पूर्वराजा ज्ञानेन्द्र शाहका सम्वाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार बिहान उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
शाहलाई नेपालको संविधानले नचिनेको ‘श्री ५ महाराज धिराज’ भनि सम्बोधन गर्ने गरेको र संविधानले नचिनेको संवाद सचिवालय भनि सम्बोधन गरिएको विषयमा सोधपुछ गर्न प्रहरीले नियन्त्रणमा लिएको एसपी बोहराले बताए।
यस्तै सोही लेटरप्याडमा सूचना दिने गरिएको विषयमा पनि प्रहरीले सोधपुछ गर्न नियन्त्रणमा लिएको जनाएको छ।
वैशाख १३ गते पनि पाठकले जारी गरेको समवेदना सन्देशमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सेको समवेदना सन्देश भनि उल्लेख थियो।
यस विषयमा नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद्मै आपत्ति जनाएका थिए। कानुनी राज्य र संविधानको उपहास गर्ने संवाद सचिव पाठकलाई कारबाही गर्न सांसद गैरेले माग गरेका थिए।
गैरेले संसद्मा सोधेका थिए, ‘नेपालको संविधानमा श्री ५ महाराजधिराज भन्ने शब्द कहाँ छ? कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन? नपाइने भए संवाद सचिव पाठकलाई र पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गरियोस्।’
Shares

प्रतिक्रिया