लोकतान्त्रिक संवाद केन्द्र (सीडीडी) ले ‘सामाजिक लोकतन्त्र’ विषयमा अन्तरक्रिया आयोजना गरेको छ। काठमाडौँको बबरमहलमा रहेको किङ्स कलेजमा उक्त अन्तरक्रिया आयोजना गरिएको हो।
कार्यक्रममा विषय विज्ञ गेजा शर्मा वाग्लेले नेपालको सन्दर्भमा ‘सामाजिक लोकतन्त्र’बारे प्रस्तुती दिएका थिए। सामाजिक लोकतन्त्र अन्य लोकतान्त्रिक दर्शनहरूभन्दा उत्कृष्ट राजनीतिक दर्शन भएको उनको मत थियो।
‘यो जनताकेन्द्रित, उदार र प्रगतिशील छ’, वाग्लेले भने, ‘सामाजिक लोकतन्त्रलाई आर्थिक रूपमा प्रगतिशील, सामाजिक र सांस्कृतिक रूपमा बहुलवादी र राजनीतिक रूपमा केन्द्रवादी भनी व्याख्या गर्न सकिन्छ।’
जर्मनीका अगस्ट बेबेल, एडवार्ड बर्नस्टाइन, विल्हेल्म लिम्ब्कनेच्टलगायतका राजनीतिक चिन्तक र राजनीतिशास्त्रीहरूले १८ औँ शताब्दीमा सामाजिक लोकतन्त्रलाई सैद्धान्तिकरण गरेका थिए। यसलाई जर्मनीको सामाजिक लोकतन्त्रवादी पार्टीद्वारा अंगीकार गरिएको वाग्लेको भनाइ थियो।
यो राजनीतिक दर्शन जर्मनीको सामाजिक लोकतान्त्रिक पार्टी, संयुक्त अधिराज्यको लेबर पार्टी र फिनल्यान्डको सामाजिक लोकतान्त्रिक पार्टीद्वारा अंगीकार गरिएको छ। सामाजिक लोकतन्त्र उदार लोकतन्त्रवादी राजनीतिक विचारधारा भएको उल्लेख गर्दै वाग्लेले थपे, ‘नेपालको कुनै पनि राजनीतिक दल सामाजिक लोकतान्त्रिक दल होइन।’
‘हालसम्म नेपालको कुनै पनि दल सामाजिक लोकतान्त्रिक छैनन्, १४औं महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री गगन थापाले नेपाली कांग्रेसलाई सामाजिक लोकतन्त्रवादी पार्टीको रूपमा रूपान्तरण गर्न प्रस्ताव गरेका थिए तर यस बारेमा नेपाली कांग्रेसमा हालसम्म गम्भीर सैद्धान्तिक-वैचारिक आयामबाट बहस भएको छैन,’ उनले भने।
सामाजिक लोकतन्त्रले अद्यावधिक, समयानुकूल, समतावादी र सामाजिक न्याय, मिश्रित आर्थिक नीति, समावेशिता, उदार अर्थतन्त्र, समानता, पूँजीवाद, बहुलवाद, व्यक्तिगत स्वतन्त्रताको पक्षमा समर्थन गर्ने वाग्लेको भनाइ छ।
विश्वमा कम्युनिस्ट पार्टीहरूको जडसूत्रवादी स्वभावले उनीहरूलाई विकसित हुनबाट रोकेको र यसकै कारण तिनीहरू ऐतिहासिक रूपमा पतन भएको उनको तर्क थियो।
उनका अनुसार सामाजिक लोकतन्त्र भनेको उदार लोकतन्त्र र उदार अर्थतन्त्रवादी राजनीतिक विचारधारा भएको विचार व्यक्त गर्दै साम्यवाद र समाजवादका नाममा लादिएको राज्यनियन्त्रित अर्थतन्त्र पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेका थिए। मानव विकासमा आधारित उदार अर्थनीति, समावेशी आर्थिक वृद्धि र वातावरणमैत्री दिगो विकास नीति कांग्रेसले अनुसरण गर्नु उपयुक्त हुने सुझाव दिएका थिए।
केही आलोचकहरूले नेपालमा समाजवादी दलहरूको उपस्थितिको कारण आर्थिक वृद्धि ठप्प भएको तर्क गर्ने गरेका छन्।
उक्त अन्तरक्रियामा सहभागी विभिन्न क्षेत्रका बुद्धिजीवीहरूले वाग्लेको प्रस्तुतिमाथि टिप्पणी गरेका थिए। डा. रुद्र शर्माले नेपाली कांग्रेसको स्वभाव र चरित्रबारे टिप्पणी गरेका थिए।
‘कहिले दायाँ केन्द्र त कहिले बायाँ केन्द्रको रूपमा कांग्रेस देखिन्छ। ठीक त्यस्तै बीपी कोइरालालाई पनि कहिले दायाँ केन्द्र त कहिले बायाँ केन्द्रको रूपमा देखिन्थ्यो’, उनले भने। 
उनले नेपाली कांग्रेसका अधिकांश नेताहरू आफूलाई पूँजीवादी भन्न डराउने गरेको बताए।
यस्तै, वरिष्ठ पत्रकार तारानाथ दाहालले प्रजातान्त्रिक समाजवाद र लोकतान्त्रिक समाजवादबीच भिन्नता छुट्याउन गाह्रो रहेको बताए।
‘बीपी कोइराला बायाँ केन्द्रका थिए। लोकतान्त्रिक समाजवाद सुवर्ण शमशेर राणाद्वारा वीरगन्जमा आयोजित नेपाली कांग्रेसको महाधिवेशनमा सर्वप्रथम प्रस्तुत गरिएको थियो’, उनले भने।
त्यस्तै कार्यक्रममा बोल्दै सीडीडीका बोर्ड सदस्य रुद्र कन्दङ्वाले देशको एकमात्र लोकतान्त्रिक दल नेपाली कांग्रेस सधै लोकतान्त्रिक समाजवाद र सामाजिक लोकतन्त्रको विचारधाराहरूबीच ढुलमूल अवस्थामै रहेको बताए।
सीडीडीले नेपाली कांग्रेसको राजनीतिक विचारधारामा संगति स्थापना गर्न र वैचारिक असंगतिबाट जोगिन यस्ता संवादहरू आयोजना गर्दै आएको छ।
भविष्यमा पनि राजनीतिक विचारधारामा यस्ता बौद्धिक संवादहरू आयोजना गर्दै जाने उनले बताए। 
Shares

प्रतिक्रिया