राजनीति


स्थायी समिति बैठकमा पम्फा भुसालको प्रश्न: प्रभाकरलाई हामीले पुल्पुल्यायौँ कि?

‘हामी फुटेर, भित्तामा टाउको फुटालेर यहाँसम्म फर्कियौँ’
स्थायी समिति बैठकमा पम्फा भुसालको प्रश्न: प्रभाकरलाई हामीले पुल्पुल्यायौँ कि?

नेपालखबर
साउन १९, २०८२ सोमबार १०:५, काठमाडौँ

नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति उठाएका प्रश्नले तीव्र बहस सिर्जना गरेको छ।

शुक्रबारदेखि जारी माओवादी स्थायी समिति बैठकमा उपमहासचिव शर्माका पक्षमा सचिव राम कार्कीलगायत केही नेता देखिए पनि अधिकांश सदस्यले अध्यक्ष प्रचण्डकै समर्थन गरिरहेका छन्। 

जसले उपमहासचिव शर्माप्रति आक्रोश पोखिरहेका छन्। तीमध्ये एक हुन्- उपाध्यक्ष पम्फा भुसाल। 

आइतबारको बैठकमा उनले शर्मालाई गुट नबनाउन र नेतृत्वविरुद्ध औँला नउठाउन चेतावनी दिइन्। 

‘गुटगत समाचाहरू छन्। त्यो सही हो । तर यो बैठकले गुटको अन्त्य गर्न सक्छ कि सक्दैन? यो मुख्य कुरा हो। गुटले कहिलेकाहीँ शक्ति आर्जन त होला तर अन्तत्वगोत्वा त्यसले फुटमा पुर्‍याउँछ। हामी फुटेर, भित्तामा टाउको फुटालेर यहाँसम्म फर्कियौँ। त्यसबाट हामीले पाठ सिकेका छौँ’, उनले भनिन्, ‘प्रभाकरलाई गुट नबनाउनुस् भनेको थिएँ। यो कुरा अहिले पनि भन्न चाहन्छु।’

उपाध्यक्ष भुसालले विचारमा फरक मत नरहेको उल्लेख गर्दै कार्यशैली र आचरणबारे प्रश्न उठाएको कुरामा आफूहरूको विमति नरहेको धारणा राखिन्। तर यसलाई नेतृत्वविरुद्ध सोझ्याउनु गलत भएको बताइन्। 

उनले अगाडि भनिन्, ‘स्थापित नेतृत्वलाई विस्थापित गरेर आफू नेतृत्व बन्न सकिँदैन प्रभाकर कमरेड। प्रभाकरलाई परामर्श बैठकमा हामीले पुल्पुल्यायौँ कि? अहिले मूल नेतृत्वमा केन्द्रित हौँ। विचार केन्द्रित बहस गरौँ। विधिसम्मत गरौँ। पार्टीलाई एकताबद्ध बनाऔँ।’

माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा आज (सोमबार) अध्यक्ष प्रचण्डले जवाफ दिँदै छन्।

पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुने बैठकमा सदस्यहरूले उठाएका विषयमा अध्यक्ष प्रचण्डले उत्तर दिने भएका हुन्। 

त्यसअघि महासचिव देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्नेछन्।

शुक्रबारदेखि जारी बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेकका नेताले धारणा राखिसकेका छन्।

अब आज वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव गुरुङले धारणा राखेपछि प्रचण्डले जवाफ दिनेछन्।

त्यसपछि बैठक समापन गरिने माओवादीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad