राजनीति


तुर्कमेनिस्तान भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

तुर्कमेनिस्तान भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

नेपालखबर
साउन २, २०८२ शुक्रबार ९:५०, काठमाडौँ

स्पेन भ्रमणबाट फर्किएको एक महिना नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली फेरि अर्काे विदेश भ्रमणमा जाने भएका छन्।

प्रधानमन्त्री ओली साउन तेस्रो साता मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणमा जान लागेका हुन्।

भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन (एलएलडीसी थ्री) साउन तेस्रो साता तुर्कमेनिस्तानको पर्यटकीय सहर अभाजामा हुँदै छ।

संयुक्त राष्ट्र संघअन्तर्गतको यस निकायको सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली अभाजा जाने भएका हुन्।

प्रत्येक १० वर्षमा हुने यो सम्मेलन यसअघि ३–५ नोभेम्बर २०१४ (१७–१९ कात्तिक २०७१) मा अस्ट्रियाको भियनामा भएको थियो।

पहिलो सम्मेलन भने अर्काे मध्य एसियाली मुलुक कजाखस्तानको राजधानी अल्माटीमा सन् २००३ मा आयोजना गरिएको थियो।   

समुद्रसँग पहुँच अभावका कारण विश्वव्यापी बजारबाट टाढा रहेका, पर्याप्त यातायात र खाद्यान्नका लागि आवस्यक पूर्वाधार अभावजस्ता चुनौती सामना गरिररहेका यी मुलुकबीच साझेदारीमार्फत समस्या समाधानका लागि संयुक्त राष्ट्रसंघले यो समूहको स्थापना गरेको हो।

‘एलएलडीसी’मा रहेका विश्वका ३२ वटा भूपरिवेष्ठित-विकाशील मुलुक आबद्ध छन्। यसमा एसियाबाट १२, अफ्रिकाबाट १५, युरोप र दक्षिण अमेरिकाबाट २–२ देशमा छन्। 

एसियाली मुलुकमा नेपालसहित अफगानिस्तान, आर्मेनिया, अजरबैजान, भुटान, कजाखस्तान, किर्गिस्तान, लाओस, मंगोलिया, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन्।

सबैभन्दा धेरै अफ्रिकी मुलुक- बोत्स्वाना, इश्वातिनी, इथियोपिया, लेसोथो, मलावी, माली, नाइजर, रुवाण्डा, दक्षिण सुडान, युगाण्डा, जाम्बिया, जिम्बावे, सेन्ट्रल अफ्रिकल रिपब्लिक, चाड र बुर्किनाफासो छन्। 

युरोप र दक्षिण अमेरिकाबाट दुई/दुई देश तथा युरोपका नर्थ म्यासेडोनिया र रिपब्लिक अफ मोल्दोभा (युरोप), दक्षिण अमेरिकाका बोलिभिया र पाराग्वे छन्।

प्रधानमन्त्री ओली यसअघि संयुक्त राष्ट्रसंघकै विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन (१५–१९ असार) मा भाग लिन स्पेन पुगेका थिए। सम्मेलन स्पेनको सेभिल्लामा भएको थियो। 

संयुक्त राष्ट्रसंघले ‘एलएलडीसी’ सम्मेलनजस्तै ‘विकासका लागि वित्त’ सम्मेलनपनि प्रत्येक १० वर्षमा आयोजना गर्छ। हरेक १० वर्षमा हुने राष्ट्रसंघअन्तर्गतका दुवै निकायका सम्मेलनमा प्रधानमन्त्री ओलीको सहभागिता रहने संयोग जुरेको हो। 

स्रोतका अनुसार, ‘विकासका लागि वित्त सम्मेलन’ र ‘एलएलडीसी थ्री’ दुवै सम्मेलनका लागि निम्ता आए पनि यसअघि सेभिल्ला (स्पेन) मा भएको सम्मेलनमा प्रधानमन्त्री ओली र अभाजा (तुर्कमेनिस्तान) मा हुने सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने योजना थियो। 

सन् २०३० सम्म नेपालले दीगो विकास लक्ष्य सम्पन्न गर्नुपर्ने र त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने भएकाले ‘विकासका लागि वित्त’ सम्मेलनमा प्रधानमन्त्री उपस्थित हुँदा उपलब्धिमूलक हुने ठानेर पहिलो कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागिता जनाएका थिए। 

‘तर अभाजा (तुर्कमेनिस्तान) पनि प्रधानमन्त्री ओली नै जाने हुनुभएको छ’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने, ‘एलएलडीसी पनि उत्तिकै महत्त्वपूर्ण राष्ट्रसंघीय निकाय हो। फेरि प्रत्येक १० वर्षमा हुने भएकाले यसको सम्मेलनपनि महत्त्वपूर्ण छ। त्यसैले एलएलडीसी थ्रीमा समेत प्रधानमन्त्रीले नै सहभागिता जनाउने योजना बनेको हो।’  

तर प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणमा जाने औपचारिक घोषणा भइसकेको छैन।

‘कुनै राजनीतिक वा प्राकृतिक विपत्ति आइपर्‍यो भने मात्र उहाँ नजानुहोला’, परराष्ट्र मन्त्रालयका ती अधिकारीले भने, ‘अहिले भने प्रधानमन्त्री ओली नै जानेगरी भ्रमणको तयारी भएको छ।’

प्रधानमन्त्रीले नै नेतृत्व गर्ने भएकाले तुर्कमेनिस्तान भ्रमण दलमा परराष्ट्रमन्त्री डा. राणा सहभागी हुने छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad