राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको पहिचानको रुपमा रहेको राजसंस्था र हिन्दुराष्ट्रलाई विदेशीको इसारामा एम्बुसमा पारिएको बताएका छन्।
नेपाली जनताको अभिमत बिना विदेशी शक्तिको प्रभाव र प्रायोजनमा जबर्जस्ति लादिएको एजेन्डाले मुलुकको हित गर्न नसकिने उनले दाबी गरे। संघीयता नेपाली जनताले बुझ्दै नबुझेको भन्दै संघीयताको नाममा मुलुकले सेतो हात्ती पाल्न नसक्ने थापाले स्पष्ट पारे।
२०६२/०६३ को परिवर्तनको समयमा आफूले धेरै नजिकबाट विदेशी दबाब र प्रभावलाई देखेको, भोगेको थापाको दाबी थियो।
मुलुकमा अहिले राजनीतिको नाममा सिद्धान्तच्युत, भ्रष्ट, नौटङ्गी, ठगहरू हाबी भएको भन्दै थापाले मुलुकलाई स्वाधिन र समृद्ध बनाउने हो भने राप्रपा नेपालले लिएको विचारधाराबाट मुलुकलाई अघि बढाउनु पर्नेमा जोड थिए।
मुलुकलाई बचाउन र बनाउन अब सम्बर्द्धनबादको मार्ग बाहेक अरु विकल्प नभएको भन्दै थापाले राप्रपा नेपाललाई मुलुकको वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा आफू अझै उच्च मनोबल सहित कृयाशील भएको बताए।
त्यसक्रममा डा. बालकृष्ण दाहाल, डा. सुदर्शन सुवेदी, अर्थविद प्रकाश थापा, कृषि विज्ञ अश्विन आचार्य, विष्णु तिवारी लगायतका व्यक्तिहरूलाई अध्यक्ष थापाले पार्टीमा स्वागत गरेका थिए।
Shares

प्रतिक्रिया