राजनीति


योगेशलाई उषाको जवाफ: दुर्गा प्रसाईंदेखि भीम रावलसम्म समीक्षा गरौँ

योगेशलाई उषाको जवाफ: दुर्गा प्रसाईंदेखि भीम रावलसम्म समीक्षा गरौँ

फाइल तस्बिर: एमालेका सचिव योगेश भट्टराई र केन्द्रीय सदस्य उषाकिरण तिम्सिना


नेपालखबर
असार २७, २०८२ शुक्रबार ११:४१, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अब पार्टीको अध्यक्षमा लड्ने चर्चासँगै नेकपा एमालेभित्र कचिंगल सुरु भएको छ।

एमालेकै पूर्वउपाध्यक्ष भण्डारीले राष्ट्रपति पदबाट बिदा भएपछि हालै सार्वजनिक कार्यक्रममार्फत आफू पुरानै पार्टीको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेयता एमाले नेता-कार्यकर्ताबीच सामाजिक सञ्जालमा घोचपेच सुरु भएको हो।

यस क्रममा एमालेका सचिव योगेश भट्टराईले आज बिहान ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने’ काम बन्द गर्न आह्वान गरेका छन्। आपसमा छलफल र सहकार्य गरेर अघि बढ्न उनले एमाले नेता-कार्यकर्तालाई आग्रह गरेका छन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौँ, बसौँ, आपसमा विमर्श गरौँ, सहकार्यमार्फत समाधान खोजौँ, जबजको मर्म पनि यही हो, राष्ट्र, जनता र एमाले, हामी सबै एक ठाँउ उभिने आधार!’

भट्टराईको फेसबुक पोस्ट सेयर गर्दै एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले टिप्पणी गरेकी छन्। 

उनले लेखेकी छन्, ‘विगत ११ वर्ष तपाईंले उल्लेख गरेको कुरा भएको छ, दाइ कमरेड। मान्छेहरू बल्ल पेलिनुको पनि हद हुन्छ भन्दै छन्। तर राजनीति त विधि र विचारमा टेकेरै हिँड्नुपर्छ। फेरि पनि सांगोपांगो हिसाबकिताब केन्द्रीय कमिटीले गरोस्। दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्य बनाउने र एकनाथ ढकाललाई सांसद बनाउने तहसम्म, राजेन्द्र लिङ्देन, कमल थापा, धवल शमशेर, दीपक बोहरासम्मसँग गरेको चुनावी गठबन्धन र भीम रावललाई टिकट नदिने र पार्टी सदस्यतासमेत खोस्ने हर्कत कमिटीका नाममा/संस्थाका नाममा भएका यी सबै ध्वस्तताको विषयमा छलफल र समीक्षा गरौँ। खतराको घण्टी, सच्चिने वा सक्किनेलगायत यक्ष विषय र प्रश्नबाट भाग्न मिल्ने ठाँउ (स्पेस) हामीसँग छैनजस्तो लाग्छ।’

बिहीबार मात्रै पूर्वराष्ट्रपति भण्डारीले आफू अध्यक्ष बन्नकै लागि एमालेको राजनीतिमा फर्किएको बताएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad