषयहरू भोलि अनुभवका क्रममा समृद्ध बन्दै जालान्। आजका सन्दर्भमा हामीले समाजवाद उन्मुख शासन प्रणालीभित्र देहायका विषयहरूलाई सुनिश्चित गर्नैपर्छ, जसलाई हामीले दशौँ महाधिवेशनमै निर्दिष्ट गरेका छौं-
- उत्पादनका साधनमा सबैको पहुँच,
- ल्याकत अनुसारको काम, उपयुक्त पारिश्रमिक,
- स्वाधीन अर्थप्रणालीको विकास,
- नागरिकहरूले माध्यमिक तहसम्मको शिक्षा, आधारभूत स्वास्थ्य र अन्य सामाजिक सेवाहरू सर्वसुलभ ढङ्गले पाउने प्रबन्ध,
- प्रगतिशील कर प्रणाली,
- लोककल्याणकारी राज्यको स्थापना। सर्वव्यापी सामाजिक सुरक्षा,
- सबै खाले विभेदको अन्त्य एवं समतामूलक, न्यायपूर्ण र सभ्य समाजको निर्माण,
- अनुकूल उत्पादन सम्बन्धको विकास,
- आवश्यकता अनुसार विदेशी पुँजी र प्रविधिको समेत उपयोग गरेर तीव्र आर्थिक विकास।
हामीले प्रस्ताव गरेको समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा संयुक्त राष्ट्र सङ्घको बडापत्र, नागरिक र राजनीतिक अधिकार बारेको अभिसन्धी, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार बारेको अभिसन्धी र दिगो विकास लक्ष्य २०३० का आम भावनासँग मिल्दाजुल्दा छन्। कोही पछाडि नपरुन् भन्ने संयुक्त राष्ट्र सङ्घको आह्वानसँग यसको भावना मिल्छ। हाम्रा पूर्खाहरूले भन्ने गरेको 'सर्वे भवन्तु सुखिन:' को भावनालाई पनि यसले आत्मसात् गरेको छ।
यसैको जगमा उभिएर हामीले आगामी दिनमा राष्ट्रको विकासलाई तीव्रता दिने, सुशासनको प्रत्याभूति गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्दै समाजवादका आधार निर्माण गर्नेछौं। त्यसका लागि-
आर्थिक कार्यदिशा- सामन्तवादका अवशेषको अन्त्य, नोकरशाही तथा दलाल पुँजीवादी शोषणको उन्मूलन, सामूहिकतामा आधारित उत्पादक शक्ति, उत्पादकत्व एवं उत्पादन वृद्धि, आय र अवसरको न्यायोचित वितरणसहितको विकास, गरिबी, बेरोजगारी, असमानता एवं परनिर्भरताको अन्त्य, आत्मनिर्भर अर्थतन्त्रको विकास र समग्रमा समाजवाद उन्मुख राष्ट्रिय औद्योगिक आर्थिक क्रान्ति।
कामको केन्द्रबिन्दु– राष्ट्रिय पुँजी निर्माण, आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरणका माध्यमबाट कृषिको उत्पादकत्व वृद्धि एवं किसानहरूको हितको रक्षा। कृषिमा आश्रित ठूलो जनसङ्ख्यालाई क्रमश: औद्योगिक, व्यवसायिक र सेवामूलक क्षेत्रमा स्थानान्तरण गर्दै कृषिलाई श्रम- सघन, यन्त्रीकृत र आधुनिक बनाउने।
प्राथमिकता- कृषि पेशाबाट बाहिरिएको, प्रारम्भिक शिक्षा हासिल गरेको र सूचना प्रविधिका माध्यमले एकहदसम्म विश्वसँग परिचित युवा शक्तिलाई रोजगारीका अवसर र उत्पादक शक्तिको उच्चतम विकासका आधार निर्माण। उर्जाशील श्रम शक्ति बाहिर जाने, जोखिमपूर्ण काम गर्न वाध्य हुने, अर्कातिर देशभित्र श्रमशक्तिको अभाव हुने विरोधाभाषपूर्ण स्थितिको अन्त्य। उपभोक्तावादी बन्दै गएको समाजलाई उत्पादनशील समाजमा रूपान्तरण।
समानता र सुशासन- बढ्दो आर्थिक विषमता र परनिर्भरताको अन्त्य, अनियन्त्रित उदारीकरण र निजीकरणका कारण खुम्चिएको राज्यको भूमिकामा वृद्धि, सशस्त्र द्वन्द्वले कमजोर बनाएको राज्य प्रणालीको सुदृढीकरण तथा राजनीतिक सङ्क्रमण र अस्थिर सरकारका कारण राज्यको स्रोत साधन र अवसरको दोहनमाथि नियन्त्रण । राजनीतिक संरक्षणमा हुर्किएको कमिसनतन्त्र र भ्रष्टाचारको नियन्त्रण। बिचौलियाको प्रभाव अन्त्य गर्ने र अर्थतन्त्रमा जनताको हिस्सा वृद्धि। उपभोक्ताको हित। खानी, जलस्रोत र जमीन लगायतको लाभ सीमित व्यक्तिको हातमा रहेको वर्तमान स्थितिको अन्त्य। सार्वजनिक यातायात लगायत क्षेत्रमा राज्यको उपस्थिति वृद्धि।
सामाजिक न्याय- जातीय विभेद र छुवाछुत विहीन मानव मर्यादायुक्त समाज। यसका लागि सशक्त जागरण अभियान। दलित समुदायका लागि उत्पादनका साधनमा पहुँच र गरिबी अन्त्य गर्ने ठो कार्यक्रम। साक्षरता, औसत आयु, मानव विकास सूचकाङ्क सबैमा औसत राष्ट्रिय स्तर हासिल गर्न विशेष व्यवस्था। राजनीतिक प्रतिनिधित्वमा क्रमशः वृद्धि र सार्वजनिक प्रशासन, न्यायसेवा, सुरक्षा निकाय र वित्तीय संस्थामा प्रतिनिधित्व अभिवृद्धि। शिक्षा र स्वास्थ्य क्षेत्रमा देखा परेको व्यापारीकरणको अन्त्य।
लैङ्गिक समावेशिताका दिशामा हासिल उपलब्धिलाई सुदृढ गर्दै लैङ्गिक समानता हासिल गर्नेतिर योजनाबद्ध प्रयास। अझै पनि कायम रहेका बोक्सी, छाउपडी, दाइजो लगायत विकृतिको अन्त्य। परम्परागत तरिका र आधुनिक प्रविधिको दुरूपयोग समेतबाट बढिरहेको महिला हिंसाको अन्त्य। आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक सबै हिसाबले समानताको लक्ष्य।
सहकार्य- मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षा, वाह्य सम्बन्ध, ठूला पूर्वाधार र परियोजनाहरू, शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण लगायत सामाजिक क्षेत्र तथा आर्थि विकासलाई गति दिन राज्यको नेतृत्वदायी भूमिका। निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापन र रोजगारी सिर्जना लगायत क्षेत्रमा निजी क्षेत्रको गतिशील भूमिका सहकारी र समूहहरू मार्फत् छरिएको पुँजी एकत्रित गर्दै अर्थतन्त्रमा जनताको सहभागिता वृद्धि। सबल र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गरी राष्ट्रियता सुदृढ बनाउने।
