ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएकोबारे छानबिन गर्न सरकारसँग माग गरेको छ। राजनीतिक नेतृत्वबाटै आपतकालीन अवस्थामा कमिसनखोरहरुसँग साँठगाँठ गरि भ्रष्टाचार गरिएको भन्दै एम्नेस्टिले छानबिन गरी दोषिउपर कारबाही गर्न माग गरेको हो।
‘आज मुलुकले यस राष्ट्रिय विपदासँग लड्न सरकारलाई पूर्णरुपमा साथ र सहयोग दिइरहेको अवस्थामा आपतकालिन संवेदनशीलताको दुरुपयोग गर्दै राजनीतिक नेतृत्व तहकै संलग्नतामा अति आवश्यक स्वास्थ्य सामाग्रीहरूको खरिद प्रकरणमा राष्ट्रघाति कमिसनखोरहरूसँग साँठगाँठ गरी राज्यकोषको चरम अपचलन गर्ने दुष्प्रयासको सञ्चारमाध्यम तथा नागरिक समाजले उजागर गरेका छन्’ ट्रान्सपरेन्सीले भनेको छ।
सार्वजनिक खरिद गर्दा सम्बन्धित कानूनबमोजिम स्वस्थ प्रतिस्पर्धाको आधारमा स्वतन्त्र, निष्पक्ष र पारदर्शी तरिकाले गर्नुपर्नेमा कहिले नीतिगत निर्णयको नाममा त कहिले सरकार–सरकारबीचमा खरिद गर्ने नाममा सरकारले पटक–पटक विचौलिया एवं दलालसँगको मिलोमतोमा राज्यकोषको ठूलो रकम अपचलन गरिरहेको ट्रान्सपरेन्सीले आरोप लगाएको छ।
यस्ता अनियमितताका बारेमा सञ्चारमाध्यम एवं नागरिक तहबाट बराबर सचेत गराइरहँदा पनि सरकारले उनीहरूको आवाजको उपेक्षा गरेको मात्र होइन, उनीहरूलाई सरकार विरोधीको रुपमा चित्रित गर्ने गरिएको विज्ञप्तिमा उल्लेख छ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको ‘जब नागरिकका आवाजहरूको उपेक्षा गरिन्छ, तब मुलुक निरंकुशतातर्फ उन्मुख हुन्छ । निरंकुशताले सुशासनको त धज्जी उडाउँछ नै, लोकतन्त्रको भविष्य पनि धरापमा पार्दछ’ भन्ने रहेको पनि विज्ञप्तिमा प्रष्ट पारिएको छ।
प्रधानमन्त्रीकै भ्रष्टाचार विरोधी प्रतिवद्धतालाई कार्यान्वयन गर्न पनि यस राष्ट्रिय संकटको बेलामा रचिएको स्वास्थ्य सामाग्री खरिद भ्रष्टाचार प्रकरणमा संलग्न राजनीतिक नेतृत्व तहसमेतका सबै पदाधिकारीहरूमाथि आवश्यक अनुसन्धान गरी निर्मम कारबाही गर्न प्रधानमन्त्री एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गरिएको छ।

प्रतिक्रिया