राजनीति


प्रभाकरले उठाएको विचार दबाएर न पार्टी जोगिन्छ न देश: शिवकुमार मण्डल

प्रभाकरले उठाएको विचार दबाएर न पार्टी जोगिन्छ न देश: शिवकुमार मण्डल

माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डल र उपमहासचिव जनार्दन शर्मा प्रभाकर


नेपालखबर
साउन १६, २०८२ शुक्रबार १०:५, काठमाडौँ

नेकपा माओवादी केन्द्रभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’बीच अन्तरविरोध बढ्दै गएका बेला पूर्वमन्त्रीसमेत रहेका पार्टीका केन्द्रीय सदस्य शिवकुमार मण्डलले नेतृत्वको आलोचना गरेका छन्। 

उनले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको उदाहरण दिँदै आफ्ना अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। अनि उपमहासचिव शर्माले उठाएको विचारलाई दबाइए पार्टी नै नजोगिने चेतावनीसमेत दिएका छन्। 

‘अध्यक्ष वरिपरि स्वार्थपूर्तिकारी घेरा बनाएर सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिले ऐतिहासिक योगदानलाई गुमाउने खतरा हुन्छ। केपी ओलीलाई विधि मिचेर माफियासँग दलाली गर्न दिएका गल्तीहरू आज पनि हाम्रो सामु छर्लङ्गै छन्’, मण्डलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ओली प्रवृत्तिलाई हुर्काउने पात्रहरूको विरुद्ध सशक्त प्रतिवाद गर्नु आजको अनिवार्य राजनीतिक जिम्मेवारी हो।’

मण्डलले अगाडि लेखेका छन्, ‘कमरेड प्रभाकरले उठाएको लोकतान्त्रिक विचारलाई दबाएर माफियालाई बल दिन खोज्ने प्रवृत्तिले न पार्टी जोगिन्छ न देश।’

यस्तो छ, उनको पूरा स्टाटस:

म सम्झन्छु- त्यो समय, जब अध्यक्ष कमरेड प्रचण्ड सरकार सुशासनको मार्गमा समर्पित थियो र, मोरङका सांसद डा. सुनील शर्माले उनको आलोचना गर्दै अनि अनन्त कमरेडलाई इतिहासकै उत्कृष्ट अर्थमन्त्रीको उपाधिसम्म दिए।

त्यो विरोध र प्रशंसाको सन्दर्भ सामान्य थिएन; यो हामीकहाँ उभिएका छौँ भन्ने गम्भीर प्रश्न हो। पूर्वको नोबेल मेडिकल अस्पतालको सेयर काण्डजस्ता घटनाले देखाएको हाम्रै पार्टीभित्रको नेताको घृणित चरित्रलाई जनताले बिर्सेका छैनन्।

हामी एउटा यस्तो मोडमा उभिएका छौँ, जहाँ सत्य बोल्ने आँट गर्नेलाई पार्टी विभाजन गर्न खोजेको ट्याग लगाइन्छ र जनताको भरोसा माफियावादको छायामा हराउँदै छ। पार्टी फुट्ने हल्ला तलबाट होइन, सत्ताको शीर्ष स्तरबाटै चलाइएको देखिन्छ- विचारको केन्द्र भत्काउने योजनासहित। हामीले यो भ्रमको खेती चिर्दै मंसिरको विशेष महाधिवेशनलाई वैचारिक पुनर्जागरणको थलो बनाउनु छ।

सरकारसँगको ‘भिजिट भिसा’ सहमतिले हामीलाई अन्तर्राष्ट्रिय जगत्‌मा नैतिक रूपमा कमजोर बनायो। आत्मसमीक्षाको यो क्षण हामीले गुमाउनु हुँदैन।

देश संकटमा छ। संविधान संशोधन, आर्थिक पुनःसंरचना र पार्टीको पुनर्गठन आजको ऐतिहासिक आवश्यकता हो।

कमरेड प्रभाकरले उठाएको लोकतान्त्रिक विचारलाई दबाएर माफियालाई बल दिन खोज्ने प्रवृत्तिले न पार्टी जोगिन्छ न देश।

साँचो सुशासन चाकरी र चाप्लुसीमा होइन, जवाफदेहिता र विधि-पद्धतिमा आधारित हुन्छ। पार्टी सही प्रक्रियामा चले मात्र जनयुद्ध र त्यसबाट प्राप्त उपलब्धिहरू संस्थागत हुन्छन्।

अध्यक्ष वरिपरि स्वार्थपूर्तिकारी घेरा बनाएर सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिले ऐतिहासिक योगदानलाई गुमाउने खतरा हुन्छ। केपी ओलीलाई विधि मिचेर माफियासँग दलाली गर्न दिएका गल्तीहरू आज पनि हाम्रो सामु छर्लङ्गै छन्। ओली प्रवृत्तिलाई हुर्काउने पात्रहरूको विरुद्ध सशक्त प्रतिवाद गर्नु आजको अनिवार्य राजनीतिक जिम्मेवारी हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad