राजनीति


‘कुलिङ पिरियड’ प्रकरणमा प्रचण्डलाई योगेशको चेतावनी: आफ्नै बोली आफैँलाई गलापासो नहोस्

‘कुलिङ पिरियड’ प्रकरणमा प्रचण्डलाई योगेशको चेतावनी: आफ्नै बोली आफैँलाई गलापासो नहोस्

फाइल तस्बिर : प्रचण्ड र योगेश भट्टराई


नेपालखबर
साउन ११, २०८२ आइतबार ८:५५, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा आफ्ना अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने माग गरेपछि सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। 

पूर्वमन्त्रीसमेत रहेका एमाले सचिव भट्टराईले ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थाको प्रतिवेदन तयार पार्ने राज्य व्यवस्था तथा सुशासन समितिको वरिष्ठतम् सदस्य प्रचण्ड पनि भएकाले उनले पनि त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने तर्क गरेका छन्। 

भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको तपाईं वरिष्ठतम् सदस्य पनि हो। जुन समितिले कुलिङ अफ पिरियड राख्ने निर्णय गरेको थियो। तर समितिको प्रतिवेदन संसद्‌मा पेस गर्दा यो व्यस्थालाई तलमाथि किन गरियो? समितिको वरिष्ठतम् सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठछ होइन र? अनि छानबिन त तपाईंमाथि नै गर्नु पर्ने हो कि? आफ्नै बोली आफै‌ँलाई गलापासो नहोस्!’

साथै भट्टराईले विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नुपर्छ भन्ने पक्षमा आफ्नो पार्टीको अडान अहिले पनि कायम रहेको उल्लेख गर्दै बरु प्रचण्ड यसका पक्षमा नरहेको आरोप पनि लगाएका छन्। 

उनले लेखेका छन्,  ‘तपाईंले वर्तमान प्रम केपी ओलीमाथि व्यंग्य गर्नुभएछ। तपाई कुलिङ अफ पिरियडका सम्बन्धमा “प्रचण्ड” अडानमा हो भने मेरो प्रश्न छ- २०८० फागुन ११ गते संसद्‌मा विधेयक दर्ता भएको बेला तपाई नै प्रम हुनुहुन्थ्यो र तपाईंकै अध्यक्षतामा बसेको मन्त्रिपरिषद्‌को बैठकले यो विधेयकलाई संसद्‌मा पेस गर्न स्वीकृति दिएको हो। जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन। यसले स्पष्ट गर्दछ कि तपाईं कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन। आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो? सांसदहरूको संशोधन प्रस्तावपछि मात्र यो विषयको बहस सुरु भएको हो। यो तथ्यका बारेमा हेक्का रहोस्।’

पूर्वप्रधानमन्त्री प्रचण्डले शनिबार काठमाडौँको सीतापाइलामा आयोजित एक कार्यक्रममा संघीय निजामती ऐनमा राखिएको ‘कुलिङ अफ पिरियड’मा गरिको किर्तेमा प्रधानमन्त्री केपी शर्मा ओलीकै मिलेमतो पुष्टि भएको आरोप लगाउँदै उनलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad