राजनीति


चक्रे मिलनलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन भक्तपुर लगिँदै

चक्रे मिलनलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन भक्तपुर लगिँदै

नेपालखबर
साउन २८, २०८२ बुधबार १८:३०, काठमाडौँ

चक्रे मिलन भनिने मिलन गुरुङलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन भक्तपुर लगिने भएको छ। जिल्ला अदालत काठमाडौँबाट बुधबार ३० हजार धरौटीमा रिहा गर्न आदेश भए पनि उनलाई अब भक्तपुर पठाइने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदीप चन्दले बताए। 

भक्तपुर प्रहरीले यसअघि नै चक्रे मिलनलाई उपस्थित गराइदिन भन्दै पत्र पठाइसकेको छ। बाँकी १८ जना प्रतिवादी भने बुधबार नै रिहा हुने भएका छन्। 

एक वर्षअघि भक्तपुरमा सर्लाहीका युवकमाथि खुकुरी प्रहार गरेको घटनामा  चक्रे मिलनविरुद्ध मुद्दा चलाउन यसअघि नै बयान लिइसकिएको छ। प्रहरी वृत्त ठिमीले गत शुक्रबार ज्यान मार्ने उद्योगको मुद्दामा उनीसँग बयान लिएको थियो। 
 
भक्तपुरको घटनामा बयानका क्रममा चक्रे मिलनले उक्त घटनामा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन्। ‘उक्त घटनामा मेरो संलग्नता छैन। म त्यो बेला त्यहाँ पनि छैन खै कसरी नाम आयो मलाई थाहा भएन’, उनले बयानमा भनेका छन्। 

२०८१ भदौ १० गते साँझ साढे ६ बजेतिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका २ सानोठिमीस्थित दिव्यश्वरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा सर्लाहीका मनीष रायमाझीमाथि कुटपिट भएको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए।

आफ्नो ज्यान मार्ने उदेश्यले खुकुरीले दुवै कोखामा प्रहारी गरी घाइते बनाएको भन्दै रायमाझीले त्यतिबेलै जाहेरी दिएका थिए। अजित खवाससमेतका २०-२२ जनाको समूहले आफूमाथि आक्रमण गरेको र त्यसको योजनाकार चक्रे मिलन रहेको पीडितको दाबी थियो। आक्रमणपछि घाइतेको भिडिओ समेत बनाएर उनीहरू फरार भएका थिए। 

त्यतिबेला प्रहरीले अजित खवासलाई पक्राउ गरेर मुद्दा चलाएको थियो। तर चक्रे मिलनको भने पूरा ठेगाना नखुलेकाले उनलाई खुलेका बखत प्रतिवादी बनाउने गरी मुद्दा अगाडि बढाइएको थियो। 

केही दिन पहिले उनलाई काठमाडौँमा आतंक मच्चाएको आरोपमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ प्रहरी परिसरको टोलीले ठमेलमा जन्मदिन मनाउँदै गर्दा होटलबाट पक्राउ गरेको थियो। 

साउन १५ गते राति चक्रे मिलनसहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको थियो। तर तीमध्ये २८ जनालाई संलग्नता नरहेको भन्दै रिहा गरिएको थियो। १९ जनालाई भने अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो।   

पीडित रायमाझीले चक्रे मिलनविरुद्ध (शारीरिक अवस्थामाथि होच्याउँदै) सामाजिक सञ्जालमा स्टाटस लेखेको र सोही विषयमा आक्रमण भएको बयान दिएका थिए। यस्तो स्टाटसपछि चक्रे मिलनले उनलाई धम्क्याएका थिए। 

घटनाको १०-१५ दिन पहिले बाँकेको नेपालगञ्जमा केही व्यक्तिहरूलाई चक्रे मिलनको समूहले कुटपिट गरेको थियो। त्यस विषयमा रायमाझीले चक्रे मिलनलाई इंगित गर्दै स्टाटस लेखेका थिए। तर चक्रे मिलनको समूहले धम्क्याएपछि भोलिपल्ट उनले त्यो स्टाटस पनि डिलिट गरेका थिए। 

घटनाको दिन उनलाई आक्रमण गर्दा 'चक्रे मिलन दाइ'को बारेमा के लेखेको भन्दै कुटपिट गरेको पीडितको बयान छ। अजित खवासमाथि भने रायमाझीको बारेमा चक्रे मिलनको समूहलाई जानकारी दिएको र आक्रमण भएको आरोप छ। 

यसअघि नै प्रतिवादी बनाइएका खवासले भने पीडितलाई अस्पताल पनि लगेका थिए। कुटपिटमा संलग्नहरू भने त्यतिबेलै फरार भएका थिए।

मनीषले भने प्रहरीले कागज गराउँदा आफ्नो स्वास्थ्य अवस्था पनि खतरामुक्त रहेको र भएको क्षति पनि प्रतिवादीका आफन्तले दिइसकेकाले कुनै दाबी नगर्ने बयान दिएका थिए। 

प्रहरीले अहिले पनि घटनाको सनाखत गराउन जाहेरवाला र पीडितको खोजी गरिरहेको छ। तर उनीहरू अहिले प्रहरीको सम्पर्कमा आउन चाहेका छैनन्। ज्यान मार्ने उद्योगमा चक्रे मिलनविरुद्ध १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad