चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट हुन पाउँदा खुसी लागेको बताएका छन्। सीसँगको भेटपछि ओलीले सामाजिक सञ्जालमार्फत दोस्रोपटक भेट हुन पाउँदा खुसी लागेको बताएका हुन्।
'राष्ट्रपति सीलाई लगातार दोस्रो वर्ष भेट्न पाउँदा र फलदायी द्विपक्षीय वार्ता गर्न पाउँदा खुसी लाग्यो,' ओलीले भनेका छन्, 'हामीले विभिन्न मुद्दाहरूमा प्रगतिको समीक्षा गर्यौँ र द्विपक्षीय सहयोग बढाउन सहमत भयौँ।'
सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन आजै चीन पुगेका ओलीले निम्तोका लागि पनि सीलाई धन्यवाद दिएका छन्।
भोलिदेखि तियान्जिनमा शिखर सम्मेलन सुरु हुँदैछ।
आजको भेटमा ओलीले सीसँग नेपाली भूभाग लिपुलेकको विषयमा आपत्ति जनाउँदै कुरा गरेको पनि उनको सचिवालयले जानकारी दिएको छ।
भेटमा सँगै रहेका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई उदृत गर्दै ओलीको सचिवालयले लिपुलेकलाई व्यापारिक मार्ग बनाउन भारतसँग समहति गरेको विषयमा कुरा गरेको जनाएको छ।
त्यस्तै भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको उनको भनाइ छ।
भेटमा ओलीले सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालका भएको स्पष्ट रहेको र यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ विश्वास रहेको बताएको राईको भनाइ छ।
Shares

प्रतिक्रिया