भूअर्थनीति र समन्वय- विश्वको राजनीतिक र आर्थिक शक्ति सन्तुलनमा आइरहेको परिवर्तन, क्षेत्रीय सहयोगका नयाँ संस्थाहरूको विकास, नयाँ वित्तीय संस्थाहरूको स्थापना र जी-२० समूहमा एसियाली मुलुकहरूको बढ्दो सहभागिता आदिले सिर्जना गरेका भूअर्थनैतिक प्रभावलाई ध्यानमा राख्ने। | सूचना- प्रविधिको विकासमा भएको अभूतपूर्व विकास, चौथो औद्योगिक क्रान्तिले ल्याएको प्राविधिक क्रान्ति र रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, थ्रिडी प्रिन्टिङ आदिले श्रम, उत्पादन र उत्पादन सम्बन्धमा ल्याएको अकल्पनीय परिवर्तनका अवसर र जोखिमको आँकलन सही नीतिको तर्जुमा। जलवायु परिवर्तनका नयाँ चुनौतीले मानव जाति र हाम्रो पृथ्वीको भविष्यमाथि नै खडा गरेको चुनौतीलाई केन्द्रबिन्दुमा राख्ने। शान्ति, स्थायित्व, र विकासका लागि छिमेकीहरूसँगको सम्बन्धलाई केन्द्रमा राख्दै विश्वका सबै मुलुकहरूसँग सम्बन्ध सुदृढ गर्दै लैजाने।
विकासको दीर्घकालीन सोच- आर्थिक, सामाजिक, सांस्कृतिक एवं वातावरणीय दृष्टिले विकसित, समृद्ध र समाजवादी नेपाल नै सुखी नेपालीको राष्ट्रिय गन्तव्य। हाम्रो बीस वर्ष लक्ष्य 'नेपाललाई अल्पविकसित मुलुकबाट उच्च-मध्यम आयस्तर सहितको समाजवाद-उन्मुख सबल राष्ट्र बनाउने। यसका लागि (क) लोकतान्त्रिक मूल्य मान्यतामा आधारित स्वाधीन, आत्मनिर्भर, समतामूलक, शान्तिपूर्ण र सद्भावयुक्त समाजवाद-उन्मुख राष्ट्र निर्माण प्रक्रियालाई संस्थागत गर्ने, (ख) उच्च ज्ञान, सीप र प्रविधिमा आधारित आधुनिक, प्रतिस्पर्धी तथा गतिशील आर्थिक व्यवस्थाको माध्यमबाट दुई अंक वा त्यस नजिकको आर्थिक वृद्धिदर हासिल गर्ने, र (ग) आधारभूत भौतिक तथा सामाजिक संरचनाको विस्तार, शिक्षित, सीपयुक्त, दक्ष तथा उत्पादक जनशक्तिको विकासमा सार्वजनिक क्षेत्रको भूमिकालाई प्रभावकारी तुल्याउँदै मुलुकलाई समाजवाद तर्फ लैजान संस्थागत, नीतिगत र कार्ययोजनागत संरचना तयार पार्ने।
आगामी १० वर्षमा प्रतिव्यक्ति वार्षिक आय कम्तीमा ४ हजार अमेरिकी डलर र विसं २०९९ सम्ममा प्रतिव्यक्ति वार्षिक आय १३ हजार अमेरिकी डलर पुऱ्याउने। उच्च आम्दानी र गुणस्तर जीवनशैली र सुरक्षित मातृत्व एवं बालमृत्युदरमा न्यूनताका कारण औसत आयु ८० वर्ष पुग्ने। सबै नागरिक कम्तीमा माध्यमिक शिक्षा हासिल गरेका हुने र अधिकांश स्वास्थ्य सेवा देशभित्रै सर्वसुलभ भएको हुने।
गरिबीको अन्त्य र मर्यादित जीवन- निरपेक्ष गरिबीको रेखाबाट सबै नागरिक माथि उठेका हुने। सबै नागरिक कुनै न कुनै प्रकारले आधारभूत सामाजिक सुरक्षाको दायरामा आएको हुने। देशमा खाद्यान्न, औषधी उपचार, आधुनिक उर्जा तथा कामका अवसर सुनिश्चित भएको हुने। संविधान-प्रदत्त मौलिक अधिकारहरूको पूर्ण पालना भएको अवस्था हुने। कृषि अर्थतन्त्रबाट साना, मझौला र ठूला उद्योग-व्यवसाय र सेवा क्षेत्रप्रधान अर्थतन्त्रमा रूपान्तरित हुने। डिजिटल नेपालको अवधारणा लागू गर्दै सरकारी प्रशासन, व्यवसायिक क्षेत्र, सार्वजनिक तथा निजी सेवाहरू, अभिलेखहरू, तथ्याङ्क तथा वित्तीय कारोबारहरू डिजिटाइज्ड हुने। सम्पूर्ण आर्थिक तथा शासकीय व्यवस्था विद्युतीय सूचना प्रविधिमा आधारित हुने।
यसको प्राप्तिका लागि नीति र प्राथमिकता देहाय बमोजिम रहनेछन्-
सामाजिक सद्भाव, राष्ट्रिय एकता र सुदृढ लोकतन्त्र
आधुनिक कृषि र सम्पन्न किसान
राष्ट्रिय स्रोतहरूको अधिकतम सदुपयोग
देशभित्र रहेका खनिज पदार्थहरूको खोज, अध्ययन-अनुसन्धान, उत्खनन, प्रशोधन र प्रयोग
सहकारीताका माध्यमबाट नागरिकको आर्थिक उन्नयन
औद्योगिकीरण र अर्थतन्त्रको रूपान्तरण
राष्ट्रको समुन्नतिका लागि पर्यटन र संस्कृति
वन र वातावरणको संरक्षण, जलवायु अनुकूलन र विपद् व्यवस्थापन
विद्युत् तथा ऊर्जा विकासबाट समृद्धि
स्वच्छ खानेपानी
गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार
मर्यादित श्रम र सुरक्षित रोजगारी
निरोगी नेपाल
जीवनचक्रमा आधारित सामाजिक सुरक्षा
अन्वेषण, नवप्रवर्तन, सेवा र खेलकुदमा युवा
लैङ्गिक समावेशिता, समानता र सशक्तीकरण
सुरक्षित र सर्वसुलभ आवास
गतिशील अर्थतन्त्र र सेवाका लागि यातायात पूर्वाधार, हवाइ सेवा र जलमार्ग
समावेशी विकास
वर्गीय शोषण, जातीय विभेद र छुवाछुतको अन्त्यको प्रत्याभूति
स्वतन्त्र र जिम्मेवार प्रेस
भ्रष्टाचार र ढिलासुस्ती मुक्त शासन, सुशासन
उपभोक्ता हितको रक्षा
एउटै नेपाल सरकार, अधिकार सम्पन्न प्रदेश र स्थानीय सरकार
मौलिक राष्ट्रिय संस्कृति
राष्ट्रिय हित र स्वाभिमानको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र सन्तुलित बाह्य सम्बन्ध।
प्रिय कमरेडहरू,
हामीले अवलम्बन गर्ने सिद्धान्त, कार्यक्रम, कार्यदिशा र मुख्य नीतिहरू यिनै हुन्। यिनको कार्यान्वयनबाट हामी एकातिर निर्णायक राष्ट्रिय शक्तिका रूपमा पार्टीको विकास र सुदृढीकरण गर्नेछौं भने अर्कातिर समाजवादका आधार निर्माण गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्यतिर हाम्रो यात्रालाई तीव्र पार्नेछौँ। यसका लागि हामीलाई आज एकता, समझदारी र अझ उन्नत स्तरको एकता चाहिएको छ। पार्टीको दोस्रो विधान महाधिवेशनले यस दिशामा ऐतिहासिक कदम चाल्नेछ भन्ने विश्वास लिएको छु।
हार्दिक अभिवादन सहित,
केपी शर्मा ओली
अध्यक्ष
२० भदौ २०८२
Shares

प्रतिक्रिया