राजनीति


‘विद्याले अध्यक्ष नै ताक्ने, ओलीले जसरी पनि छेक्न खोज्दा एमालेमा तमासा भयो’

‘विद्याले अध्यक्ष नै ताक्ने, ओलीले जसरी पनि छेक्न खोज्दा एमालेमा तमासा भयो’

सागर न्यौपाने
भदौ १३, २०८२ शुक्रबार २०:५४, काठमाडौँ

पूर्वराष्ट्रपति विद्या भण्डारी शीतल निवासबाट भंगाल सरेको कही महिना मात्र भएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा टेलिभिजन अन्तर्वार्ता दिए।

२०८० असोजमा दिइएको उक्त अन्तर्वार्तामा ओली पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फेरि आउन हुने र एमालेको अध्यक्ष पनि बन्न सक्ने प्रस्ट बताउँछन्। 

दुई वर्षअगाडिको उक्त अन्तर्वार्ताको मुख्यांश अहिले  सामाजिक सञ्जालमा भाइरल भएको छ। त्यसपछि ओलीले भण्डारीप्रति झनै क्रुद्ध अभिव्यक्ति दिएका छन्। 

भदौ ११ गते ओलीले एमाले काठमाडौँ जिल्लाका पदाधिकारीसहित विधान महाधिवेशन प्रतिनिधिलाई सरकारी निवास बालुवाटार बोलाएर २ घण्टा लामो प्रशिक्षण दिए। 

एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले बालुवाटारबाट बाहिरिएर ओलीले भनेका ४८ बुँदा सामाजिक सञ्जालमै सार्वजनिक गरे।  

तर, यसले प्रधानमन्त्रीको सचिवालयले २ मिनेटको भिडिओ पनि सार्वजनिक गरेको छ। भदौ १२ गते बाहिरिएको भिडिओमा ओली आक्रोशित देखिन्छन्। 

‘उहाँले (विद्या) पार्टीमा आएर अध्यक्ष उठ्दा जित्ने स्थिति छ? जित्नुहुन्न। हार्नुहुन्छ। अनि भीम रावलको तरिकाले चुनाव हार्ने, असन्तुष्ट हुने, खाँबो चिथोर्ने? यस्तो गरेपछि पार्टीले स्पष्टीकरण सोध्नुपर्ने हुन्छ,’ भिडिओमा ओली भन्छन्, ‘राष्ट्रपति भइसकेको व्यक्तिलाई स्पष्टीकरण सोध्नुपर्ने ठाउँमा पुर्‍याउने?’ 

ओलीको आक्रोश रोकिँदैन। उनी भण्डारी फर्किए नराम्रो हार व्यहोर्नुपर्ने चेतावनीको भाषा बोल्छन्।  

‘उहाँ केन्द्रीय कमिटीमा हार्नुभयो भने के हुन्छ? उहाँलाई अध्यक्ष दिन सकिँदैन, उहाँ चुनाव लड्नुभयो भने एकदम निश्चित कुरा के हो भने उहाँ हार्नु हुन्छ, नराम्ररी हार्नुहुन्छ,’ ओलीको थप भनाइ छ, ‘उहाँ हार्नुपर्छ पार्टीको हितको लागि, उहाँबाट पार्टी चल्न सक्तैन। लालगेडी भएर त चल्दैन नि, यो त संघर्षको मैदान हो नि।’

ओलीको उक्त अभिव्यक्ति पराजित मानसिकताको उपज भएको भण्डारी पक्षका नेताहरूको भनाइ छ। एक पदाधिकारीले ओलीको अभिव्यक्तिमा समस्या रहेको बताए।

‘हार्नुहुन्छ त्यसकारण उहाँको इज्जत जोगाएको रे, केपी ओली पनि आठौँमा हानुभएको हो। हार्छ, जित्छ भनेर अहिले नै घोषणा गर्न कसरी मिल्छ?’ ती एमाले पदाधिकारीले नेपालखबरसँग भने, ‘विधान महाधिवेशनका प्रतिनिधिलाई बालुवाटार बोलाएर त्यसो भन्नु पूर्णतः अधिकारको दुरुपयोग हो। यो राज्यशक्तिको दुरुपयोग हो। अघिपछि तिनै नेताले घण्टौँसम्म कुर्दा पनि भेट्न नपाउने, उहाँलाई चाहिँदा २ घण्टा राखेर कोही व्यक्तिविरुद्ध खनिने!’ 

ती नेताले पार्टीभित्रको अधिवेशन प्रभावित पार्नकै लागि बालुवाटारमा बैठक गर्न नपाइने बताए।  

‘विधान महाधिवेशनमा प्रतिवाद हुन्छ। यसबारे सम्पूर्ण हिसाबले कुरा उठ्छ,’ उनले थपे। 

भण्डारी पक्षमा खुलेका केन्द्रीय सदस्य कृष्णप्रसाद दाहालले त अध्यक्ष ओली अत्तालिएको बताए। 

‘उहाँ आत्तिनु भएको छ, नआत्तिने कुरै भएन। एकलौटी थियो, उहाँको विरुद्धमा प्रश्नै गर्न नपाइने अवस्थामा पुर्‍याउनुभएको थियो, माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड, वामदेव पनि नभएको पार्टी बनाएँ, अब म एकमात्र हुँ भन्ने थियो,’ दाहालले नेपालखबरसँग भने, ‘भण्डारी सक्रिय हुनेबित्तिकै त प्रश्न उठ्यो, अब परिस्थिति उहाँले जे पनि गर्न सकिन्छ भन्ने त भएन। त्यही भएर पार्टी सदस्यता खोसेको हो।’

आफ्नै वचनबाट पछि हट्दा ओली ठूलो समस्यामा फसेको दाहालको भनाइ छ।  

‘अन्तर्वार्ता दिएर भण्डारीलाई राजनीतिमा आउन दिनुपर्छ र उहाँले चाहेकै जिम्मेवारी दिनुपर्ने कुरा गर्ने अध्यक्ष फेरि ठ्याक्कै  यूटर्न गरेर रोक्ने निर्णयमा कसरी र किन पुग्नुभयो?’ उनले थपे, ‘बोलीमा संगति हुनुपर्‍यो नि। ओलीको पहिचान भनेको बोलेपछि अडानमा बस्ने हो। चाहे गल्ती होस् वा सही। पछाडि फर्किन नै जानेको छैन भन्ने पहिचान हो ओलीको। अहिले त दिनका दिन यता र उता, यता र उता के हो के!’

पार्टीभित्र लोकतान्त्रीकरणको कुरा उठाएर ७० वर्षे उमेर हद र २ कार्यकाल ल्याउने मुख्य योजनाकार ओली नै भएको पनि उनले बताए।

तर, एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ भने  पार्टीभित्रको शक्ति सन्तुलन आकलन गर्दा अन्यथा नहुने बताउँछन्।

‘अध्यक्ष डराएको र आत्तिएको केही पनि होइन, उहाँको त्यो स्वभाव नै होइन, दुनियाँसँग नडराउने उहाँ, विद्याबाट एउटा चरम धोका भयो भन्नेमा पुग्नुभएको हो। किनकि, उहाँलाई विद्याप्रति निकै ठूलो विश्वास थियो,’ गुरूङले भने, ‘केही विवाद नहोस् भन्ने थियो अलिअलि विवाद भयो।’ 

भण्डारीले एमालेमा आउँछु भनेर अध्यक्षसँग सल्लाह गरेको भए एउटा समझदारी बन्न सक्ने उनको भनाइ छ। तर, पार्टीभित्र कोलाहल मच्चाउन चाहने तत्वले अहिले बेग्लै ठाउँमा पार्टीलाई पुर्‍याइदिएको दाबी उनी गर्छन्।

गत असार १४ गते भण्डारीले एमालेमा सक्रिय हुने घोषणा गरेपछि एमालेभित्र खैलाबैला मच्चाएको छ। साउन ६ गते बसेको केन्द्रीय समिति बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। 

ओली-भण्डारी दुवैले गल्ती गरे :  शाक्य
एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भने ओली र भण्डारीको विवादले आम नेता÷कार्यकर्तालाई निराश बनाएको बताउँछिन्। 

‘जुन घटनक्रम देखियो यो राम्रो भएन, यसले एमालेलाई बलियो बनाउँदैन,’ शाक्यले भनिन्, ‘दुई जनाको कारण पार्टीमा समस्या आयो, भण्डारी र ओलीमा धेरै टसल सुरु भएको छ। यो पार्टीका लागि घाटा हो। पार्टी संगठित गर्ने, पार्टी बनाउने पंक्तिलाई पीडा भएको छ।’

आफूले सुरुदेखि नै भण्डारीलाई राजनीतिमा नआउन र सम्मानित जिम्मेवारीमै बसेर दललाई संयोजन गर्न सुझाव दिएको उनी बताउँछिन्। 

‘फेरि त्यो ठाउँमा पुर्‍याउने केपी कमरेड हो,’ शाक्यले भनिन्, ‘अहिले विद्याले अध्यक्ष बन्छु नभन्या भए यस्तो नहुने, अध्यक्ष नै ताकेर आइसकेपछि समस्या र विवाद चर्कियो।’ 

महाधिवेशन प्रतिनिधिलाई बोलाएर भण्डारीको बारेमा अध्यक्ष ओलीले दिएको अभिव्यक्ति सही नभएको उनको भनाइ छ।

‘अहिले दुई जनाबीच देखिएको तनाव र विवाद पार्टी निर्माणमा खटिएका नेतालाई ठीक लागिरहेको छैन,’ शाक्य भन्छिन्, ‘विद्याजी आफ्नै पाराले हिँड्नुभएको छ। केपी कमरेडलाई जसरी भए पनि छेक्नुपरेको छ। तमासा हेर्नु त।’ 

एमाले पार्टी दुई जनाको मात्र नभएकोले लाखौँलाख कार्यकर्तालाई निराश बनाउन नहुने शाक्यको भनाइ छ। 

‘किनभने पार्टी सिद्धान्त र विचारबाट चल्छ। एउटा व्यक्तिबाट चल्दैन, व्यक्ति गौण हो,’ उनले भनिन्, ‘तर, विचार कम भएपछि यस्तै हुने हो। मेरो लागि, मेरो मान्छे, सबैथोक मलाई भन्ने हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad