राजनीति


नेपालखबरको राइजिङ नेपाल समिटमा पूर्वराष्ट्रपति भण्डारी– गणतन्त्र स्थापना गर्‍यौँ, अबको पालो आर्थिक समृद्धि (भिडिओ)

नेपालखबरको राइजिङ नेपाल समिटमा पूर्वराष्ट्रपति भण्डारी– गणतन्त्र स्थापना गर्‍यौँ, अबको पालो आर्थिक समृद्धि (भिडिओ)

नेपालखबर
साउन ८, २०८२ बिहिबार १६:१९, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र स्थापनापछि नेपाल महत्त्वपूर्ण चरणमा प्रवेश गरेको बताएकी छन्। 

नेपालखबरले आयोजना गरेको राइजिङ नेपाल समिटलाई सम्बोधन गर्दै उनले अब नेपाल समृद्धिको यात्रामा अग्रसर भएको बताएकी हुन्। 

‘नेपालखबर डटकमले विचारसँगै राज्यका महत्त्वपूर्ण बहस र विमर्श गर्दै समृद्धिको बाटो बनाउँदै भन्दै आयोजना गरेको पहललाई मैले महत्वपूर्ण कार्यक्रम मानेको छु’, कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि हामीले महत्त्वपूर्ण चरण पार गरेका छौँ। अब हामी आर्थिक समृद्धिको चरणमा प्रवेश गरेका छौँ।’

उनले सामाजिक न्याय र समानतामा आधारमा समाजवाद निर्माणमा जुट्नुपर्ने बताइन्। लगानीको दिगो परिचालनमा धयान केन्द्रित गर्नुपर्ने उनको सुझाव छ।

‘राजनीतिक दलहरूले उपयुक्त कार्यान्वयनमा आआफ्नो भूमिका निर्वाह गर्नुपर्दछ। सरकारले विद्यमान नीतिहरूको गहन समीक्षा गर्दै अग्रसरता देखाउनुपर्छ’, देशको समृद्धिको यात्रामा सहकार्य गर्न आह्वान गर्दै उनले भनिन्, ‘प्रतिपक्षले रचनात्मक सहयोग गर्नुपर्छ। यसपछि मात्रै स्वदेशी तथा विदेशी लगानीको ढोका खुल्नेछ। दीगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्नेछ।’

भिडिओ:

आर्थिक विकासका लागि अत्यन्त अनुकूल समय भएको बताउँदै उनले अब उर्वर कृषि भूमि, जल सम्पदा र खनिजको उपयोग गर्नुपर्नेमा जोड दिइन्।

‘रुग्ण उद्योगको सञ्चालन प्राकृतिक र सांस्कृतिक सम्पदालाई आधार बनाएर आर्थिक समृद्धिको बाटो तय गर्नुपर्छ। उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्छ’, पूर्वराष्ट्रपति भण्डारीले भनिन्। 

आर्थिक उन्नयनका लागि स्वदेशी सीप र प्रविधिको अति आवश्यक रहेकाले नेपालीको पुँजी र अन्य लगानीलाई लगानीको वातारवरणमार्फत आकर्षण गर्नुपर्ने बताइन्।

'दीर्घकालीन योजना तर्जुमा गरी विश्वासिलो वातावरण बनाउनुपर्छ। दुई छिमेकी नेपाल र भारतको सहयोग लिएर थप द्रुत पार्नुपर्छ। अन्य मुलुकको साझेदारलाई थप काम गर्नुपर्छ,' उनले भनिन्, 'पहिचानका रुपमा रहेका पूर्वेली ढाका, पाल्पाली ढाका, भोजपुरे खुकुरीलगायतलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने योजना बनाउनुपर्छ। बजारीकरणको योजना हामीले बनाउनुपर्छ।'

उनले नेपाली मौलिक उत्पादनलाई उपहार सामग्रीको रुपमा कसरी धेरै उत्पादन गर्न सकिन्छ भन्नेमा ध्यान दिन पनि आग्रह गरिन्। 

'नेपाली मौलिक उत्पादनलाई उपहार सामग्रीको रुपमा ठूलो परिमाणमा उत्पादनमा ध्यान दिनुपर्छ। यसका लागि स्थानीय र निजी क्षेत्रसँग साझेदारी गर्नुपर्छ,' उनले भनिन्, 'अहिले उद्यमशीलतामा युवापुस्ताको भावनालाई कदर गर्दै स्वदेशमै आर्थिक समृद्धिको खाका बनाउनुपर्छ। स्वदेशमै केही हुन्छ भन्ने आत्मविश्वास जनाउन सक्छौँ। यसका लागि सरकारी, निजी सामुदायिक क्षेत्रको लगानीको वातावरण बनाउन प्रयत्न गर्नुपर्छ।'

चुलिँदो व्यापार घटा हाम्रो देशको अर्थतन्त्रको बाधकको रुपमा रहेको छ। ठूलो परिमाणमा दैनिक उपभोग्य सामान भित्र्याउनुपरेको छ। अर्थतन्त्रको मूल माध्यम यसलाई सम्मानजनक पेसाको रुपमा अघि बढाउनुपर्छ। 

यस्ता छन् उनले उठाएका विषयवस्तु 
-नेपालको एक प्रतिष्ठित अनलाइन समाचार पोर्टल ‘नेपालखबर डट कम’द्वारा आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘राइजिङ नेपाल समिट २०२५’ को उद्घाटन सत्रमा सहभागी भई तपाईँहरूसँग भेटघाट र अन्तक्र्रिया गर्ने अवसरका लागि आयोजकलाई धन्यवाद दिन चाहन्छु । 

-साथै, यस कार्यक्रमको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्दै भविष्यमा समेत आयोजकबाट यस्तै रचनात्मक कार्यक्रम आयोजनाको अपेक्षा लिएको छु ।

-एक जिम्मेवार सञ्चार माध्यमको नाताले नेपालखबर डट कमले समाचार र विचार सम्प्रेषणसँगै समाज तथा राष्ट्रका महत्वपूर्ण मुद्दाहरूमा बहस र विमर्शको थालनी गर्ने प्रयत्नस्वरूप ‘लगानीको ढोका खोल्दै, समृद्धिको बाटो बनाउँदै’ भन्ने मूल विषयसहित आयोजना गरिएको यो समिटलाई मैले समयसापेक्ष र सकारात्मक पहलको रूपमा लिएको छु । 

-यस समिटका उपयोगी निष्कर्षहरूका बारेमा सरोकारवाला सबैसँग छलफल गरेर तिनलाई कार्यान्वयन तहमा लैजान सके आयोजकको यो प्रयास थप सार्थक हुने विश्वास समेत लिएको छु । 

-नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानद्वारा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि हामीले महत्वपूर्ण राजनीतिक परिवर्तनको चरण पार गरेका छौँ । 

-अब हामी मुलुकको आर्थिक समृद्धिको अभियानलाई सफल पार्नुपर्ने परिवेशमा प्रवेश गरिसकेका छौँ । 

-यो चरणलाई सफल पार्न हामीले राजनीतिक स्थायित्व कायम गरी सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माणतर्फ दृढतापूर्वक अग्रसर हुनु पर्दछ । 

-राष्ट्रिय पुँजीको विकास र त्यसको दिगो परिचालनमा ध्यान केन्द्रित गर्नै पर्दछ । 

-यसका लागि सम्पूर्ण राजनीतिक दलहरूले देशको सामाजिक–आर्थिक विकासका निम्ति उपयुक्त नीति निर्माण, योजना तर्जूमा र त्यसको कार्यान्वयनमा आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्दछ । 

-अनि सरकारले विद्यमान नीतिहरूको गहन समिक्षा गर्दै तिनको समयसापेक्ष परिमार्जन गर्न अग्रसरता देखाउनु पर्दछ भने प्रतिपक्षले त्यसमा रचनात्मक सहयोग समेत गर्नुपर्दछ । 

-यस्तो प्रयासबाट नै मुलुकमा स्वदेशी तथा विदेशी लगानीको ढोका खुल्ने र समृद्धिको यात्रा सफलताको दिशातर्फ उन्मुख हुनेछ । 

-अनि यसबाट दिगो विकास लक्ष्य हासिल गर्न समेत ठुलो योगदान पुग्नेछ । 

-हाम्रो देश प्राकृतिक स्रोत तथा साधनले सम्पन्न छ । 

-यस्तो अवस्था भनेको आर्थिक विकासका निम्ति अत्यन्तै अनुकूल परिवेश हो । 

-त्यसैले, मुलुकको आर्थिक समृद्धिका लागि यहाँ उपलब्ध उर्वर कृषि भूमि, जैविक विविधतायुक्त वन क्षेत्र, अपार जलसम्पदा, खनिजको बहुआयामिक सदुपयोग गर्नु पर्दछ । 

-रुग्ण उद्योगको पुनरुत्थान, कृषि उपज आधारित उद्योगको प्रवद्र्धन एवम् आधुनिक उद्योगधन्दाको विकासमा पर्याप्त ध्यान पु¥याउनु पर्दछ । 

