प्रदेश १ मा कोरोना रोग पत्ता लगाउन गरिने छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) को गति बढेसँगै यसको नतिजा आउने संख्या पनि थपिएको छ। द्रुत परीक्षण र पीसीआर विधिबाट प्रदेश १ मा मंगलबारसम्म जम्मा ६ सय ५३ जनाको नमूना परीक्षण भएको छ।
द्रुत विधिअन्तर्गत मंगलबारसम्म जम्मा ४ सय २ जनामा कोरोना परीक्षण गरिएको ती सबैको नतिजा नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ। जसमा ५६ महिला र ३ सय ४६ पुरुष छन्।
यसैगरी पीसीआर विधिबाट गरिएको परीक्षण भई नतिजा आउनेको संख्या जम्मा २ सय ३९ पुगेको छ। जसमा ४० महिला र १९९ पुरुष गरी २ सय ३९ जनाको रिर्पोट नेगेटिभ देखिएको हो। अरु २० जनाको नतिजा आउन बाँकी छ। यो विधिबाट जम्मा २ सय ५१ को नमूना परीक्षण भएको कोरोना सूचना डेस्कले जनाएको छ।
गत शनिबारबाट प्रदेश १ का क्वारेन्टिनबाट नमूना परीक्षण गरी द्रुत गतिमा परीक्षण शुरु भएको हो। प्रदेश सरकारद्वारा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षणको प्रबन्ध भएको गरिएको छ। यसैगरी विराटनगरको कोशी अस्पतालमा स्थापना गरिएको ल्याबबाट पनि परीक्षण शुरु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
यता, मंगलबारसम्म क्वारेन्टिनमा बस्नेको ५ सय ३८ जना छ। ५३ जना डिस्चार्ज भएका छन्। आइसोलेसन बेडमा मंगलबारसम्म १० जना बसिरहेका छन्। होम क्वारेन्टिनमा जम्मा ३ हजार ६ सय ८० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

प्रतिक्रिया