प्रधानमन्त्री केपी शर्मा ओलीले भारत-चीनले नेपाली भूभाग लिपुलेक क्षेत्रबाट व्यापार गर्ने गरी गरेको सम्झौताबारे कुरा उठाउने बताएका छन्। शनिबार चीन भ्रमण जाने ओलीले त्यहाँ यसबारे कुरा गर्ने बताएका हुन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा चीन भ्रमणबारे जानकारी गराएका ओलीले सम्बोधनका क्रममा भने लिपुलेकको विषयमा केही कुरा गरेका थिएनन्। उनले चीन भ्रमणमा आफ्नो तालिका र कार्यक्रम सार्वजनिक गर्दा लिपुलेकको कुरा गर्नेबारे बोलेका थिएनन्।
बैठकपछि बाहिरिनेक्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिनेक्रममा भने लिपुलेकबारे कुरा गर्ने बताए।
उच्चस्तरीय भेटघाटमा लिपुलेकको कुरा त उठ्लान नि? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने- अवश्य उठ्छ।
ओलीले भदौ १४ गतेदेखि १८ गतेसम्म चीन भ्रमणमा जाँदैछन्।
उनले भ्रमणका क्रममा चीनियाँ राष्ट्रपति सी चीनफिङ, रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसहित विभिन्न देशका प्रमुखसँग भेटवार्ता तय भएको जानकारी गराए।
'हालसम्म रूसी महासंघका महामहिम राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका महामहिम राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका महामहिम प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका महामहिम प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका महामहिम प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको छ' उनले भने।
तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग चीनमै भेट हुने भनेर चर्चा भए पनि उनले यसबारे सदनलाई कुनै जानकारी दिएनन्।
चीन भ्रमणबारे यस्तो छ ओलीले दिएको जानकारी
१. मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति श्री सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म यही भदौ १४ देखि १८ (तदनुसार सन् २०२५ अगष्ट ३० देखि सेप्टेम्बर ३) सम्म चीनको ५ दिने भ्रमणमा जाँदैछु।
२. यस भ्रमणको मूल उद्देश्य चीनको थियानजिन ;हरमा आयोजना हुने सांघाई सहयोग संगठन (सांघाई कोअपरेसन अर्गनाइजेसन) को शिखर सम्मेलनमा भाग लिनु हो।
३. सांघाई सहयोग संगठन (एससीओ), सन् २००१ मा स्थापना गरिएको, आज विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनहरूमध्ये एकको रूपमा विकसित भइसकेको छ। चीन, रूस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान, र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन्।
अफगानिस्तान र मंगोलिया, दुई देश पर्यवेक्षक राष्ट्रहरू हुन्।
नेपाल सहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सांघाई सहयोग संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन्।
४. नेपाल, सन् २०१६ देखि यस संगठनको संवाद साझेदार रहँदै आएको छ। हाम्रो प्रयास यस संगठनमा नेपालको सहभागिताको स्तर अभिबृद्धि गर्नु, समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा नेपालको दृष्टिकोण र प्राथमिकता स्पष्ट रुपमा उजागर गर्नु एवं यस मार्फत् अत्यधिक लाभ हासिल गरी नेपालको हित प्रबर्द्धन गर्नु रहेको छ।
५. यस भ्रमणका क्रममा चीनका महामहिम राष्ट्रपति श्री सी चिनफिङसँग मेरो दुई पक्षीय भेट हुने कार्यक्रम छ।
बेइजिङमा चीनका महामहिम उपराष्ट्रपति श्री हान चङ्गसँग पनि मेरो भेट हुनेछ। चीनका महामहिम राष्ट्रपति र उपराष्ट्पतिले दिनुहुने छुट्टाछुट्टै रात्रिभोजमा समेत हामी सहभागी हुनेछौं।
६. २०८२ भदौ १६ (तदनुसार २०२५ सेप्टेम्बर १) थियानजिनमा हुने एससिओ प्लस शिखर सम्मेलनमा हाम्रो सहभागिता हुनेछ, मैले त्यस सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ।
७. एससीओ शिखर सम्मेलनका दौरान मैले विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ। थियानजिनबाट म सोही दिन बेइजिङ जाने कार्यक्रम छ।
हालसम्म रूसी महासंघका महामहिम राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका महामहिम राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका महामहिम प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका महामहिम प्रधानमन्त्री श्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका महामहिम प्रधानमन्त्री श्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको छ।
८. अन्तिम कार्यक्रमको रुपमा विश्वका नेताहरुसँगै हाम्रो प्रतिनिधि मण्डल पनि आगामी भदौ १८ गते (तदनुसार २०२५ सेप्टेम्बर ३) चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवाद विरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण बिरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ। चीन सरकारले जानकारी दिए अनुसार ५० भन्दा बढी देशले यी कार्यक्रममा सहभागिता जनाउने छन्।
९. यस भ्रमणबाट नेपाल र जनवादी गणतन्त्र चीनबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध थप सुदृढ हुनुका साथ एससिओ शिखर सम्मेलनमा मेरो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न समसामयिक विषयमा नेपालको अवधारणा एवं प्राथमिकताको प्रस्तुतिबाट मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि हुने मैले विश्वास लिएको छु।
१०. हाम्रो भ्रमण दलमा मेरी धर्मपत्नी श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य माननीय श्री पूर्णबहादुर खड्का, माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री रघुजी पन्त, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य माननीय श्री छबिलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनुहुनेछ।
Shares

प्रतिक्रिया