सभामुख देवराज घिमिरेले आज सिंहदरवारस्थित कार्यकक्षमा संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदन त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको कार्यान्वयनका विषयमा अलग अलग छलफल गरेका छन्।
सभामुखले सत्तारुढ एमाले मुख्य सचेतक महेश बर्ताैला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसँग छलफल गरेका हुन्।
सभामुखले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने बताए। कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधिन रहेको बताउँदै उनले दलहरूलाई साझा धारणा बनाउन आग्रह गरे।
राज्यव्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन नयाँ सचिवकोरुपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएको बताउँदै समितिको काम अब धेरै समय रोक्न नसकिने उल्लेख गरे।
नेताहरूले प्रमुख दलहरूको सुझावका आधारमा निर्णय गर्न सभामुखलाई सुझाव दिए।
सभामुखले गएको शुक्रबार सचिवालयका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्यव्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा परामर्श गरेका थिए।
सभामुखले भोलि पनि अलग अलग सुझाव लिने काम सकिएपछि संयुक्त बैठक गर्ने तयारी गरेका छन्।
Shares

प्रतिक्रिया