महिला तथा सामाजिक समिति सभापति किरणकुमार साहले अहिलेको आधुनिक समाज, सभ्यता संस्कृतिमा बहुविवाहको कल्पना पनि गर्न नसकिने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित बालबालिकासम्बन्धी संसोधन ऐन, २०७५ माथिको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले अहिलेको सरकारले बहुविवाह सम्बन्धी त्यस्तो किसिमको कठोर नीति लियो भने सरकारले पनि सरकारबाट हात धुनुपर्ने स्थिति आउने बताए।
हाल नेपालमा ५१ प्रतिशत महिला रहेको उल्लेख गर्दै उनले महिलाहरू सडकमा आएभने कानून ल्याउनेको हालत के हुन्छ? भन्दै प्रश्न गरे। उनले बहुविवाह विरुद्धको आन्दोलनमा आफू पनि अग्रपंक्ति उभिने प्रतिबद्धता जनाए।
यस्तो किसिमको कानुन कुनै हालतमा नआउने र आउन पनि नदिने उनको भनाइ छ।
'यहाँ कुरा गर्दागर्दै बहुविवाह र बाल विवाहको कुरा आयो तपाइँहरू ढुक्क हुनुस्। अहिलेको आधुनिक समाज, सभ्यता संस्कृतिमा बहुविबाहाको कल्पना पनि गर्न सकिन्न,' उनले भने, 'यदी सरकारले त्यस्तो किसिमको कठोर निति लियो भने सरकारले पनि सरकारबाट हात धुनुपर्ने स्थिति आउन सक्छ। अहिले पनि हाम्रो नेपालमा ५१ प्रतिशत महिला दिदीबहिनीहरू हुनुहुन्छ। हामीले हाम्रा महिला दिदीबहिनीहरु रोडमा आयो भने ती कानून ल्याउनेको हालत के हुन्छ? त्यो पनि सोच्न जरुरी छ।'
Shares

प्रतिक्रिया