नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पीए नेपाल’को समेत संलग्नता रहेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले उपसभामुख इन्दिरा रानामगर तत्कालिन अवस्थामा कार्यकारी प्रमुख रहेको संस्था पीए नेपाल समेत बालबालिका ओसारपोसारमा संलग्न रहेको भनि जाँचबुझ आयोगले प्रतिवेदन तयार पारेको भन्दै प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्।
सचिव भट्टराईले भने, ‘२०७२ साल कात्तिक १७ गते बाल संगठनको सिफल बालगृहबाट पाँचजना बच्चाहरू हराउँछन्। ती बच्चाहरू कहाँ गए भनेर खोजीनीति हुन्छ। त्यस सन्दर्भमा २०७२ माघ १८ गते सो कार्यालयका एक जना कर्मचारीले बाल कल्याण समितिमा दिएको बयानमा पीए नेपालका मानिसहरूले जबरजस्ति लिएर गएका छन्। प्रिजनर्स असिस्टेन्ट नेपालको कार्यकारी अध्यक्ष त्यो बेला हालको उपसभामुख इन्दिरा राना हुनुहुन्थ्यो।’
उनले थपे, ‘उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा गठित जाँचबुझ आयोगले एक प्रतिवेदन बनाएको छ। त्यो प्रतिवेन तत्काल सार्वजनिक गर्न माग समेत गर्नुपर्छ। त्यो प्रतिवेदनमा समेत पीए संस्था बालबालिका तस्करीमा संलग्न रहेको भन्दै कारबाही गर्न भनेर समाचार आएको थियो। त्यो प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्दछु।’
उनले उपसभामुखको अविश्वासको प्रस्तावलाई संवैधानिक परिषद्को बहुमतसँग जोड्न आवश्यक नभएको जिकीर गरे। उनले उपसभामुखको विषयलाई लिएर इमोसनल ब्ल्याकमेलिङ गरेर विषयान्तर गर्ने कार्य गलत भएको बताए।
सचिव भट्टराईले उपसभामुखको विदेश भ्रमण समेत शंकास्पद रहेको दाबी गरे। १७ पटक विदेश भ्रमण गर्दा सभामुखसँग ७ पटक मात्र स्वीकृत गरेर विदेश भ्रमण गरेको उल्लेख गर्दै यो विषयमा पनि छानबिन आवश्यक रहेको बताए।
Shares

प्रतिक्रिया