प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि सीमामा सर्तकता र स्वास्थ्य परीक्षणमा तदारुकता देखाउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएको छ।
मुख्यमन्त्री निवासमा मंगलबार सम्पन्न प्रतिपक्षीदलका नेताहरुसहितको निर्देशक समितिको बैठकपछि प्रदेश सरकारले सुरक्षा निकायका पदाधिकारी एवं स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरुलाई यस्तो निर्देशन दिएको हो।
मुख्यमन्त्री लालबाबु राउतले खुला सीमानाका कारण प्रदेशमा कोरोनाको त्रास बढेको हुँदा सीमा नाकामा थप कडाई गर्न सुरक्षा निकायको पदाधिकारीहरुलाई निर्देशन दिए।
सुरक्षामा चाहिने आवश्यक सामग्री तुरुन्त उपलब्ध गराउन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई निर्देशन दिँदै उनले स्वाब परीक्षणमा तीब्रता आउन नसकेको गुनासो चारै तिरबाट आएकाले स्वाब परीक्षण लगायतको काममा तदारुकता देखाउन पनि समाजिक विकास मन्त्रालयलाई निर्देशन दिए।
मुख्यमन्त्री राउतले कोरोना नियन्त्रणको लागि रकमको कुनै आभाव हुन नदिने प्रतिबद्धता जनाउँदै कार्यान्वयको पाटो कुनै पनि इन्तु किन्तु सुन्न नचाहेको बताए।
बैठकमा मुख्यमन्त्री राउतका अतिरिक्त मन्त्रीहरु, प्रतिपक्षी नेपाली कांग्रेका नेता राम सरोज यादव, नेकपाका प्रदेश सभा सदस्य शत्रुधन महतो, प्रमुख सचिव लगायत सबै मन्त्रालयका सचिवहरु, स्वास्थ्य सल्लाहकार समूहका पदाधिकारीहरु, चार वटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु सहितको उपस्थिति रहेको थियो।

प्रतिक्रिया