राजनीति


२ सातापछि अमेरिकाबाट स्वदेश फर्किए नारायणकाजी

भ्रमण सार्थक र उपलब्धिमूलक भएको प्रतिक्रिया
२ सातापछि अमेरिकाबाट स्वदेश फर्किए नारायणकाजी

नेपालखबर
साउन ८, २०८२ बिहिबार १२:५६, काठमाडौँ

पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ संयुक्त राज्य अमेरिकाको दुईसाता लामो भ्रमण सम्पन्न गरी नेपाल फर्किएका छन्। श्रेष्ठ गएराति स्वदेश फर्किएका हुन्।

गएकाे असार २० गते उनी अमेरिका प्रस्थान गरेका थिए।

आफ्नाे भ्रमणबारे उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिएका छन्। भारतबाहेक अन्य मुलुकमा यसअघि व्यक्तिगत हैसियतमा भ्रमण नगरेको उल्लेख गर्दै आफ्नाे अमेरिका भ्रमण पहिलोपटक भएको जनाएका छन्।

‘मूलतः अमेरिका बसोबासमा रहनुभएका नेपाली मित्र एवं दिदीबहिनी दाजुभाइहरूसँग भेट्घाट तथा छलफल गर्ने उद्देश्य राखिएको थियो,’  श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो भ्रमण सार्थक र उपलब्धिमूलक भएको छ भन्ने निष्कर्षमा पुगेको छु।’ 

अमेरिकामा करिब १० राज्यका विभिन्न शहरमा आफूले भ्रमण गरेकाे उनले बताए। त्यस क्रममा गैर आवासीय नेपाली संघ, स्थानीय नेपाली संस्था तथा नेपाली समुदायले उनलाई स्वागत गरेका थिए। श्रेष्ठ विभिन्न अन्तरक्रिया कार्यक्रममा पनि सहभागी भएका थिए। 

अमेरिका बसाइकाे क्रममा उनी भर्जिनियामा एनआरएनए अमेरिका र नेपाली बौद्धिक समुदायले आयोजना गरेकाे गोलमेच छलफलमा सहभागी भए। सो कार्यक्रममा अमेरिकी तथा अन्तर्राष्ट्रिय स्तरमा सक्रिय नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक, चिकित्सक, इन्जिनियर तथा बौद्धिक वर्गको उल्लेखनीय सहभागिता थियो।

उक्त छलफल र अन्तक्रिया कार्यक्रममा नेपालको विकास, वैदेशिक अनुभव, ज्ञान, सीप र पूँजीलाई उपयोग गर्ने उपाय, गैर आवासीय नेपाली नागरिकताको औचित्य तथा मातृभूमिसँगको निरन्तर सम्बन्ध जस्ता विषयमा गम्भीर छलफल भएको श्रेष्ठले जानकारी दिएका छन्।

उनले अमेरिकामा रहेका नेपाली समुदायप्रति कृतज्ञता व्यक्त गर्दै विचार, आस्था र संलग्नता भन्दा माथि उठेर प्राप्त भएको सद्भाव र सम्मानबाट आफू अत्यन्त प्रेरित भएको पनि बताएका छन्।

‘तपाईंहरूको सद्भाव र विश्वासले देश र जनताको हितमा समर्पित हुने ऊर्जा थपिएको महसुस गरेको छु,’ उनले भनेका छन्, ‘मैले व्यक्त गरेका प्रतिबद्धताहरूको शीघ्र कार्यान्वयनमा दृढतापूर्वक लाग्ने विश्वास दिलाउन चाहन्छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad