हाल (बुधबार बेलुका) देशभर मौसम पूर्णतया बदली (आकाशभरि बादल) छ भने कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज रातभर नै मौसम बदली र वर्षा हुने क्रम जारी रहने सम्भावना छ।
यस क्रममा गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाड भूभाग, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराई भूभागका धेरै स्थान र बाँकी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। अनि गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा लुम्बिनी प्रदेशको तराई, सुदूरपश्चिम प्रदेशको तराई र कर्णाली प्रदेशको पहाड भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।
मौसम महाशाखाले आगामी २४ घण्टा (बुधबार साँझ ६ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा लुम्बिनी प्रदेशको तराई, सुदूरपश्चिम प्रदेशको तराई र कर्णाली प्रदेशको पहाड भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहाबका साथै सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी, खोलानालामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिनहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध छ।
हेर्नुहोस्, आज रातिको सम्भावित वर्षाबारे तलको तालिका:

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।
अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।
यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।
त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।
Shares

प्रतिक्रिया