राजनीति


भियतनामका उपराष्ट्रपतिसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता, नेपालले यी क्षेत्रमा माग्यो सहयोग

भियतनामका उपराष्ट्रपतिसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता, नेपालले यी क्षेत्रमा माग्यो सहयोग

नेपालखबर
भदौ ७, २०८२ शनिबार १६:३३, काठमाडौँ

समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री आरजु राणा देउवाले शिष्टाचार भेटवार्ता गरेकी छिन्।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आएकी उपराष्ट्रपति भोसँग मन्त्री राणाले भेटवार्ता गरेकी हुन्।

भेटका क्रममा नेपाल भियतनाम सम्बन्धका विविध आयामहरुका साथै द्विपक्षीय हित र आपसी चासोका विषयहरुमा कुराकानी उनको सचिवालयले बताएको छ। त्यस क्रममा मन्त्री राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै यो आर्थिक विकासबाट अन्य देशले पनि सिक्नसक्ने धारणा राखिन्।

उनले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा जोड बताइएको छ।

पछिल्ला बर्षहरुमा नेपाल र भियतनामका पर्यटकहरुको सङ्ख्या उल्लेखनीय रुपमा बृद्धि भएको जानकारी दिँदै मन्त्री राणाले यो अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवर्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखिन्।

भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माणका लागि पनि उनले आग्रह गरेकी थिइन्।

त्यसैगरी राणाले नेपाल अगामी सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले त्यसपछिको अवस्थामा आवश्यक सहयोगका लागि पनि भियतनामसँग आग्रह गरिन्।

नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गर्दा उपराष्ट्रपति भोले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

नेपाल र भियतनाम द्विपक्षीय र बहुपक्षीय तहमा एकअर्कालाई सहयोग र समर्थन गर्दै आएका उल्लेख गर्दै दक्षिण–दक्षिण सहयोग, जलवायु परिवर्तनजस्ता विश्वव्यापी एजेण्डाहरूमा आगामी दिनमा पनि सहकार्यका साथ अघि बढ्नुपर्नेमा सो भेटमा छलफल भएको थियो। 

जी-७७, नन अलाइन्मेन्ट मुभमेन्ट (नाम) का सदस्य राष्ट्रका रुपमा नेपाल र भियतनाम विकासशील देशहरुको हित रक्षाका लागि एकमत भएर काम गरिरहेको उपराष्ट्रपति भो र परराष्ट्रमन्त्री राणाले उल्लेख गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad