नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा फर्किने ढोका बन्द गरिदिएको छ।
केन्द्रीय समितिको बैठक सकिँदै गर्दा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति भण्डारीप्रति कठोर भएका हुन्।
बैठक समापन गर्दै ओलीले भण्डारीको सदस्यता नवीकरण नै अस्वीकार गरिदिएको एक नेताले जानकारी दिए।
‘पार्टी अध्यक्षले दिएका सुझाव र त्यसको जवाफको प्रतीक्षामा रहेको अवस्थामा उहाँले पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटीको बैठकलाई नै चुनौती दिएकोले आजको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई पार्टीमा नफर्किन आफ्नो गरिमाअनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने निर्णय भयो’, ती नेताले नेपालखबरसँग भने।
ती नेताका अनुसार केन्द्रीय समितिको बैठक समापन गर्दै अध्यक्ष ओलीले आक्रोश व्यक्त गरेका थिए।
पछिल्लो समय भण्डारीले सार्वजनिक रूपमै सक्रिय राजनीतिमा फर्किने इच्छा देखाउँदै आएकी थिइन्।
स्रोतका अनुसार ओलीले बैठकमा कठोर प्रस्ताव गरेपछि उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले प्रतिवाद गरेका थिए।
यी दुई नेतासहित स्थायी कमिटी सदस्य कर्ण थापाले अध्यक्षको निर्णयमा 'नोट अफ डिसेन्ट' लेखेका छन्।
यद्यपि ओलीको प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन भएको छ।
मंगलबार मात्रै भण्डारीले अध्यक्ष ओलीप्रति तीव्र असन्तुष्टि जनाएकी थिइन्। आफ्नै निवासमा पत्रकार बोलाएर उनले ओलीप्रति रोष प्रकट गरेकी थिइन्।
सोही कुरालाई लिएर जसरी पनि रोक्न लालायित देखिएका ओलीले भण्डारीविरुद्ध निर्णय गराएको बैठकमा सहभागी ती नेताले बताए।
भण्डारीले डटेर सामना गर्ने
यसैबीच भण्डारी भने आफूविरुद्ध भएको कठोर निर्णयको डटेर सामना गर्ने पक्षमा देखिएकी छिन्।
‘अब उहाँले खुट्टा कमाउँदिन भन्नुभएको छ, हेरौँ भोलि के निर्णय हुन्छ’, एक पोलिटब्युरो सदस्यले भण्डारीको धारणा उद्धृत गर्दै नेपालखबरसँग भने, ‘जे भयो, राम्रो भएन।’
भण्डारी लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुन् भने नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति समेत हुन्। राष्ट्रपति बन्ने पहिलो नेपाली महिला उनी एमालेका स्वर्गीय लोकप्रिय नेता मदन भण्डारीकि श्रीमती हुन्।
उनी २०७२ कार्तिक ११ मा नेपालको व्यवस्थापिका-संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित भएकी थिइन्। उनले राष्ट्रपतिको रुपमा दुई कार्यकाल पूरा गरेकी छिन्। पहिलो कार्यकाल सकिएपछि वि.सं. २०७४ फागुन २९ गते दोस्रो कार्यकालका लागि नेपालको राष्ट्रपति पदमा निर्वाचित भई उनले भोलिपल्ट अर्थात् फागुन ३० गतेदेखि पुनः राष्ट्रपति पदको कार्यभार सम्हालेकी थिइन्।
२०७९ फागुन २८ मा राष्ट्रपतिको कार्यकाल सकिएपछि भने भण्डारी निजी निवासमा बस्दै आएकी थिइन्।
पछिल्लो समय राजनीतिमा फर्किन सरकारी सुविधा नलिने घोषणा गर्दै उनले सामाजिक र राजनीतिक भेटघाटमा सक्रिय रहँदै आएकी छिन्।
राष्ट्रपति बन्नुअघि उनी नेकपा एमालेकी उपाध्यक्ष थिइन्। ०७२ कात्तिक १० मा पदबाट राजीनामा दिएर राष्ट्रपतीय चुनावमा सहभागी भएकी थिइन्।
Shares

प्रतिक्रिया