-हाम्रो सांस्कृतिक वैशिष्ट्यता तथा प्राकृतिक सौन्दर्यलाई पर्यटनसँग जोडेर आर्थिक उपार्जनको भरपर्दो माध्यम बनाउनु पर्दछ । हामीलाई वरदान स्वरूप प्राप्त प्रकृतिलाई सिँगारेर आर्थिक समृद्धिको प्रयासलाई तीब्र पार्नुपर्दछ । 

-हाम्रा बहुमूल्य स्रोत र सम्पदाहरूको समुचित संरक्षण गर्दै तिनको वैज्ञानिक एवं दिगो उपयोग गरी आत्मनिर्भर, स्वाधीन र उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नु पर्दछ । 

-राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ पारेर नै हाम्रो राष्ट्रिय स्वाभिमानलाई अटल र उँचो राखिरहन सकिनेछ । 

-आर्थिक उन्नयनका लागि स्वदेशी पुँजी, श्रम, सीप र प्रविधिको अधिकतम् उपयोग अति आवश्यक छ । 

-साथै, विदेशमा रहेका नेपालीको पुँजी र अन्य अन्तर्राष्ट्रिय लगानीलाई समेत पारदर्शी, स्थिर र लगानीमैत्री वातावरणमार्फत आकर्षित गर्नु पर्दछ । 

-यसका लागि सरकारले स्पष्ट नीति, उचित ऐन–कानून, दीर्घकालीन योजना तर्जूमा गरी त्यसको कार्यान्वयनका लागि थप विश्वासिलो वातावरण बनाउनुपर्ने खाँचो रहेको छ । 

-हाम्रा दुई घनिष्ट छिमेकी मित्रराष्ट्रहरू भारत र चीनले हासिल गर्दै गएका उदाहरणीय र महत्वपूर्ण अभ्यासहरूबाट प्रेरणा लिएर हाम्रो समृद्धिको यात्रालाई थप दू्रत पार्नु पर्दछ । 
-साथै, नेपालको समृद्धिको यात्रामा अन्य अन्तर्राष्ट्रिय साझेदारहरूको उपयोगीतालाई समेत आत्मसात गर्नुपर्दछ ।

-मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादन प्रवद्र्धन, रोजगारी सिर्जना, ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा विशेष ध्यान दिनु पर्दछ । 

-हाम्रो पहिचानका रूपमा रहेका पुर्वेली ढाका तथा पाल्पाली ढाका, भोजपुरे खुकुरी तथा करुवा, हाते कागज एवम् पाटनमा उत्पादित ढलौटका मूर्तिजस्ता सामग्रीलाई ब्राण्डिङ्ग गरेर अन्तर्राष्ट्रिय बजारमा पु¥याउने योजना बनाउनु पर्दछ । 

-विश्वभर छरिएर रहेका नेपालीहरूका बीचमा यहाँको उत्पादनलाई बजारीकरण गर्ने योजना बनाउनु पर्दछ । 

-हाम्रा यस्ता नेपाली मौलिक उत्पादनलाई उपहार सामग्रीको रूपमा ठूलो परिमाणमा उत्पादन गर्न ध्यान पुग्नु पर्दछ । यस्तो कार्यमा संलग्न जनशक्तिलाई थप तालिम दिन प्राविधिक शिक्षालयहरूसँग समेत सहकार्य गर्नुपर्दछ । 

-हाम्रो समृद्धिको यात्रामा यो महत्वपूर्ण पाइला साबित हुनेछ । 

-अहिले उद्यमशीलता र त्यसमा पनि युवा उद्यमशिलता प्रवद्र्धनमा पर्याप्त ध्यान दिनुपर्ने खाँचो रहेको छ । 

-नयाँ पुस्ता र युवा पुस्ताको जाँगर, असल चाहना र भावनालाई आत्मसात गरी गुणस्तरीय शिक्षासहित स्वदेशमै रोजगारीको व्यापक अवसर सिर्जना गर्न अग्रसर हुुनुपर्दछ । 

-यसबाट एकातिर श्रम पलायन निरुत्साहित हुन पुग्दछ भने अर्कोतिर स्वदेशमै केही हुँदो रहेछ भन्ने आत्मविश्वास पलाउँछ । 
-यसका लागि सरकारी, नीजि, सहकारी र सामुदायिक क्षेत्रलाई लगानी वृद्धि गर्न सम्बद्ध सबैले प्रोत्साहित गर्नुपर्दछ । 
-साथै, गुणस्तरीय प्राविधिक एवं व्यावसायिक शिक्षाको विकास गरी रोजगारी तथा उद्यमशिलता प्रवद्र्धन गर्ने ठोस नीति बनाएर त्यसको कार्यान्वयन गर्नुपर्दछ । 

-चुलिँदो व्यापार घाटा हाम्रो देशको विकासको बाधकको रूपमा रहेको छ । 

-स्वदेशी उत्पादन र उत्पादकत्व बढाउन नसक्दा विदेशी मुद्रा तिरेर ठूलो परिमाणमा दैनिक उपभोग्य सामग्री भित्र्याउनुपर्ने हाम्रो बाध्यता हो । 

-यसका लागि हाम्रो उत्पादन र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्नै पर्दछ ।

-अर्थतन्त्रको महत्वपूर्ण आधार कृषिलाई सम्मानित पेशाको रूपमा स्थापित गर्न यसलाई आधुनिकीकरण र व्यावसायीकरण गरिनु पर्दछ । 

-यसबाट हाम्रो जस्तो कृषि प्रधान मुलुकले कृषि उपज समेत विदेशबाट आयात गर्नुपर्ने दयनीय र लज्जास्पद अवस्थाको अन्त गर्न ठुलो मद्दत पुग्नेछ । 

-यस सन्दर्भमा, हामीले मनन गर्नु पर्ने महत्वपूर्ण कुरा के हो भने, नेपालको समृद्धि केवल वर्तमानको आर्थिक सूचकांकले मात्र मापन गर्न सकिँदैन । 

-बरु यसलाई दिगो तुल्याउन हाम्रो राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिबद्धता र राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिरहनु पर्दछ । 

-लगानी प्रवद्र्धन यस अभियानको एउटा महत्वपूर्ण माध्यम अवश्य हो, जसले आत्मनिर्भर र शोषणरहित समृद्ध नेपाल निर्माणको लक्ष्यलाई सार्थक तुल्याउन ठुलो मद्दत पु¥याउँछ । 

-त्यसैले, जब हामी ‘लगानीको ढोका’ खोल्ने कुरा गर्छौं, त्यो ढोका केवल पुँजी र मुनाफाका लागि मात्र खोलिएको हैन, बरु त्यो ढोका न्याय, सम्भावना र विश्वासका लागि पनि खोलिएको हो भन्ने ठान्नु पर्दछ । 

-हामीले हाम्रो समृद्धिको मार्ग अरूको मोडेल अनुकरण गरेर होइन, आफ्नै समाजका आवश्यकता, स्रोत साधन, सन्दर्भ र सम्भावनालाई गहिरो रूपमा विश्लेषण गरेर नै तय गर्नुपर्दछ । 

-देशभित्र लगानीको वातावरण बनाउने सबैभन्दा ठूलो कारक हो— राजनीतिक स्थायित्व र विश्वासको वातावरण नै हो । 

-नीतिगत स्पष्टता, विधिको शासन, पारदर्शी प्रशासन यी सबै आवश्यक छन्, तर त्यसको आधार बनाउने कार्य राजनीतिक नेतृत्व को काँधमा छ । 

-साथै, हामीले के पनि बिर्सनु हुँदैन भने— समृद्धि केवल मुठ्ठीभर मानिसहरूको लागि होइन, आम जनताको लागि हुनुपर्छ । 

-त्यसैले लगानीसँगै रोजगारी, समावेशिता, ग्रामीण विकास, महिला उद्यमशीलता, श्रमिकको सुरक्षा, वातावरणीय जिम्मेवारी पनि सुनिश्चित हुनुपर्छ ।

-म स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई के भन्न चाहन्छु भने, नेपाल अब स्थायित्व, परिवर्तन र विश्वासको नयाँ युगमा प्रवेश गरिसकेको छ । 

-यहाँ लगानी गर्नु केवल मुनाफा कमाउने कुरा मात्र हैन, इतिहासको साझेदार बन्ने अवसर पनि हो । 

-नेपालमा लगानी गर्नु भनेको एक गरीबलाई रोजगारी दिने, एक उद्यमीलाई हौसला दिने, एक गाउँमा उज्यालो ल्याउने कार्य समेत हो । 

-त्यसैले, हामी सबै आर्थिक समृद्धिको यात्रालाई सार्थक तुल्याउन सक्रियतापूर्वक अग्रसर बनौँ । 

-समृद्धि केवल सपना हैन, अब त्यो हाम्रो संकल्प बन्नुपर्छ । 

-यही आशा, विश्वास र प्रतिबद्धतासहित म पुनः आयोजक संस्था, सहभागी र उपस्थित सबैलाई धन्यवाद दिन चाहन्छु । 

-साथै, नेपालखबर डट कमको निरन्तर प्रगति र रचनात्मक पत्रकारिता यात्राको लागि शुभकामना व्यक्त गर्दछु । 
धन्यवाद ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad