कारोबार


कर्जा निगरानीमा राष्ट्र बैंक लचक, खराब कर्जाको किस्ता नियमित भएमा ९० दिन मात्रै निगरानी गरे पुग्ने

कर्जा निगरानीमा राष्ट्र बैंक लचक, खराब कर्जाको किस्ता नियमित भएमा ९० दिन मात्रै निगरानी गरे पुग्ने

नेपालखबर
साउन १२, २०८२ सोमबार १८:१२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले कर्जामा गरिने निगरानीको अवधि घटाएको छ।

बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकहरुमा अपेक्षित कर्जा घाटा मूल्यांकनसम्बन्धी गाइडलाइन, २०२४ लाई संशोधन गर्दै तेस्रो वर्गमा परेका कर्जालाई दोस्रो वर्गमा स्थानान्तरण गर्ने समय छोट्याएको हो।

संशोधित गाइडलाइनअनुसार अब बैंकहरुले तेस्रो वर्गमा गणना गरेका कर्जाको किस्ता नियमित भएको खण्डमा त्यस्ता कर्जाको वर्ग स्तरोन्नति गर्न ९० दिन मात्रै निगरानी गरे पुग्ने भएको छ। यसअघि १८० दिनसम्म निगरानीमा राखेर त्यस्ता कर्जालाई स्तरोन्नति गर्न सकिने व्यवस्था थियो।

राष्ट्र बैंकले खराब कर्जाहरुमा गरिने निगरानीमा लचक नीति अपनाउँदै किस्ता नियमित भए तीन महिनामात्रै निगरानीमा राखेर दोस्रो वर्गमा स्तरोन्नति गर्न पाउने व्यवस्था गरेको हो।

हाल बैंक तथा वित्तीय संस्थाहरुले सक्रिय कर्जाअन्तर्गत असल कर्जा र सूक्ष्म निगरानीमा रहेका कर्जालाई राख्दै आएका थिए भने निष्क्रिय कर्जाअन्तर्गत कमसल, शंकास्पद र खराब कर्जालाई राख्दै आएका थिए।

नयाँ कार्यविधिले अब पहिलो, दोस्रो र तेस्रो वर्गमा ऋणलाई वर्गीकरण गर्नुपर्ने भएको छ। 

राष्ट्र बैंकले ऋणको किस्ता एक महिनासम्मको भुक्तानी नपुगेका कर्जालाई पहिलोमा, एक महिनाभन्दा बढी तर तीन महिना भुक्तानी नपुगेका कर्जालाई दोस्रो र तीन महिनाभन्दा बढी समयसम्म भुक्तानी नभएको कर्जालाई तेस्रो चरणमा राखेर वर्गीकरण गरेको छ।

तेस्रो चरण भनेको तीन महिनासम्म ऋण किस्ता नबुझाएको तथा कालोसूचीमा परेका कर्जाहरु रहन्छन्। यसलाई खराब कर्जा पनि मानिने गर्छ । धितोमार्फत पनि कर्जा असुल नभएका कर्जाहरुलाई खराबकर्जाको रुपमा गणना गर्दै बैंक तथा वित्तीय संस्थाहरुले किस्ता असुल भएको १८० दिनसम्म निगरानीमा राख्दै आएका थिए। 

राष्ट्र बैंकको नयाँ कार्यविधिले अब त्यस्ता खराब कर्जाको किस्ता भुक्तानी भएको मितिबाट ९० दिनसम्म निगरानीमा राखेर दोस्रो वर्गमा वर्गीकरण गर्नसक्ने छुट बैंकहरुलाई दिएको हो।

राष्ट्र बैंकले लिएको यो लचक नीतिले बैंकहरुको खराब कर्जा घटाउन मद्दत पुग्नेछ। हाल बैंकहरुको खराब कर्जा अधिकतम ७ प्रतिशतसम्म छ। राष्ट्र बैंकको नीतिले खराबमा गणना भएका कर्जाहरुको पनि किस्ता नियमित भएमा ३ महिनाभित्र खराबाट हटाउन सक्ने व्यवस्थाले बैंकहरुको खराब कर्जाको रेसियो घटाउने देखिएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad