नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका केही पदाधिकारीहरूले वडा तहमा समेत चुनाव जिताउने हैसियत नराख्ने बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उनले पार्टीका केही पदाधिकारीहरूले कुरा ठूलाठूला गर्ने गरेको भएपनि वडा तहको समेत चुनाव जिताउन हैसियत राख्न नसक्ने अवस्था रहेको टिप्पणी गरेका हुन्।
उपमहासचिव ज्ञवालीले पार्टीका धेरै नेता, कार्यकर्ता धागो नभएको चंगा जस्तो माथिमात्रै रहने गरेको तर जनाधार नभएको पनि औँल्याए। पार्टीका कतिपय पदाधिकारी, केन्द्रीय सदस्यहरूले कुरा ठूला गरेपनि जनाधार नहुँदा चुनाव जिताउने हैसियत गुमाएको उनको निष्कर्ष थियो।
उपमहासचिव ज्ञवालीले पञ्चायत कालमा समेत जनमत बुझ्न राजा महेन्द्रले गाउँ फर्क अभियान चलाएको उल्लेख गर्दै पार्टीका नेता, कार्यकर्ताहरूले पनि जनाधार निर्माणमा विशेष ख्याल राख्नुपर्ने बताए।
उनले भने, ‘देशमा ६ हजार ७४३ वडा छन्। हाम्रो कम्तिमा पनि ८० प्रतिशत भन्दा बढी वडामा बलियो जनाधार छ। हाम्रो संगठन छ। वडा कमिटीहरू छन्। प्रत्येक नेताले आफ्नो वडा जिताई दिएको भए त दीग्विजयनै हासिल गर्थ्यौँ त हामीले। तर हामी कतिपय केन्द्रीय सदस्य हुँला, कतिपय पदाधिकारी हुँला, कति जिल्लाका नेताहरू हुँला–जसले आफ्नो वडा समेत जिताउन सक्दैनन्। कुरा चाहिँ ठूल्ठूला गर्दछन्।’
उपमहासचिव ज्ञवालीले नीति, विधि र व्यवहार सबै हिसावले जनतासँग एकाकार भएर मात्रै पार्टीलाई अघि बढाउन सकिने भएकाले सिंगो पार्टी पंक्ति सोहीअनुसार परिचालन हुन आवश्यक रहेको बताए।
Shares

प्रतिक्रिया