राजनीति


पार्टीको नीतिविपरीत सञ्जालमा अभिव्यक्ति नदिन कार्यकर्तालाई राप्रपाको निर्देशन

पार्टीको नीतिविपरीत सञ्जालमा अभिव्यक्ति नदिन कार्यकर्तालाई राप्रपाको निर्देशन

नेपालखबर
साउन २, २०८२ शुक्रबार १८:१४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको नीति तथा सिद्धान्तविपरित सामाजिक सञ्जाल र सञ्चार माध्यममा अभिव्यक्ति नदिन कार्यकर्तालाई निर्देशन दिएको छ। 

केन्द्रीय अनुशासन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी यस्तो निर्देशन गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाको केन्द्रीय अनुशासन समितिको बैठक समितिकी अध्यक्ष, पार्टीका वरिष्ठ नेता उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ। बैठकले पार्टीको नीति, विचार, सिद्धान्त र वृहतर हित विपरित हुने गरि सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा लिखित वा मौखिक रूपमा कुनै पनि प्रकारको अभिव्यक्ति नदिन तथा त्यस सम्बन्धी कुनै पनि क्रियाकलाप नगर्नु नगराउनु हुन पार्टीका सबै तहका नेता कार्यकर्ताहरूलाई हार्दिक अनुरोध गर्दछ।’

यसअघि आजै राप्रपाले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई बर्खास्त गरेको जनाएको थियो। 

हिजो मात्रै राप्रपाका चार पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्रीद्वय धवल शमशेर राणा र कुन्ती शाहीले संयुक्त विज्ञप्ति निकालेर अध्यक्ष लिङ्देनले विधानविपरीत स्वेच्छाचारी निर्णय गरेको आरोप लगाएका थिए। उनीहरू नवराज सुवेदीलाई अनुशासन समितिबाट निकालेको भन्दै आपत्ति जनाएका हुन्।

आफूविरुद्ध संयुक्त विज्ञप्ति जारी गरेपछि लगत्तै अध्यक्ष राजेन्द्र लिङ्देनले ‘अब कठोर हुने समय आएको’ टिप्पणी गरेका थिए।

लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साथीहरू, निष्ठाको रक्षाको लागि अब कठोर बन्ने समय आयो।’

यसअघि महामन्त्री धवल शमशेरको सचिवालयमा लिङ्देनविरुद्ध राप्रपाको छु्टै भेला राखिएको थियो भने सुवेदीले आफूलाई पार्टीको अनुशासन समितिको संयोजकमा पुनर्बहाली माग गर्दै निर्वाचन आयोगमा उजुरी दिइएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad