सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका-२ र ४ जोड्ने दुधकोसी नदीमा निर्माणाधीन पक्की मोटरेबल पुल सिखु खोलाबाट आएको गेग्रान बाढीले पुरिँदा नदीको बहाव अवरुद्ध भएको ३ दिन बितिसक्दा पनि सरोकारवाला निकायले चासो दिएका छैनन्।
नदी थुनिएर करिब एक किलोमिटर दूरीसम्म पानी जमेको स्थानीयको भनाइ छ। कोसी प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत सोलुखुम्बुबाट खोटाङ जोड्ने काङेल बात्तिम-वादे जुबु सडकखण्डमा निर्माण भइरहेको पुल सिखु खोलाको बाढीले क्षतिग्रस्त बनाएको हो।
सिखु खोलाबाट बगाएको लेदो, ढुंगा र माटोले पुलको एक स्पान पुरिएपछि दुधकोसी थुनिएको हो। असार २६ गते आएको बाढीले पुलको आधा भाग पहिल्यै पुरिसकेको थियो भने पुनः शनिबार रातको बाढीले थप क्षति पुगेको थियो। पुल पुरिएर पानीको सतहमाथि उठेको छ। पुलमाथिबाटै पानी बगिरहेको स्थानीयको भनाइ छ।
थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष युजन बस्नेतले असार २६ गतेको बाढीपछि थुनिएको नदी सुरुमा २००-३०० मिटर क्षेत्रफलमा पानी जमेको थियो, तर शनिबारको बर्षापछि पानीको सतह बढ्दै जाँदा अहिले करिब एक किलोमिटरभन्दा लामो क्षेत्रमा नदी थुनिएको बताए। ‘सिखु खोलाबाट आएको बाढीले ठूला ढुंगा थुपार्दा दुधकोसी बाँध झैँ बनेको छ,’ उनले भने।
कोशी प्रदेशकै ठूलो ८६ मेगावाट क्षमताको सोलुखोला-दुधकोसी जलविद्युत् आयोजनाको पावरहाउस पनि पानीको सतहमाथि उठेका कारण जोखिममा परेको देखिएको वडा अध्यक्षको भनाइ छ।
सोलुखुम्बुका प्रदेशसभा सदस्य गम्बु शेर्पाले घटनास्थलमा पुलको संरचना गम्भीर जोखिममा परेको बताए। उनका अनुसार पुलभन्दा माथिल्लो भागमा करिब एक किलोमिटर दुरीसम्म पानी थुनिएको छ। यदि माथिबाट थप बाढी आयो भने स्थिति भयावह हुन सक्ने जानकारीमा आएको शेर्पाले बताए।
थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले भने तत्कालका लागि कुनै ठूलो जोखिम नरहेको दाबी गरे। ‘प्राविधिक टोली स्थलगत निरीक्षणमा छन्, पानी साईडबाट बगिरहेको छ,’ उनले भने, ‘अलिअलि ताल बनेको देखिन्छ। तर ठाडो खोलाबाट फेरि बाढी आयो भने सजग रहनुपर्ने अवस्था छ।’ उनले जिल्ला प्रशासन र प्रहरी कार्यालयसँग समन्वयमा रहेर जोखिम न्यूनीकरणका उपायहरू अपनाइरहेको जानकारी दिए।
दुधकोसीमा निर्माण भइरहेको पक्की पुल २०७६ सालदेखि निर्माण सुरु गरिएको हो। प्रदेश सरकारको १५ करोड रुपैयाँभन्दा बढी बजेटमा निर्माण थालेको यो परियोजना बजेट अभावका कारण लामो समयदेखि अधुरो थियो। अहिले बाढीबाट संरचना गम्भीर रूपमा क्षतिग्रस्त भएको छ।
स्थानीय जनप्रतिनिधिहरू र बासिन्दाहरूले सम्बन्धित निकायलाई तत्काल स्थलगत निरीक्षण गरी जोखिमको मूल्यांकन गर्न, नदीको प्रवाह पुनः व्यवस्थित गर्न र अधुरो पुलको विकल्पमा दिगो पूर्वाधार विकासमा ध्यान दिन आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जोखिमको विषयमा आँकलन गर्न नसकेको स्थानीय जनप्रतिनिधिको आरोप छ।
पुल नै पुरिएर पानी जमेको बिषयलाई सामान्य आक्ने काम भएको बस्नेतले आरोप लगाए। वरिपरि बस्ती नभएपनि बाढी बढेर जाँदा यसले खेतीयोग्य जमिनमा क्षति गर्ने र हाइड्रोपावरमा क्षति पुग्नसक्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ।
Shares

प्रतिक्रिया