प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्।
सोमबार माओवादी केन्द्रले आफ्नो फेसबुक पेजमार्फत ‘माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनलाई ५ प्रश्न’ भन्दै सार्वजनिक गरेको भिडिओ कुराकानीमा उनले पार्टी रुपान्तरण हुँदै गइरहेको र जनताले त्यसलाई स्वीकार गरिरहेका बेला नेतृत्वप्रति आरोप लगाउनु गलत भएको समेत उल्लेख गरे।
‘पार्टी रुपान्तरण हुँदै छ, जनताले विश्वास गर्दै छन्,’ पुनले भने, ‘राम्रो हुँदा त कमसेकम नेतृत्वलाई राम्रो भन्न सक्नुपर्छ। नेतृत्वले जस्तोसुकै राम्रो काम गर्दा, जनतामा जाँदा, जनताले स्वीकार गर्दा पनि व्यक्तिगत आरोप, लान्छाना जस्तो, नेतृत्वलाई कमजोर बनाउने जो प्रवृत्ति छ, त्यो चाहिँ स्वीकार्य हुँदैन।’
उनको यो टिप्पणी अर्का उपमहासचिव जनार्दन शर्माविरुद्ध लक्षित देखिन्छ। शर्माले साउन ६ गते आयोजित पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अब पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने, पार्टीभित्र प्रश्न बर्जित रहेको र जनवादी केन्द्रीयता हराएर केन्द्रीयता मात्रै बाँकी रहेको टिप्पणी गरेका थिए।
पछिल्ला केही घटनाक्रममा जनार्दनलाई साथ दिएका पुनले शर्मालाई जवाफ दिँदै पार्टीभित्र पर्याप्त जनवाद समेत रहेको जिकिर गरेका छन्। ‘पर्याप्त जनवाद पनि प्रयोग गर्ने। पर्याप्त छलफल पनि गर्ने,’ उनको भनाइ छ, ‘अनि, आफ्नो कुरा बाहिर पनि राख्ने भन्दा यसले पार्टीभित्र अराजकता ल्याउँछ। यसले पार्टीभित्र अनावश्यक गुटबन्दी पनि ल्याउँछ।’
नेतृत्व हस्तान्तरण गर्नुपर्ने शर्माको भनाइप्रति पनि पुनले जवाफ दिएका छन्। अन्य ठूला पार्टीमा विचार र नेतृत्वकै संकट भए पनि आफ्नो पार्टीमा दुवै कुराको संकट नरहेको समेत उनको मत छ।
‘हाम्रोभित्र विचार र नेतृत्वको संकट होइन,’ पुनको भनाइ छ, ‘विचार, जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया र समाजवादसम्मको कार्यदिशा ल्याउने नेतृत्व र विचार छ। त्यसलाई कार्यान्वयन गर्ने निरन्तरको नेतृत्व छ। त्यसकारण विचार र नेतृत्वमा हाम्रो समस्या होइन।’
शर्मालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि जवाफ फर्काइसकेका छन्। साउन ७ मा आयोजित कार्यक्रममा उनले जनार्दनलाई पार्टीभित्र ‘प्रशस्त सिंगौरी खेल्न दिएको’ र ‘देशैभरि लिएरै हिँडेँ’को बताएका थिए।
पार्टीभित्र देखिएको पछिल्लो समस्याबारे स्थायी समिति बैठकमा छलफल हुने पुनको भनाइ छ। ‘त्यसबारे हामीले स्थायी समिति बोलाएका छौँ, त्यहाँ हामी छलफल गर्छौं,’ उनले भने, ‘यसबारे जिम्मेवारीपूर्वक नै छलफल गर्छौं। यसमा कुनै आवेग, उत्तेजना छैन। छलफल बहस र रुपान्तरणकै विधिबाट जानुपर्छ।’
Shares

प्रतिक्रिया