राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीन वटै तहको सरकारको सहकार्यबाट मात्रै दीगो विकास लक्ष्य हासिल हुने बताएका छन्।
अध्यक्ष तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहले संयुक्त राष्ट्र संघले घोषणा गरेको दीगो विकास लक्ष्य हासिल गर्न मिलेर काम गर्ने विश्वास पनि व्यक्त गरे।
आइतबार संघीय संसदको दीगो विकास तथा सुशासन समितिले तयार पारेको दीगो विकास लक्ष्यसम्बन्धी प्रदेश र स्थानीय तहको अन्तरक्रियात्मक प्रतिवेदन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायतका राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अवलोकन भ्रमणको प्रतिवेदन बुझ्दै उनले संघ, प्रदेश र स्थानीय तहको सरकारबीचको सहकार्यमा जोड दिए।
समितिका अध्यक्ष तारोदेवी भट्टले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुझाएको प्रतिवेदनमा दीगो विकास लक्ष्य हासिलका लागि समितिले प्रदेश र स्थानीय तहमा गरेको अन्तरक्रियाको अनुभव समावेश गरिएको छ।
त्यसैगरी अर्को प्रतिवेदनमा भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजना र गोरखाको बारपाकको पुनर्निर्माणको क्रममा देखिएका समस्या र समाधानका उपायबारे सुझावसहितको प्रतिवेदन अध्यक्ष तिमिल्सिनालाई बुझाइएको समितिकी सभापति भट्टले बताइन्। समितिले अध्यक्ष तिमिल्सिनालाई बुझाएको दुवै प्रतिवेदन राष्ट्रियसभामा पेश हुनेछ।

प्रतिक्रिया